१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

अन्तिम बलमा रसेलको कमाल, विराटनगरसँग २ रनले जनकपुर स्तब्ध



काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। अन्तिम बलसम्म रोमाञ्चक बनेको खेलमा रसेलले ब्याटिङमा अर्धशतक र बलिङमा चार विकेट लिँदै विराटनगरलाई लगातार दोस्रो जित दिलाएका हुन्।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। बलिङमा आएका रसेलले पहिलो बलमा सैफ हसनलाई एक रन दिए। दोस्रो बलमा जनकपुरका कप्तान हरमित सिंहलाई क्याच आउट गराए। तेस्रो बलमा अभिषेक तिवारीले चौका प्रहार गरे भने चौथो बलमा एक रन आयो।

अन्तिम दुई बलमा जनकपुरलाई जितका लागि सात रन आवश्यक थियो। पाँचौँ बलमा सैफ हसनले चौका प्रहार गरेपछि खेल थप रोमाञ्चक बन्यो। अन्तिम बलमा जितका लागि तीन रन चाहिएको अवस्थामा रसेलले हसनलाई बासिर अहमदबाट क्याच आउट गराए। त्यससँगै विराटनगरले दुई रनको रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

जनकपुरका लागि बंगलादेशी ब्याटर सैफ हसनले उत्कृष्ट प्रदर्शन गर्दै ४८ बलमा दुई चौका र पाँच छक्कासहित सर्वाधिक ७१ रन बनाए। तर उनको संघर्षपूर्ण इनिङ्सले टोलीलाई जिताउन सकेन। अन्तिम बलमा आउट भएपछि हसन मैदानमै केही समय स्तब्ध बने।

जनकपुरका विशाल शुस्लिङले ३० बलमा दुई चौका र तीन छक्कासहित ४३ रन बनाए। जेम्स निशमले १५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा २७ रन जोडे। अभिषेक तिवारी पाँच रनमा अविजित रहे।

जनकपुरको सुरुवात भने कमजोर थियो। ३० रन जोड्दा उसले तीन विकेट गुमाइसकेको थियो। त्यसपछि सैफ हसन र विशाल शुस्लिङले चौथो विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए।

विशाल आउट भएपछि निशमले हसनलाई साथ दिए। यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे। तर १९औँ ओभरमा निशम आउट भएपछि खेलको अवस्था फेरियो। त्यसपछि हरमित सिंह पनि रसेलकै बलमा आउट भए। अन्तिम बलमा हसनको विकेट लिएपछि विराटनगरको जित निश्चित भयो।

बलिङमा विराटनगरका रसेलले चार ओभरमा ४५ रन खर्चेर चार विकेट लिए। एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट लिए।

तीन अर्धशतकमा विराटनगरको १७४ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो। विराटनगरका तीन ब्याटर लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतक प्रहार गरे।

लोकेश बमले ४० बलमा तीन चौका र तीन छक्कासहित ५० रन बनाए। इमरान शेखले ४५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ५६ रन जोडे। रसेलले आक्रामक ब्याटिङ गर्दै २९ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५२ रन बनाए। शुभम रञ्जने सात रनमा अविजित रहे।

विराटनगरले पहिलो ओभरमै शेन जयसूर्यालाई गुमाएको थियो। उनी एक रन बनाएर मोइन अलीको बलमा आउट भए। त्यसपछि इमरान र लोकेशले दोस्रो विकेटका लागि १०७ रनको शतकीय साझेदारी गर्दै विराटनगरको इनिङ्स सम्हाले।

१३औँ ओभरमा इमरान आउट भए पनि लोकेश र रसेलले रन गति कायम राखे। लोकेश ५० रन बनाएर १८औँ ओभरमा आउट भए। त्यसपछि रसेलले आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए। रसेल र शुभम रञ्जनेले चौथो विकेटका लागि अविजित साझेदारी गरे।

जनकपुरका लागि अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।

यस खेलमा एनपीएल इतिहासमा पहिलोपटक एउटै टोलीका दुई नेपाली ब्याटरले एकै खेलमा अर्धशतक बनाएको उपलब्धि पनि विराटनगरले हासिल गरेको छ। लोकेश बम र इमरान शेखले अर्धशतक पूरा गरेका हुन्।

ब्याटिङ र बलिङ दुवैमा निर्णायक प्रदर्शन गरेका रसेल प्लेयर अफ द म्याच घोषित भए।

यस जितसँगै विराटनगरले प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजय बेहोरेपछि लगातार दोस्रो जित निकालेको छ। चार खेलबाट विराटनगरको चार अंक भएको छ। जनकपुरले पनि चार खेलबाट चार अंक जोडेको छ। दुवै टोलीको समान जित र अंक रहेको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ४ : ३३ बजे

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ मा जेलमुक्त हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल

अन्तिम बलमा रसेलको कमाल, विराटनगरसँग २ रनले जनकपुर स्तब्ध

काठमाडौं । आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनपछि विराटनगर किंग्सले नेपाल प्रिमियर

६.६२ अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो

हेलिकप्टर दुर्घटनाको छानबिन सुरु भइसकेको छ : क्यान

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सोलुखुम्बुको फेरिचेमा आज