२१ मंसिर २०८२, आइतबार | December 8, 2025

सर्वोच्चको फैसला अघि एमाले विवाद टुङ्गिने नेताहरुको विश्वास



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतवार सो पक्षका बहस टुङ्गिनेछ ।

रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी सरकार पक्षका कानुन व्यवसायीको बहस शुरु हुनेछ । सम्भवतः यो महिनाको अन्तिमसम्म सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथिको बहस टुङ्ग्याएर आफ्नो फैसला सुनाउनेछ । तबसम्म एमाले भित्रको दोस्रो पुस्ताका नेताहरु आन्तरिक विवाद सल्टाइसक्ने लक्ष्यसाथ काम गरिरहेका छन् ।

एमालेभित्र मूलतः २०७५ जेठ २ मा फर्केर पार्टी गतिविधि सञ्चालन गर्ने, सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने माग दावीमा पेश गरिएको एमाले नेताहरुको हस्ताक्षर फिर्ता गर्ने र माओवादी केन्द्र परित्याग गरी एमालेमा फर्केका नेताहरुको उचित व्यवस्थापनको मुद्दामाथि केन्द्रित भएर छलफल भइरहेको नेताहरुको भनाइ छ । यी तीन विषयको सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल जारी छ । तर सहमतिको बिन्दुमा पुग्ने विकल्प अझै फेला नपरेको नेताहरुको बुझाइ छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २३ जेठमा गरेको पार्टी एकताको ६ बुँदे विकल्प सहितको आव्हान र नेता माधवकुमार नेपालले जेठ २४ मा फर्काएको भएको ६ बुँदे जवाफमा केन्द्रित भएर दोस्रो पुस्ताका नेताहरुबीच नियमित छलफल भइरहेको छ । नेता नेपालले माग गरेअनुरुप अध्यक्ष ओलीले जेठ २ मा फर्केर पार्टी गतिविधि अगाडि बढाउने सहमति जनाइसक्नुभएको छ । तर नेता नेपालले पछिल्लो समय प्रधानमन्त्रीले कुनै एक पद (पार्टी अध्यक्ष वा प्रधानमन्त्री) बाट राजिनामा दिनुपर्ने, प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार्नुपर्ने नयाँ शर्त अगाडि सारेका छन् ।

अध्यक्ष ओलीले आफू जेठ २ मा फर्किन तयार रहेको तर नेता नेपाल पक्षका नेताहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेका थिए । हस्ताक्षर फिर्ता लिनमा नेता नेपाल पक्षका नेताहरु अझै सहमत नभएकाले सहमतिको बिन्दु पहिल्याउने क्रम जारी रहेको नेताहरुले बताउँदै आएका छन् । सर्वोच्चको फैसला आउन अझै केही साता लाग्ने भएपछि त्यसअघि नै विमतिलाई सहमतिको रुप दिने प्रयास दोस्रो पुस्ताका नेताहरुले गरिरहेका छन् ।

आन्तरिक विवाद मिलाउन संयोजनकारी भूमिकामा सक्रिय स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको प्रयास सकारात्मक ढङ्गले भइरहेकाले सर्वोच्चको फैसलाअघि नै केही न केही निचोडमा पुगिने विश्वास व्यक्त गरे । “पार्टीभित्र आन्तरिक समस्या आएपछि त्यसलाई सल्टाउने विभिन्न मोडलमाथि छलफल भइरहेको छ, चाँडै हामी निस्कर्षमा पुग्छौं भन्ने विश्वास छ” उनले भने । शुक्रवार दुवै पक्षका नेताहरुबीच लामो छलफल भएको जानकारी दिनुहुँदै नेता नेम्वाङले आइतवार पनि बैठक जारी रहने बताए ।

आन्तरिक एकता कायम हुन नसक्दा एमालेका एक खेमा विपक्षी गठबन्धनमा पुगेको छ । आफ्नै पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकार ढालेर काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने कसरतमा लाग्नु भएका नेता नेपाल पक्षको खेमा पार्टी पङ्तिको गुनासोको निसाना बनेको छ । सरकार र पार्टी अध्यक्षको कार्यशैलीप्रति जति नै गुनासा भएपनि आन्तरिक रुपमै सल्टाउन सकिने उपाय रहँदारहँदै विपक्षी नेतालाई बोकेर हिँड्नु पार्टीप्रति गद्दारी भएको बुझाइ एमाले नेता कार्यकर्ताको छ ।

सहमतिको प्रयासमा निरन्तर सहभागी रहनुभएका नेता नेपाल पक्षका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले पार्टी जोगाए मात्र एमालेजन र देशको हित जोगिने बताए । काम गर्ने क्रममा अनेक मानवीय कमजोरी हुने तर त्यसैलाई कारण बनाएर पार्टी नै भत्काउनेसम्मको कदम उचित नभएको उनले बताए । “सर्वोच्चमा कानुन व्यवसायीको बहस जारी छ, फैसला आउनुअघि सहमतिमा पुग्ने लक्ष्यसाथ संवाद भइरहेको छ” नेता आचार्यले भने, “मिलनबिन्दुको नजिक नजिक छौं, निरन्तरको छलफलले हामी चाँडै सहमतिमा पुग्छौं ।”

दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओलीको तर्फबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल संवादमा सक्रिय रहेका छन् । त्यस्तै नेता नेपाल पक्षबाट नेताहरु घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीमप्रसाद आचार्य सक्रिय रहेका छन् । संवाद र छलफल बाटै निचोडमा पुग्न सकिने भएकाले चाँडै आन्तरिक विवाद टुङ्गिने नेताहरुको विश्वास छ । यद्यपि नेता नेपाल र भीमबहादुर रावल विपक्षी गठबन्धनको बैकठ, छलफलमा सक्रिय रहेका छन् । आजको गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ०८ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब