७ पुस २०८२, सोमबार | December 23, 2025

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी



महोत्तरी । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आँगनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् ।

तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइन”, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र मखमली फूल देखाउँँदै जिल्लाको बर्दिबास नगरपालिका-२ की गृहिणी बृन्दा अधिकारीले भनिन् , “फूल खोज्न आउनेले त बैना भनेर एकहजार पो दिएर गयो ।” बृन्दाको आङ्गन डिलमा सयपत्री र मखमलीसहित ५० बोटमध्ये ३० बोटको तीन हजार मोल दिने भनेर बैना समातेको उनको भनाइ छ ।

यसरी घर वरिपरि सजावटका लागि रोपिएका फूलबाटै थैली भरिन लागेपछि यहाँका सर्वसाधारण गृहिणी व्यवसायिक रुपमै फूल खेती गर्ने टुङ्गोमा पुगेका छन् । यो वर्ष तिहार सुरु हुनपूर्व नै आफ्नो घर करेसामा फुलेको फूल किन्न ग्राहक र व्यापारीको घुइँचो लागेपछि अब चाँहि फूल खेती व्यावसायिक रुपमै गर्ने गृहिणीको रहर जागेको हो । तिहारका बेला सोच्दै नसोचेको आम्दानी घरघरै आएका ब्यापारीले दिएपछि सर्वसाधारण गृहिणी अहिले दङ्ग छन् ।

“तिहारमा फुल्नेगरि जति खेती गरेपनि हुने रे’छ”, बर्दिबास-५ की गृहिणी फूलमायाँ ब्लोनले भनिन्, “यो आँगनको डिलमा ४०/५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले रु चार हजार दिन्छु भनेर बैना दिएर गा’छन् ।” आयआर्जनका लागि नभइ शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब चाँहि तिहार लक्षित फूलखेती गर्ने टुङ्गोमा पुगेको फूलमाँयाको भनाइ छ ।

घर करेसा वरिपरि शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरीसहितका फूलले घरै बसीबसी रु दुई/चार हजार आम्दानी बनाइ दिएको घरायसी काममै ब्यस्त रहने गृहिणी महिलाले बताएका छन् । तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ३०/३५ जति बोटका सयपत्री फूलको रु तीन हजार दिन्छु भनेका जिल्लाकै भङ्गाहा-४ की गृहिणी दीपमायाँ श्रेष्ठले बताइन् । करेसाकै फूलका बोटबाट दीपमायाँले रु तीन हजार पाउने देखेपछि छिमेकका अरु गृहिणीले पनि अब व्यवसायिक रुपमै फूल खेती गर्ने निर्णय गरेका छन् ।

अहिले फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ/नगर बस्तीमा लर्को नै लागेको छ । तिहारले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन लिनेगरि फूल खेती गर्न आफ्नो बस्तीका कतिपय गृहिणी अग्रसर देखिएका भङ्गाहा-६ हतिसर्वाकी राजवती थारुले बताइन् ।

जिल्लामा फूलको व्यवसायिक खेती निकै विस्तार नभएपनि अब यसको सम्भावना बढेको कृषि बिज्ञ बताउँछन् । तिहार र छठजस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एंव पूजाअर्चनालाई लक्षित गरी यसको व्यवसायिक खेती सुरु गरिए जिल्लामा आयआर्जनको थप बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादव बताए । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे उपलब्ध गराइने केन्द्रले जनाएको छ ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा भएपनि विगत केही वर्षयता व्यवसायिक रुपमै फूल खेती गर्दै आएका छन् । बनौटा र पडौलका किसानले आफ्नो उत्पादन व्यापारीले फूलबारीबाटै लाने गरेका बताएका छन् ।

यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकाले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल राजधानी काठमाडौंसहित विभिन्न शहरमा पुग्ने गरेको किसान र कृषि बिज्ञले बताएका छन् ।

तराईमा विवाहमा दुलहा चढ्ने गाडी सजाउन फूलका मालामा निकै खर्च गर्ने चलन बाक्लिएको छ । जिल्लाकै फूल व्यापारीहरु भन्छन्, “विवाहका लगन बाक्लिएसँगै फूलको माग बढ्छ, त्यस्तो बेला वरिपरि नै फूल पु¥याउन धौ-धौ पर्छ, अरु बेला राजधानीतिर पठाइन्छ ।” विशेषगरी तिहारलगायतका पर्वमा फूल खोज्नेहरुले मोलमोलाई नगरिकनै राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूल खेती गर्न आफ्नो बस्ती/टोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएको भङ्गाहा-६ हतिसर्वाकी राजवती थारुको भनाइ छ ।

पछिल्लो पटक फूलको खेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ४८ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत