१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

‘कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्। आफ्नो नैतिकता र इमानदारीमाथि प्रश्न उठाउने प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद गरेका हुन्।

बिहीबार भिडियो सन्देश जारी गर्दै थापाले कांग्रेसको आधिकारिकताको लडाइँमा करोडौँ रुपैयाँको लेनदेन भएको भन्ने चर्चालाई अस्वीकार गरे।

‘करोडको कुरा गर्छन्। नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम गरेको छैन,’ उनले भने।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा आफ्नो नाम जोडिएको विषयप्रति प्रतिक्रिया दिँदै थापाले आफू कुनै पनि गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको दाबी गरे। उक्त अडियो कहाँ, कसले, कहिले र किन बोलेको वा बोलाइएको हो भन्ने विषय अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

‘अडियो कहाँ, कसले, कहिले र किन बोल्यो वा बोलाइयो, त्यो अनुसन्धानको विषय हो। अनुसन्धान निष्पक्ष हुनुपर्छ, दूधको दूध पानीको पानी छुटिन्छ,’ उनले भने।

थापाले नेपाली कांग्रेस सबै प्रकारका निष्पक्ष छानबिनका लागि तयार रहेको पनि बताए। यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालयबाटै यस विषयमा स्पष्ट पारिसकेको उनको भनाइ थियो।

आफ्नो नैतिक धरातल बलियो रहेको उल्लेख गर्दै थापाले आफूले विगतदेखि नै सत्तामा रहेका शक्तिशाली व्यक्तिहरूका गलत कामविरुद्ध आवाज उठाउँदै आएको बताए। आफ्नै पार्टीको सरकार हुँदा पनि गलत कामको विरोध गर्न नछाडेको उनको भनाइ छ।

‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सधैँ सफा छन्,’ उनले भने।

आफ्नो चरित्रमाथि प्रश्न उठाउने र विभिन्न विवादमा तान्ने प्रयास भइरहेको भन्दै थापाले सरकारबाट प्रायोजित अडियो सार्वजनिक गरिएको दाबीसमेत गरे। यद्यपि, अडियो प्रकरणको वास्तविकता निष्पक्ष अनुसन्धानबाटै खुल्नुपर्ने उनले बताएका छन्।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्न गएको भन्ने चर्चाको पनि उनले खण्डन गरे। ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ उनले भने।

थापाले जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र भएको विशेष महाधिवेशनलाई पार्टीका भुइँ तहका कार्यकर्ताको विद्रोह र आन्तरिक रूपान्तरणको प्रयासका रूपमा व्याख्या गरे। कार्यकर्ताको असन्तुष्टि र परिवर्तनको चाहनाबाट विशेष महाधिवेशन भएको उनको भनाइ थियो।

पार्टीको आधिकारिकतासम्बन्धी विवादलाई राजनीतिक र कानुनी प्रक्रियाबाट अघि बढाइएको उल्लेख गर्दै उनले यसमा कुनै आर्थिक चलखेल नभएको दोहोर्‍याए।

अन्त्यमा थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई विभिन्न आरोप र प्रचारबाट विचलित नहुन आग्रह गर्दै आफू स्वच्छ र सही ठाउँमा उभिएको विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ४ : ४९ बजे

शीतलहर र हिमपातको प्रतिकार्यका लागि सरकारको पूर्वतयारी

काठमाडौँ । सरकारले यस वर्षको शीतलहर र हिमपातबाट हुनसक्ने जनधनको

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा

एजेन्सी । पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट

काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो, विराटनगर पहिले ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत बिहीबारको दोस्रो

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार

बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स