१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

कालीगण्डकी “ऊर्जा नदीमा” रुपान्तरित, दाना–खुर्कोट प्रशारण लाइन बन्यो थप सहयोगी



म्याग्दी । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशन निर्माण सम्पन्न भएको छ ।

सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भएका सबस्टेशन र प्रशारण लाइन विद्युत् जोड्नका लागि तयार भएको जानकारी दिए । “सब स्टेशन चार्ज र प्रशारण लाइनको परीक्षण गरेर सकिएको छ,” उन भने“सिभिल र सामाजिक उत्तरदायित्व अन्तर्गतका केही आयोजना बाहेकको निर्माण सकिएको छ । विद्युत् जोड्न तयार भएको छ ।”

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मेमा दाना–खुर्कोट प्रशारण लाइन आयोजना निर्माण शुरुआत गरेको थियो । सब स्टेशनसहित ३९।६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रशारण लाइन र निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले दुई अर्ब ९० करोडमा ठेक्का लिएको थियो । करीब ११० वटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिए । “यो सब स्टेशनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ,” उनले भने, “ट्रान्सफर्मर चार्ज सफल भएपछि घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् सव स्टेशनमा जडान भइसकेको छ ।”

स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले मोदी–चुवा हँुँ १३२ केभी क्षमताको लाइन ल्याएर खुर्कोट र दाना सब स्टेशन चार्ज गरिएको थियो । दाना सब स्टेशन अन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दीखोला र १३।४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत् आयोजना चालू छन् । जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, जग्गाधनीसँगको विवाद, बाढी र पहिरोका कारण लक्ष्यभन्दा दुई वर्ष ढिला गरी आयोजना निर्माण सकिएको हो । सन् २०१८ को नोभेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा जग्गाधनीसँगको विवादका कारण करीब तीन वर्षसम्म त्यहाँ प्रशारण लाइनको टावर निर्माण हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनप्रतिनिधिको रोहबरमा लामो प्रयासपछि पोखरेबगरका जग्गाधनीसँग सहमति कायम गरेर आयोजनालाई पूर्णता दिइएको जानकारी दिए । दाना र खुर्कोटमा चार÷चार वटा पल्टमा स्वीचयार्ड बनाइएको छ । पावर प्लान्ट र प्रशासनिक भवनको रङगरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथि गृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । करीब १५६ रोपनी क्षेत्रफलमा फैलिएको सव स्टेशनको वरपर पक्की पर्खाल लगाएर घेराउ गरिएको छ ।

खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सब स्टेशन जोड्ने छ किलोमिटर लामो प्रशारण लाइनको परीक्षण सफल भइसकेको छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सव स्टेशन र प्रशारण लाइन निर्माण भएको हो ।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार खुर्कोटदेखि बर्दघाटतर्फ पनि प्रशारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा विद्युत् विकासमा महत्वपूर्ण सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए।

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी “ऊर्जा नदीमा” रुपान्तरण हुदैछ । प्रस्तावित जलविद्युत् आयोजना निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँचवटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको हो । जलविद्युत् आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी बताउँछन् ।

“घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा तीन सय मेगावाट भन्दा बढी क्षमत्ताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन्” उनले भने, “म्याग्दीको विकास र सम्वृद्धिका लागि यो खुशीको विषय हो ।” चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । कालीगण्डकी गर्जको विद्युतगृहबाट निस्किएको पानी करीब ५०० मिटरभित्रै हाईड्रो सपोर्ट प्रालीले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ ।

अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र –६ पोखरेबगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत्गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाईड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । “प्रशारण लाइन, सव स्टेशन र सडक सुविधा भएकाले कालीगण्डकी र आसपासका क्षेत्रमा जलविद्युत् आयोजना निर्माणमा प्रवद्र्धकहरुको आकर्षण बढ्न थालेको छ” तिप्ल्याङ कालीगण्डकी आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले भने, “सरकारले पूर्वाधार तयार पार्न थालेपछि लगानीकर्ता सक्रिय बनेका छन् ।”

ट्रेड लिङ्क ग्लोबल प्रालिले रघुगङ्गा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमाना बेगखोलामा बाँध र रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । घुमाउने तालभन्दा केही तल रघुगङ्गा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाको सर्वेक्षण भइरहेको छ ।

दाना सब स्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । आयोजनाको परामर्शदाता इञ्जिनीयर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहमा एकै साथ परीक्षण भइरहेको जानकारी दिए ।

‘‘बाँध र क्यानल (पानी थिग्राउने पोखरी) को यसअघि नै परीक्षण सफल भइसकेको छ,’’ उनले भन्नुभयो,‘‘परीक्षणका लागि सुरुङ र पेनस्टक पाइपमा हालिएको छ ।’’ विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण भइरहेको छ । आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले करीब दश दिनभित्र संरचना र उपकरणको परीक्षण सकेर विद्युत् उत्पादन शुरु गर्ने कार्यतालिका बनाएको बताए । सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७०।५ मिटर सुरुङ र २५० मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेँशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराई भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । बेँशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सव स्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । एघार वटामध्ये गत वर्षामा आएको बाढीले एक वटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण सकिएको छ । मिस्ट्रिखोलाको अनुमानित लागत रु पाँच अर्ब ६४ करोड हो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन १०९ मेगावाट क्षमताको निलगिरि १ र २ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरिखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरिखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरिखोला–२ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सब स्टेशन जोड्ने प्रशारण लाइन निर्माण हुन लागेको हो । करीब २२० केभी क्षमताको ७।४ किलोमिटर दूरीको प्रशारणलाइन निर्माण गर्न १२ करोड ७८ लाख ९२ हजार ७२३ लागत अनुमान गरिएको परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शङ्कर बस्यालले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  ३ : २६ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका