२७ मंसिर २०८२, शनिबार | December 13, 2025

असोजसम्म एक तिहाइ नेपालीलाई खोप



काठमाडौं । केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन ।

खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।

मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ ।

थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिए ।

अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उनले भने, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।

नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उनले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराए । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।

प्रवक्ता पौडेलका अनुसार अब जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । यो खोप कोभ्याक्स सुविधाभन्दा छुट्टै रहेको बुझाइ छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख वृद्धलाई दोस्रो डोज लगाउन मिल्ने भएकाले त्यसैअनुसार व्यवस्थापन गरिने छ । नेपाललाई प्रारम्भमै भारतले १० लाख र चीनले १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ । चीनले सुरुमा आठ लाख मात्रा र दोस्रो पटक थप १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो ।

भारतले पनि सुरुमा १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो । भारतसँग सरकारले छुट्टै २० लाख मात्रा खोप गरिद गरेकोमा १० लाख मात्रा आइसकेको छ । बाँकी १० लाख मात्रा खोप आउन बाँकी छ । त्यहाँ कोरोनोको दोस्रो लहरले दिनमै साढे चार लाखसम्म मानिस सङ्क्रमित हुन थालेपछि अदालतले निर्यातमा रोक लगाएको थियो । तथापि त्यसबीचमा भारतबाटै कोभ्याक्स सुविधाअन्तर्गत तीन लाख ४८ हजार मात्रा खोप नेपाल आइसकेको छ ।

यही असार २८ गते कोभ्याक्समार्फत नै अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ । यसैगरी भारतबाट नेपाली सेनाका लागि एक लाख मात्रा खोप अनुदानमा प्राप्त भई प्रयोगमा आएको छ । हालसम्म २७ लाख नेपालीले कोरोनाविरुद्ध खोप लगाइसकेका छन् ।

अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सन खोप साउन ४ गतेबाट लगाउने तयारी छ । उक्त खोप एक डोज मात्र लगाए पुग्ने खोप हो । हालसम्म नेपालमा २७ लाख ६८ हजार नागरिकले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेका छन् । हालसम्म ११ लाख २० हजार २८२ जनाले दुवै मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्ड र नौ लाख ३७ हजार २२५ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै चार लाख ६० हजार ७३४ जनाले कोभिसिल्ड र छ लाख ५९ हजार ५४८ जनाले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । सरकारले हाल कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी राखेको छ । खोप खरिदका लागि सरकारको प्रयास जारी छ ।

प्रवक्ता पौडेलका अनुसार खोप खरिदअन्तर्गत नेपालले हालसम्म भारतबाट १० लाख र चीनबाट आठ लाख गरेर १८ लाख मात्रा खोप ल्याइसकेको छ । चीनसँग खरिद गरेको बाँकी ३२ लाख मात्रा खोप आउन बाँकी छ भने भारतसँग खरिद गरेको १० लाख मात्रा खोप आएको छैन ।

चीनसँंग खरिद गरेको खोप लिन साउन ६, ७, ८ र ९ गते नेपाल वायु सेवा निगमको जहाज चीन जाँदै छ । चार पटक गरेर ३२ लाख मात्रा खोप नेपाल आउन लागेको हो । आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ०४ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु