१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लगातारको वर्षाले तरकारी खेती सखाप



महोत्तरी । लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् ।

भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।

बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडीया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका तरकारीका लहरा पनि लगातारको पानीले गलाएर पहेंलिएका छन् । असार लागेदेखि परेको पानी र पछिल्ला चार दिन यताको निरन्तरको वर्षाले यसपाली बर्खे र भदौरे दुबै (भदौदेखि उत्पादन दिने) तरकारी खेतीबाट हात धुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्गलबारदेखि लगातार पानी पर्दै आएको छ ।

“तरकारीका बेला (लहरा) पानीले गलाएर पँहेलिएका छन् , तरकारीका बोट पानीले सोत्तर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका-४ रामनगरका किसान गङ्गाराम महतो भन्छन्, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, अब तरकारीबाट आस म(यो ।” सधैंजसो भदौपछि लगालगी पर्ने चाडपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि तरकारीको हाहाकार नै हुने र मूल्य आकासिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनेसँगै बजारमा तरकारीको मूल्य आकासिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त महङ्गो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीयतहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडकमात्र नभएर मुख्य सडक नै हिलाम्य भएका छन् । बर्दिवास-रामगोपालपुर-जलेश्वर, सम्सी-लोहारपट्टी-जनकपुर,जलेश्वर-रौजा-बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन पनि चल्न सकेका छैनन् ।

तरकारी बाली र सडक यातायातमा असजिलो बढेपनि असार मध्यसँगैको वर्षाले खेतका गहा टन्न भरिदा पानी थामिएपछि धान रोप्न पाइने किसानको आश छ । तर यसअघि रोपिएको रोपो पानीले गलाउने र अबको रोपाइँका लागि बीउ अपुग हुनसक्ने चिन्ताले किसान पिरोलिएका छन् । जिल्लामा करिब ५० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिने भनिएपनि मौसमको प्रतिकूलताले यसपालि अहिलेसम्म एक चौथाई रोपाइँ पनि हुन सकेको छैन ।

हिउँदे धान भने साउन तेस्रो सातासम्म रोप्न सकिने हुँदा आत्तिहाल्नु पर्ने गरी समय नसिद्धिएको कृषि ज्ञान केन्द्र कार्यालय महोत्तरी जलेश्वरका विज्ञले बताएका छन् । रासस

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ४७ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित