२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

हराभरा छ निकुञ्ज, प्रफुल्लित छन् वन्यजन्तु



चितवन । लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने वन्यजन्तु प्रफुल्लित छन् ।

सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक एक हजारभन्दा बढी पर्यटक घुमफिर गर्दथे । निकुञ्जको बाटो हुँदै माडीलगायतका ठाउँमा मानिस ओहोरो–दोहोर गर्दथे । लकडाउनसँगै मानवीय गतिविधि शून्यजस्तै भएपछि निकुञ्ज हराभरा हुनुका साथै वन्यजन्तु रमाइरहेका हुन् । निकुञ्जमा अहिले सुरक्षागस्तीका बाहेक अन्य मानिस छिर्न पाएका छ्रैनन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले एउटा घाँसेमैदानमा ६०० सम्म चित्तल, एउटै पोखरीमा १४ वटासम्म गैँडा, सौराहाबाट कसरासम्मको १७ किलोमिटर यात्रा गर्दा ३२ गैँडा देखिएको बताउनुभयो । उहाँका अनुसार निकुञ्जको भिम्लेफाँटमा कर्मचारीले ६०० चित्तल गनेका थिए । काभ्रेतालमा पाँच दिनअघि रुपाखेती आफँैले १४ गैँडा देखेको बताउनुभयो । उहाँ आफैँ सौराहाको प्रवेशद्वारबाट कसरासम्म जाँदा चार बच्चासहित ३२ गैँडा देख्नुभएको थियो । यो बाटो जिप सफारीको बाटो हो । उहाँले भन्नुभयो, “एउटै फाँटमा ४२ गौरीगाई पनि देखिएका छन् । मानवीय गतिविधि बन्द भएपछि निकुञ्जमा वन्यजन्तु स्वतन्त्र विचरण गरिरहेका छन् ।”

चैत ११ गतेदेखि शुरु भएको लकडाउनसँगै निकुञ्ज प्रवेशमा रोक लगाइएको छ । यो समयमा नियमितजस्तै पानी परेर आगो नियन्त्रण भएको, माटोमा चिस्यान पुगेको र घाँसे मैदान व्यवस्थापन गरिएसँगै निकुञ्जका विभिन्न क्षेत्रमा पर्याप्त घाँस देख्न सकिन्छ । तिनै घाँसेमैदानमा वन्यजन्तु रमाउँदै विचरण गर्ने गरेको उहाँको भनाइ छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार दैनिक ७२ वटा जिप निकुञ्ज छिर्ने गर्दथे । जसले दैनिक एक हजारभन्दा बढी पर्यटक निकुञ्ज घुमाउन लैजाने गर्दथे । सौराहाबाट ३२, कसराबाट २५, अमलटारीबाट पाँच, मेघौलीबाट नौ र माडीबाट एउटा जिपलाई निकुञ्ज प्रवेश अनुमति छ । एउटा जिपमा १० पर्यटक बस्ने व्यवस्था हुन्छ । ती जिपले पर्यटकअनुसार दिनमा दुई तीन पटकसम्म निकुञ्ज जाने गर्दथे । उप्रेतीको भनाइमा निकुञ्ज हुँदै माडी, ठोरीका जनता ओहोरदोहोर गर्नेमा त्यो क्रम पनि अहिले न्यून छ ।

गत वर्ष चैत महिनामा २२ हजार ३२९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । वैशाखमा यो सङ्ख्या २२ हजार ६८७ थियो । तर यस वर्ष वैशाखमा शून्य छ भने चैतको १० दिनमा तीन हजार ९०६ जनाले निकुञ्ज घुमेका थिए । निकुञ्ज हराभरा हुँदै गर्दा वर्षभरिको पर्यटकको सङ्ख्या भने न्यून हुने देखिएको छ । गत वर्ष एक लाख ८७ हजार १०९ पर्यटक निकुञ्ज छिरेकामा यस वर्षको चैत १० गतेसम्म यो सङ्ख्या एक लाख ७० हजार ३२८ पुगेको थियो ।

संरक्षणकर्मी एवं जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले मानिसको चहलपहल घटेसँगै निकुञ्जभित्र वन्यजन्तुको चहलपहल बढेको बताउनुभयो । यो मौसम पालुवा पलाउने, फूल फुल्ने र जनावरले प्रजनन गर्ने समय भएकाले उनीहरुका लागि निकै महत्वपूर्ण र खुशी हुने बेला भएको उहाँको भनाइ छ । यसैबेला मानवीय गतिविधि शून्य भएपछि वन्यजन्तु निकै रमाएको चौधरीको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले लकडाउनले निकुञ्जभित्र नै पर्याप्त आहार पाएपछि वन्यजन्तु बस्ती नआएको बताउनुभयो । मध्यवर्ती क्षेत्रमा आहारका लागि गैँडा, बँदेल, चित्तल आएर जनतालाई दुःख दिने गर्दथे । तर यो वर्ष ठूलो समस्या नभएको मल्लको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु बाघ र एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । गैँडा, चित्तल, लघुना, गौरीगाई, बँदेल, भालुसँगै ठाउँठाउँमा बाघसमेत देखिने क्रम बढेको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ९ : ५७ बजे

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको