२३ असार २०८३, मंगलबार | July 8, 2026

मधेस केन्द्रित दलमा रुझान बढदो, तमलोपा र राजपा नेपालसमेत पार्टी पुनः दर्ता



काठमाडौं । तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक खिचलो बढ्दै जाँदा पुरानै नाममा तराई मधेस केन्द्रित दल दर्ता गर्ने क्रम बढेको देखिएको हो ।

महन्थ ठाकुर नेतृत्वको पार्टीमा दुई खेमा देखा परेर कार्यकारिणी समितिको बैठक बस्न नसकिरहेको बेला सो पार्टीमा आवद्ध रविशंकर कर्णको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएको छ ।

गत ८ मंसिरमा दर्ता भएको सो पार्टीको केन्द्रीय कार्यालय जनकपुरमा राखिएको छ भने आयोगले सो पार्टीलाई ‘लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल’ चुनाव चिन्ह प्राप्त गरेको छ ।

‘तराई मधेस केन्द्रित दलले मधेस र मधेसी जनतालाई प्रयोग गरेर सत्ताका लागि भर्‍याङ मात्र बनाए, त्यसकारण हामीले तमलोपा दर्ता गरेर राजनीतिक गतिविधि अघि बढाएका हौं,’ अध्यक्ष कर्णले न्युज कारखानासँग भने । उनका अनुसार हाललाई २१ सदस्यीय केन्द्रिय कार्यसमिति कायम गरेर निर्वाचन आयोगमा दर्ता गराइएको हो ।

तत्कालीन तमलोपाको विद्यार्थी संगठन तराई मधेस विद्यार्थी फ्रन्टका सुरेश मण्डल नेतृत्व कार्याकालका उपाध्यक्षसमेत रहेका कर्णले लोसपा अध्यक्ष ठाकुरवाट असन्तुष्ट बृषेचन्द्र लालले पार्टी खोल्न लगाएको आरोप लगाए पनि उनले अस्विकार गरेका छन् । ‘यो पार्टी खोल्नुमा बृषेशचन्द्रजीको कुनै हात छैन, यसमा उहाँ कतैवाट संलग्न हुनुहुन्न्,’ कर्णको प्रस्टोक्ति छ ।

लोसपा अध्यक्ष ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र यादव, अनिलकुमार झा र राजकिशोर यादवसहित ६ सदस्यीय अध्यक्ष मण्डलबाट नेतृत्व रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा दर्ता गरिएको छ ।

उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकीकरण भएपछि विघटनमा पुगेको राजपा नेपाललाई हरिनारायण यादवले आयोगमा दर्ता गराएका हुन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको चुनाव चिन्ह ‘दायाँ हातले समातेको मशाल’लाई प्रयोग गर्दै यादवले पुरानो पार्टीलाई आफ्नो नेतृत्वमा दर्ता गराएका हुन् । उनले केन्द्रीय कार्यालय भने काठमाडौं तोकेका छन् ।

बहुदलीय व्यवस्था र गणतन्त्र स्थापना अघि तराई मधेस केन्द्रित एक मात्र राजनीतिक दल ‘सदभावना पार्टी’लाई पनि बिभिन्न नाममा राखेर निर्वाचन आयोगमा दर्ता भएको छ । गजेन्द्रनारायण सिंहले स्थापना गरेको ‘सद्‌भावना’ नाम जोडेर विश्वनाथ साह र राजकुमार महतोले अलगअलग नाममा राजनीतिक दल दर्ता गराएका छन् ।

साहले ‘गदा’ चुनाव चिन्ह राखेर राष्ट्रिय सद्‌भावना पार्टी दर्ता गराएका छन् भने महतोले भने बहुदलीय व्यवस्थाको कार्यकालमा प्रयोग गर्दै आएको ‘पञ्जा’ छापसहित नेपाल सद्‌भावना पार्टी दर्ता गराई राजनीतिक गतिबिधि अगाडी बढाएका छन् । साहको केन्द्रिय कार्यालय मंलगवा, सर्लाही राखिएको छ भने महतोले जनकपुरमा केन्द्रिय कार्यालय रहेको जानकारी आयोगलाई दिएका छन् ।

त्यसो त, तराई मधेस आन्दोदलनबाट एकाएक स्थापित ‘मधेसी जनअधिकार फोरम, नेपाल’ नामप्रति मोह भएकाहरूले पनि ‘फोरम’ शब्द राखेर विभिन्न पार्टी दर्ता गराएको देखिएको छ ।

भाग्यनाथ साहले मधेसी जनअधिकार फोरम मधेस नाम राखेर ‘चर्खा’ चुनाव चिन्हसहित राजनीतिक दल दर्ता गराएर बसेका छन् भने अमर यादवले मधेस तराई फोरम नामको पार्टी दल दर्ता गराएर बसेका छन । गौर केन्द्रिय कार्यालय राखेका यादवले बाल्टिन चुनाव चिन्ह पाएका छन् भने साहको केन्द्रीय कार्यालय वीरगञ्जमा रहेको निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।

उपेन्द्र यादव नेतृत्वको संस्थापन कोषाध्यक्षसमेत रहेका गौरका यादवलाई ‘फोरम’ शब्दको मोह घटेको अझै देखिएको छैन, साह पनि फोरमका संस्थापक सदस्य हुन । दुवैले ‘फोरम’ शब्द प्रयोग गरेर अलग अलग पार्टी सञ्चालन गरेर बसेका छन् ।

उता, उपेन्द्र यादवले अशोक राईलगायतका पार्टीसँग एकीकरण गर्दा गठन भएको ‘संघीय समाजवादी’ नामप्रति मोह राख्दै विगतमा सोही पार्टीमा रहेका रिजवान अन्सारीले नेपाल संघीय समाजवादी पार्टी दर्ता गरेर बसेका छन् । काठमाडौंलाई केन्द्रीय कार्यालय बनाएका अन्सारीले आयोगबाट बस चुनाव चिन्ह पाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  २ : ३८ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको