२ मंसिर २०८३, बुधबार | November 18, 2026

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार



बाँके । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज भएको छ । सडक सञ्जाल विस्तार भएपछि राप्ती सोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रका बासिन्दालाई सदरमुकाम नेपालगञ्ज आउजाउ गर्न सहज भएको छ ।

हुलाकी सडकले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडासम्मका क्षेत्रलाई नेपालगञ्जसँग सिधा जोडेको छ । विगतमा दुर्गम मानिने नरैनापुरबाट अहिले आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले बताए ।

“पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपथ्र्यो, अहिले आधा घण्टामै पुगिन्छ,” उनले भने, “हुलाकी सडक नरैनापुरवासीका लागि जीवनरेखा बनेको छ ।”

उनका अनुसार बाँकेमा राप्ती सोनारीको फत्तेपुरस्थित कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलोमिटर, नेपालगञ्ज-गुलरिया सडकखण्डको २८ किलोमिटर र नेपालगञ्जको पुष्पलाल चोकदेखि पूर्वतर्फ १० किलोमिटर हुलाकी सडक निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज भएको हो ।

हुलाकी सडक निर्माणसँगै राप्ती नदीपारिका बैजापुर, बिनौना र फत्तेपुर क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि बढेको राप्ती सोनारी गाउँपालिका-३ का वडाध्यक्ष मीनकुमार चौधरीले बताए । “हुलाकी सडक बनेपछि सोनारी क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाएका छन् । व्यावसायिक कारोबार बढेको छ,” उनले भने, “मानिसको आवागमन र चहलपहल बढेसँगै घरेलु तथा साना उद्योग र व्यवसाय पनि फस्टाउँदै गएका छन् ।”

सडक निर्माणपछि राप्तीपारिका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक पर्यटकको आवागमन पनि बढेको उनले बताए । बैजापुरस्थित प्रसिद्ध भुवरभवानी मन्दिर, बाबा बर्फानी तथा बिनौनास्थित धुमैया उद्यान र नवनिर्मित राप्ती पुलमा घुम्न जानेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

हुलाकी सडकसहितका पूर्वाधार विकासले सोनारी क्षेत्रका बासिन्दाको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक प्रभाव पारेको राप्ती सोनारी-५ बिनौनास्थित भुवरभवानी माध्यमिक विद्यालयका प्राचार्य चेतबहादुर बिष्टले बताए ।

नेपालगञ्ज-बघौडा हुलाकी सडकसँगै राप्ती सोनारी गाउँपालिका-६ को कुण्डादेखि नारायणपुर हुँदै अगैयामा पूर्व-पश्चिम राजमार्ग जोड्ने सडक विस्तार भएपछि साना तथा ठूला सवारी साधनको आवागमन बढेको उनले बताए । नेपालगञ्जबाट कोहलपुर हुँदै अगैया पुग्ने मुख्य राजमार्गको तुलनामा यो सडक छोटो पर्ने भएकाले सवारी साधनले उक्त मार्ग प्रयोग गर्न थालेका हुन् ।

हुलाकी सडकसहितका पूर्वाधार निर्माणले राप्ती सोनारी क्षेत्रमा व्यावसायिक गतिविधि बढाएको स्थानीय अगुवा जमानसिंह वलीले बताए । सडकले बाँकेका बासिन्दालाई विकासको अनुभूति गराएको उनको भनाइ छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : ५६ बजे

Your email address will not be published.

एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्‌घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज इलिमिनेटरमा काठमाडौं

हुलाकी सडकले फेरिँदै दुर्गम गाउँको मुहार

बाँके । हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज

सन् २०२७ देखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

अन्ताल्या । नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली क्षेत्रमा बदली र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ