२ कार्तिक २०८३, सोमबार | October 19, 2026

ओमानमाथि १० रनको रोमाञ्चक जितसँगै नेपाल लिग-२ को छैटौँ स्थानमा



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले अङ्क तालिकाको छैटौँ स्थान पक्का गरेको छ।

सोमबार ओमानको अल अमेरतस्थित क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।

लिग–२ को शीर्ष छमा स्थान सुरक्षित गर्न जित्नैपर्ने दबाबमा रहेको नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिमतिर विकेट गुमाउँदा ठूलो योगफल बनाउन सकेन। यद्यपि, बलिङमा शानदार पुनरागमन गर्दै नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले देव खनाल, रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलमा दुई चौका र दुई छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ६२ बलमा चार छक्का र तीन चौकासहित ६९ रन बनाए भने ओपनर देव खनालले ६५ बलमा चार चौका र एक छक्काको मद्दतमा ५७ रन जोडे।

नेपालले ९९ रनमा तीन विकेट गुमाएपछि रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो अवस्थामा पुर्‍याए पनि त्यसपछि लगातार विकेट गुमाउँदा टोली २८० रनमै समेटियो। अन्त्यतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए।

ओमानका लागि शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट लिए।

२८१ रनको लक्ष्य पछ्याएको ओमानका लागि जतिन्दर सिंह र हम्माद मिर्जाले उत्कृष्ट ब्याटिङ गरे। जतिन्दरले ८९ तथा मिर्जाले ८७ रन बनाए। ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए।

१९० रनमा दोस्रो विकेट गुमाएको ओमानले त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउन थाल्यो। २०३ रनमा तेस्रो विकेट गुमाएको ओमान २०६ रनमा चौथो विकेट गुमाउँदै दबाबमा परेको थियो। कप्तान विनायक शुक्ला आउट हुँदा ओमानको स्कोर २२४ रन पुगेको थियो। त्यसपछि सन्जु सजिव रनआउट भएपछि ओमान २३२ रनमा छ विकेट गुमाएको अवस्थामा पुग्यो।

अन्तिमतिर हसनैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानको जितको सम्भावना जीवित राखेका थिए। उनले २३ बलमा अविजित ४० रन बनाए। तर, नेपालको अनुशासित बलिङका अगाडि ओमान लक्ष्यसम्म पुग्न सकेन।

अन्तिम ओभरमा ओमानलाई जितका लागि २३ रन आवश्यक थियो। बलिङको जिम्मेवारी पाएका दीपेन्द्रसिंह ऐरीले पहिलो बलमा दुई रन दिए। त्यसपछि लगातार दुई चौका प्रहार भए पनि दीपेन्द्रले दबाबमा संयमित बलिङ गर्दै बाँकी बलमा ओमानलाई आवश्यक रन बनाउन दिएनन्। अन्तिम दुई बलमा ओमानले थप रन जोड्न नसकेपछि नेपालले १० रनको रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान दुई विकेट लिए। कप्तान सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट लिए।

यस जितसँगै नेपालले लिग–२ को ३६ खेलबाट ३० अङ्क जोड्दै छैटौँ स्थान हासिल गरेको छ। नेपालले प्रतियोगितामा १४ खेल जितेको छ, २० खेलमा पराजित भएको छ भने दुई खेलमा अङ्क बाँडेको छ।

यसअघि शृङ्खलाको सुरुवाती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गरेको थियो। तर, शनिबार क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष छमा पर्ने सम्भावना दबाबमा परेको थियो। नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अङ्कसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलबाट २८ अङ्क जोडेको नेपाल सातौँ स्थानमा झरेको थियो।

ओमानविरुद्धको जितसँगै नेपालले पुनः छैटौँ स्थानमा उक्लिएर लिग–२ अभियान टुङ्ग्याएको छ। विश्वकप लिग–२ को शीर्ष छमा पर्ने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालको यो जितलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ५७ बजे

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

न्धुपाल्चोक । कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान

काठमाडौं । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा

महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, मङ्गलबार बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको