काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ।
आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनका विभिन्न कार्यक्रम सञ्चालन गर्न खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप बुक गरिएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीका अनुसार महाधिवेशन आयोजक समितिको नाममा तीनवटै स्थान बुक गरिएको हो।
कार्कीका अनुसार महाधिवेशनको उद्घाटन तथा समापन समारोह खुलामञ्चमा हुनेछ। त्यस्तै, महाधिवेशन प्रतिनिधिहरूको बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदानसमेत खुलामञ्चमै गर्ने तयारी गरिएको छ।
पदाधिकारी चयनका लागि भने राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था गरिनेछ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानपानको व्यवस्थापनका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिने सदस्यसचिव कार्कीले जानकारी दिए।
देउवा समूहको दाबीअनुसार महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। त्यसैलाई लक्षित गरी कार्यक्रमस्थल तथा व्यवस्थापनको तयारी अघि बढाइएको हो।
यस समूहले गत असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको थियो। निर्धारित कार्यतालिकाअनुसार आगामी कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी छ।
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित देउवा समूहले निर्वाचन तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिएको जनाएको छ।
















प्रतिक्रिया