काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय लगेको छ । उनलाई लिन ब्युरोको टोली आज बिहान नख्खुस्थित निवास पुगेको थियो ।
साइबर ब्युरोका एक उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि कार्यालय ल्याइएको हो । स्रोतले भन्यो, ‘उहाँविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि ल्याइएको हो ।’
समाचारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का केन्द्रीय सदस्य हिमेश पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध ब्युरोमै निवेदन दिएका छन् । ब्युरो स्रोतका अनुसार दुवै पक्षलाई राखेर छलफल गराउने तयारी छ ।
पन्तले श्रेष्ठले विगत एक वर्षदेखि सामाजिक सञ्जालमा आफूलाई ‘हत्यारा’, ‘बलात्कारी’ र ‘ब्ल्याकमेलिङ’ गर्ने व्यक्ति भन्दै लेख्दै आएको आरोप लगाएका छन् ।
श्रेष्ठलाई यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरले नियन्त्रणमा लिएको थियो । त्यसक्रममा प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्रीसमेत नियन्त्रणमा लिएको थियो ।
बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतबाट मुक्त भएका थिए ।
बालेन नेतृत्वको सरकार बनेपछि यो श्रेष्ठको दोस्रो पटक प्रहरी नियन्त्रणमा परेको घटना भएको उनको भनाइ छ । दुवै पक्षका निवेदनमाथि साइबर ब्युरोले के प्रक्रिया अघि बढाउँछ भन्नेबारे थप विवरण आउन बाँकी छ ।


















प्रतिक्रिया