काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झासहित जुनियर टेक्निकल असिस्टेन्ट विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा, चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् । यस्तै धुलो दूध कारखाना हेटौँडामा कार्यरत जीतेन्द्रकुमार यादव, नवलपुल चिस्यान केन्द्रका नवीनराय यादव, माडी चिस्यान केन्द्रका शिवनन्दन राय र माडी चिस्यान केन्द्रका प्रमुख वीखबहादुर भण्डारी समेत पक्राउ परेका छन् ।
व्यूरोका सह प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार पूर्वयोजना र आपसी मिलेमतोमा विभिन्न समूह खडा गरी सङ्गठित सञ्जालका रूपमा संस्थानलाई प्रत्यक्ष आर्थिक हानी पुर्याएको र रु १२ करोड १३ लाख ४३ हजार बराबरको गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउ परेका सबै जनासँग आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सहप्रवक्ता खड्काले बताए ।
















प्रतिक्रिया