१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

केपी शर्मा ओलीको आत्मालोचनाको बजार मूल्य : सक्कली या नक्कली भेदै खुलेन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आत्मालोचना यतिबेला मुलुकमा चर्चाको बिषय बनेको छ । त्यसो त पार्टीका अर्का अध्यक्ष प्रचण्डले र सबै सचिवालय सदस्यहरुले पनि आत्माआलोचना गरेका थिए, तर ओलीकै आत्मालोचनाको बजार बढी मूल्यवान देखियो । अन्य नेताहरुको आत्मालोचनाले बजार मुल्य खासै पाउन सकेन ।

नेताहरुले गरेको आत्मालोचनालाई लिएर समाजमा बिभिन्न तर्क पनि गर्न सुरु गरीएको छ । ओली निकट कार्यकर्ताहरुले ‘प्रधानमन्त्री जस्तो व्यक्तिले आत्माआलोचना गरीसकेपछि त्यो भन्दा ठूलो के हुन सक्छ र ? आत्माओलोचना गर्नु नै ओलीको महान कर्म हो’ भन्ने तर्क गरीरहेकाछन् भने ओली इतरका नेताहरु ‘तत्कालको विरोध शान्त पार्नका लागि मात्र नाटकीय आत्माआलोचना गरीएको’ टिप्पणी गरेकाछन् । नेकपाका एकजना केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त प्रधानमन्त्रीको आत्माआलोचनालाई ‘बतासे अण्डा’को संज्ञा समेत दिनुभएको छ ।
सामन्यतया पार्टी संगठनभित्र आलोचना आत्माआलोचना गर्ने प्रचलन हुने गर्दछ । अझै कम्युनिष्ट पार्टीहरुमा त हरेक बैठकको एउटा मुख्य एजेण्डामा नै आलोचना र आत्माआलोचनालाई बनाउने अभ्यास हुँदै आएको छ । आफैले गरेको गल्ती कमजोरीलाई आफैले पहिचान गरी वा अरुले देखाएको आलोचनालाई स्वीकार गरी गल्ती महशुस गर्ने बिधि नै आत्माआलोचना हो । लेनिनवादी संगठानात्मक सिद्धान्त मान्ने बिश्वका कम्युनिष्टहरुले बैठकमा सुरुमा सबैले सबैको आलोचना गर्ने र फेरी सबैले कमजोरी स्वीकार वा अस्विकार गर्ने तथा कमजोरी पुष्टि भए कमजोरीको प्रकृति अनुसार आत्माआलोचना, स्पष्टीकरण वा कारवाहि गर्ने गर्दछन् । नेपालका कम्युनिष्ट पार्टीहरुमा पनि विभिन्न बेलामा भएका बैठकहरुले कमजोरीहरुको सिंहावलोकन गरी पार्टीबाट निष्काशन सम्मको कारवाही भएको इतिहास छ ।

यसपटक प्रधानमन्त्री ओलीले गर्नुभएको भनिएको आत्माआलोचना भने भिन्न प्रकारको छ । उहाँले के के कसुरमा आत्माआलोचना गर्नुभयो, उहाँको कमी कमजोरी के के देखियो र उहाँले स्वीकार गरेको आत्माआलोचनाका शिर्षकहरु के के हुन् ? अहिलेसम्म पार्टीले सार्वजानिक गरेको छैन । बैठक सकियो, कोट पाइन्टमा जबर्जस्ती मुस्कुराउने प्रयास गरेजस्तै गरी पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पत्रकार माझ उभिनुभयो र नेताहरुले आत्माआलोचना गरेको कुरा सुनाएर ओझेल हुनुभयो । के कुरामा आत्माआलोचना भएको हो भन्ने विषयमा आम नेपाली जनता अहिले पनि अन्यौल मै छन् । तर, सोमबार कोटेश्वरमा दुई चरणमा सम्पन्न माधव नेपाल समुहको बैठकमा भने प्रधानमन्त्रीको आत्मालोचना तत्कालका लागि थामथुम पार्ने प्रयास भएको भन्दै स्थायी कमिटी बैठकमा यसबारे प्रष्ट पार्नुपर्ने निस्कर्ष निकालिएको छ । उता, बालुवाटारमा सम्पन्न प्रधानमन्त्री निकट समुहको भेलाले पनि प्रधानमन्त्रीलाई थप पेल्न खोजे प्रतिवाद गर्ने रणनीति बनाएको छ । यसको अर्थ, नेकपाको आत्मालोचनाको राजनीति के देखावटी मात्र थियो भन्ने प्रश्न जन्मिएको छ ।

कम्युनिष्टहरुले मान्ने गरेको संगठनको सिद्धान्त लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो । लेनिनवादी सिद्धान्तको मुख्य आधार भनेको पार्टीका हरेक सदस्य संगठनको मातहत हुनु पर्दछ भन्ने रहेको छ । सिद्धान्त ले भन्दछ “व्यक्ति संगठनको मातहत हुनुपर्दछ, अल्पमत बहुमतको मातहतमा हुन्छ, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत हुनुपर्दछ । पार्टीका सबै संगठनहरु केन्द्रीय कमिटीको मातहत हुनुपर्दछ, केन्द्रीय कमिटी महाधिवेशनको मातहत हुनुपर्दछ र महाधिवेशन पार्टीका संगठित सदस्यहरुको मातहत हुनुपर्दछ” ।

लेनिनवादी संगठनात्मक सिद्धान्तको अर्को मुल आधार जनवादी केन्द्रीयता पनि हो । जनवाद र केन्द्रीयता एक अर्काका परिपुरक हुन्छन् । जनवाद विनाको केन्द्रीयता निरंकुश हुनेगर्दछ भने केन्द्रीयता बिनाको जनबाद अराजक बन्दछ । जनबादमा हरेक सदस्यहरुले आफ्नो कुरा राख्न पाउने, संगठनमा चुन्न र चुनिन पाउने, पार्टीमा उठेका मुद्दाहरुमा बहस गर्न पाउने जस्ता अधिकारहरु पर्दछन् भने जनवादी अधिकार प्रयोग गरेर नेतृत्वमा पठाईएकाहरुले पठाउनेहरुमाथि शासन गर्न पाउने अधिकार केन्द्रीयतामा व्यवस्था गरिएको हन्छ ।

सिद्धान्तको अर्को महत्वपूर्ण पाटो हो आत्माआलोचना । पार्टीका बैठकहरुमा हरेक पदाधिकारीले आफ्नो कमी कमजोरी आफै प्रस्तुत गर्न पाउने र आफुबाट अन्जानमा भएका कमजोरीलाई सच्याउने प्रतिवद्धता सहित आत्माआलोचित हुनु नै आत्माआलोचनाको विधि हो । बैठकमा आफुबाट भएको कमजोरी बुँदागत रुपमा प्रस्तुत गर्ने र अव उप्रान्त त्यस्ता गल्ती हुने छैनन् भने अन्य बैठकका सदस्यहरुलाई विस्वस्त पार्ने विधिलाई आत्माआलोचनाको विधि भनिन्छ । तर, नेकपाको यसपटकको बैठकमा गरिएको आत्माआलोचनामा कसैको कमजोरी र गल्तीको बिषयलाई बुँदाकरण गरिएको पाईएन । अबका दिनमा कुनकुन कुरा नदोहोरिने हुन् ? पार्टीमा के के कुरामा भिन्नता आउने हो ? अहिलेसम्म नेताहरुले गरेको कमजोरीहरु के के हुन् ? अहँ ! केहि पनि सुन्न पाइएको छैन ।

पुर्व एमाले भित्रको बिगत हेर्ने हो भने माधव नेपाल खेमालाई महाधिवेशनमा पराजित गरेदेखि नै ओली समुहले पार्टीभित्र एकतान्त्रिक शासन गर्न खोजेको आरोप लागिरहेको छ । पार्टी संचालनमा अर्को समुहलाई भित्तामा पुर्याउने विधिलाई नै आत्मसात गर्दै सबै अवसरबाट पार्टीभित्र कै अर्को समुहलाई निमिट्यान्न पार्ने प्रवृतिकै कारण पार्टीभित्र भुसको आगो झैं भित्रभित्र दन्केको सजिलै आंकलन गर्न सकिन्छ । महाधिवेशबाट निर्वाचित भएदेखि नै पार्टीलाई विधि र विधानका आधारमा भन्दा पनि ओलीको सनकको आधारमा संगठन संचालन गरीएको नेपाल खेमाको आरोप छ । यो आरोपलाई ओलीपक्षले भने दृढतापूर्वक अस्वीकार गर्दै आएको छ । पुर्व एमाले पार्टीमा कुनै बेला चर्चित नेता प्रदिप नेपालले त यो प्रकरणलाई ओलीको “नयां नयां फन्दा” समेत भन्न भ्याउनु भएको छ ।

उता पुर्व माओवादी खेमामा त युद्धका नाममा दशकौं नियमित महाअधिवेशन नै नगर्ने, हेडक्वाटरले भनेकै कुरा पार्टीको विधिविधान बन्ने, पार्टीका सदस्यहरुको, संगठनहरुको अभिलेख नराख्ने जस्ता कुरा शान्ति प्रक्रियामा आएसँगै छताछुल्ल भएकै हो । एमाले र माओवादीको एकीकरणको प्रक्रिया सुरु भएको २ वर्ष बढी हुँदा पनि पुर्व माओवादीले सदस्यको संख्या, संगठनको अवस्था बुझाउन नसक्नु त्यसको लज्जास्पद उदाहरण हो ।

जसले जे भने पनि नेकपामा देखिएको अहिलेको लडार्इं पार्टीलाई विधि र बिधानबाट संचालन गर्नुपर्छ भन्ने विषय आवरणमा केन्द्रित भएको देखिन्छ । तर, अन्तर्यमा भने फेरि पनि शिर्ष नेताहरुको इगो र व्यक्तिगत अहंकारको प्रतिफल हो भन्न सकिन्छ । एकले अर्कोलाई स्वीकार गर्न नसक्ने प्रवृत्तिको टकरहाट यतिबेला देखिएको छ भन्दा फरक पर्दैन । अध्यक्ष ओली लगायत सबै नेताहरुले इमान्दारीपुर्वक आत्माआलोचना गरेका हुन भने आम पार्टी सदस्यहरुले शिर्ष नेताहरुले गरेको आलोचनाको बुँदाहरु अवश्य सुन्न पाउनेछन् । नेताहरुले स्वीकार गरेको भनिएको कमीहरु के के हुन् सबैले जान्न पाउने छन् । २५ गते हुने भनिएको पार्टी स्थायी समिती बैठकमार्फत यी कुराहरु बाहिर आउने नै छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १२ : ०२ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष