काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।
साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १ शुन्य गोल अन्तरको ऐतिहासिक जित निकालेको हो ।
नेपालको जितमा मनिष डांगीले निर्णायक गोल गरे । नेपाल यू-१९ टोलीका सदस्यसमेत रहेका मनिषले खेलको ८५ मिनेटमा गोल गरेका हुन् । जुन गोल काउन्टरमा सम्भव भएको थियो । यसअघि मनिष स्ट्राइकर नवयुग श्रेष्ठको स्थान दोस्रो हाफमा मैदान प्रवेश गरेको थिए ।
राष्ट्रिय टोलीको लागि यो मनिषको दोस्रो गोल हो । यसअघि उनले पहिलो गोल इराकविरुद्ध गरेका थिए । जुन खेल उनको डेब्युसमेत थियो । यससँगै नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध पहिलो जित निकालेको छ ।
यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । दुबै टोलीले केही अवसर बनाए पनि सदुपयोग भने गर्न सकेनन् । खेलमा नेपालको तुलनामा घरेलु टोली माल्दिभ्सले दबाब बनाएको थियो ।
जितसँगै नेपालले सिंगल राउण्ड रोबिनको लिगमा महत्वपूर्ण तीन अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेलमा १८ असोजमा श्रीलंकाको सामना गर्नेछ । आज नै भएको पहिलो खेलमा श्रीलंका बंगलोदशसँग १-० गोल अन्तरले पराजित भएको थियो ।


















प्रतिक्रिया