८ बैशाख २०८१, शनिबार | April 20, 2024

दानाको कच्चा पदार्थमा विदेशीको भर पर्दा लागत महँगो, एकवर्षमै ३२ अर्बको आयात



चितवन । दानाको कच्चा पदार्थमा विदेशको भरपर्दा कुखुराजन्य उत्पादनको लागत मूल्य बढी पर्ने गरेको छ । दानाको कच्चा पदार्थ आयात गर्दा नै वार्षिक ३२ अर्बभन्दा बढी विदेसिने गरेको हो ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रविन पुरी नेपालमा उत्पादन हुन सक्ने कच्चा पदार्थ पनि भारत र तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

दानामा ७० प्रतिशत प्रयोग हुने मकै र भटमासको पिना नेपालमा नै उत्पादन गर्न सकिन्छ । मकै ३५ प्रतिशत स्वदेशी उत्पादनले धानेको भए पनि भटमासको पिना पूर्णरुपमा विदेशमा निर्भर हुनु परेको उनले जानकारी दिए । पुरीले भने, “गत वर्ष मात्रै दानाको कच्चा पदार्थमा हामीले ३२ अर्ब विदेश पठायौँ । यो वर्ष मूल्य बढेकाले अरु बढ्छ ।”

गत वर्षबाट सरकारले कृषि सुधार शुल्क बढाएपछि दानाको लागत मूल्य अरु थपिएको छ । मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको छ । आर्थिक वर्ष २०७३/७४ सम्म यो शुल्क १.६ प्रतिशत मात्रै थियो । पुरीका अनुसार नेपालमा कच्चा पदार्थको उत्पादन नभएसम्म कृषि सुधार शुल्क लिनु हुँदैन ।

अनमोल फिड्स प्रालिका प्रबन्ध निर्देशकसमेत रहेका सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेल मकै र भटमासको उत्पादनलाई नेपालमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने बताउँछन् । यसले कृषकको आयस्तर उकास्ने र कुखुराजन्य उत्पादनको लागत घट्ने उहाँको तर्क छ । कँडेल भन्छन्, “उत्पादन बढाएर सरकारले मकै र भटमासको दर तोकिदियोस् हामी सबै खरीद गर्न तयार छौँ । ” कृषि सुधार शुल्क शून्य बनाउनुपर्ने भन्दै कँडेलले सरकारले आत्मनिर्भर कुखुराजन्य व्यवसाय जोगाउनुपर्ने बताए ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल दानाको लागत मूल्य बढ्दा नेपालमा मासु, अण्डा र चल्लाको मूल्य पनि बढी भएको बताउँछन् । दानाको मूल्य घटाउन सके उपभोक्तालाई सस्तो मूल्यमा मासु र अण्डा उपलब्ध गराउन सकिने पोखरेलको भनाइ छ ।

स्काइलार्क दाना कम्पनीका सञ्चालकसमेत रहेका पोखरेल कच्चा पदार्थ र तयारी दानाको भन्सार दर एउटै हुँदा नेपाली उद्योग मारमा परेको बताउँछन् । उनी भन्छन्, “मकै, भटमासजस्ता कच्चा पदार्थ नेपालमा उत्पादन गर्न सकिन्छ तर त्यसो नगर्दा कुखुराजन्य पदार्थको लागत मूल्य बढ्यो र धेरै पैसा विदेसिएको छ ।” उनको कम्पनीले मात्रै वार्षिक एक अर्ब कच्चा पदार्थ खरीदका लागि विदेश पठाउने गरेको छ ।

नेपालमै उत्पादन हुने मकैको भण्डारण उपयुक्त नहुँदा र सीपको अभावमा ढुसी लागेर प्रयोग गर्न अप्ठ्यारो भएको भन्दै उनले सरकारले कृषकलाई भण्डारण प्रविधि उपलब्ध गराउनुपर्ने बताए ।

दाना उद्योग सङ्घ चितवनका अध्यक्ष बालचन्द्र खनाल दानाको लागत मूल्य घटाउन सरकारको सहयोग आवश्यक रहेको बताउँछन् । खनाल भन्छन्, “नेपालमा जमीन बाँझो छ, मानिस बेरोजगार छन्, कृषि उत्पादन विदेशबाट ल्याउनु पर्ने बाध्यता छ ।” यहाँको उत्पादन लागत बढेको कारण भारतबाट चोरी पैठारी गरी कुखुराजन्य पदार्थ आउने गरेको उनले बताए ।

किसान दाना उद्योगका प्रबन्ध निर्देशक विनोद पोखरेल आफूले मात्रै कच्चा पदार्थमा एक वर्षमा ७० करोडभन्दा बढी रकम विदेश पठाउने गरेको भन्दै नेपालमै कच्चा पदार्थ उत्पादनमा जोड दिन्छन् । सङ्घका चितवन जिल्ला उपाध्यक्षसमेत रहेका पोखरेल दाना उद्योगमा आवश्यक औजारमा लाग्ने गरेको भन्सारमा सरकारले एक प्रतिशत मात्रै लिनुपर्ने बताउँछन् । उनी भन्छन्, “सरकारले कुखुराजन्य उत्पादनको खपत बढाउन प्रचारप्रसारमा सहयोग गर्नुपर्ने र विदेशबाट आउने कुखुराजन्य पदार्थ रोक्नु पर्छ ।”

नेपालमा हाल करीब ११८ वटा दाना उद्योग रहेका छन् र तीमध्ये ६० वटा हाराहारी पेलेट दाना उद्योग छन् । पेलेटका दुई भारतीय र दुई चिनियाँ लगानीका उद्योगसमेत रहेका छन् । दाना उद्योगमा मात्रै रु ४० अर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ ।

नेपालमा पहिलो पेलेट दाना उद्योग निम्बस समूह हो । प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले सन् २००४ बाट यो उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगका कार्यकारी निर्देशक डा दिनेश गौतम सरकार र निजी क्षेत्र मिलेर दानाको कच्चा पदार्थ उत्पादनमा जुट्नु पर्ने बताउँछन् ।

नेपाल अण्डा उत्पादक सङ्घका पूर्वकेन्द्रीय सचिव मदन पोखरेलले दाना सस्तो भएमा अण्डा र मासु सस्तो मूल्यमा दिन सकिने बताए । उनले भने, “हेर्दा सामान्यजस्तो देखिए पनि हाम्रो धेरै पैसा विदेसिएको छ । समयमै सरकारले सरकारले सोच्नुपर्छ ।”

दानामा प्रयोग हुने भटमासको पिना, अमेरिका, ब्राजिललगायतका देशबाट ल्याइन्छ भने मकै मुख्यरुपमा भारत र अन्य देशबाट समेत आउने गरेको छ । दानामा मकै, भटमासका अतिरिक्त गोटी ढुटो, तोरीको पिना, क्याल्सियम र औषधि प्रयोग हुने गर्दछ । ती वस्तु पनि विदेशबाटै आयात हुने गर्दछ । -रासस

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ४५ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन