काठमाडौं । बडादसैँको अवसरमा नेपाल प्रहरीले आज पनि काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सर्वसाधारणको सहज आवागमनका लागि उपत्यकाका तीनवटा रुटमा बस सञ्चालन गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले दसैँको अवसरमा हिजो र आज दुई दिन निःशुल्क बस सेवा सञ्चालन गरेको हो । आज पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेदेखि सञ्चालन हुनेछ ।
प्रहरीका अनुसार रुट नम्बर १ नक्सालबाट सुरु हुनेछ। यो बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ ।
रुट नम्बर २ को बस नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक पुग्नेछ । त्यसपछि कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ ।
त्यस्तै, रुट नम्बर ३ को बस नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै पुनः नक्साल फर्किनेछ ।
दसैँका बेला सार्वजनिक यातायातमा हुने चापलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सहज यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

















प्रतिक्रिया