धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहले अस्पताल प्रांगणबाट बिरामी जाँच्न थालेका छन् ।
सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै गत आइतबारदेखि काठ छोडेर आन्दोलनमा उत्रिएका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले आजबाट अस्पताल प्रांगणमा बिरामी जाँच्न थालेका हुन् । चिकित्सकहरुले कोभिड र आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका थिए ।
चिकित्सकले बिरामी जाँच्न छोडेर आन्दोलनमा उत्रिँदा बिरामी सेवाग्राही मर्कामा परेको भन्दै हिजो लिम्बुवानका कार्यकर्ताले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तोडफोड गरेका थिए ।
चारैतिरबाट काम नरोक्न दबाब बढेपछि चिकित्सकहरुले आन्दोलनको स्वरुप केही परिवर्तन गर्दै बिरामी जाँच्न थालेका हुन् । उनीहरुले उपचारका लागि टाढाटाढाबाट आउने बिरामीलाई थप मर्का नपरोस भन्दै अस्पताल प्रांगणबाट ओपीडी सेवा दिन थालेका हुन् ।
प्रतिष्ठानमा भएको व्यथिति हटाउन माग गर्दै विगत ८५ दिनदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारसँग ५० दिन हुँदा गत साउन १९ गते सहमति भएपनि सहमति पालना नभएको उनीहरुको आरोप छ ।
चिकित्सकहरुको संयुक्त संघर्ष समितिले सोमबार अस्पतालमा भएको तोडफोडको निन्दा गरेको छ ।
राजनीतिक दलका नाममा भएको तोडफोडको निन्दा गर्दै संयुक्त संघर्ष समितिले घटनाका दोषीलाई कानून बमोजिम तत्काल कारबाही गर्न माग गरेको छ ।
प्रतिक्रिया