१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

रंगभेदी सोचले खिईंदै अमेरिका : जहाँ जनता सडकमा उत्रिँदा राष्ट्रपति बंकरमा लुक्छन्



अक्सर आम मानिसले बुझ्ने गर्छन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संसारकै सबैभन्दा शक्तिशाली राष्ट्रपति हुन् । विश्वको शान्ति सुरक्षाको एकल भारी बोकेकको अमेरिकाले पुलिसको ठेकेदारी गर्दै आएको छ र यसका मुख्य ठेकेदार राष्ट्रपति ट्रम्पलाई हल्लाउने कोही हुन सक्दैन । मानौं नेपालका केही पैसा र पावरले मैमत्त ठेकेदारहरुका अगाडि नेता र प्रशासकहरुले घुँडा खुम्चाएजस्तै राष्ट्रपति ट्रम्पका अगाडि विश्वका धेरै शासकहरुले घुँडा खुम्चाएको हामी देखिरहेका छौं । जो शक्ति र पदमा आसिन छ उकै जी हजुरी जता पनि चल्छ नै । संसारकै रित यस्तै छ, ट्रम्पका अगाडि चाहे एक समयको साम्राज्य बेलायत होस, या जापान, क्यानडा होस या अष्ट्रेलिया सब थर्कमान छन् नै । अमेरिकी पावरको कमाल हो त्यो । अहिलेसम्म हामी यसरी नै बुझ्दै आएका छौं ।

तर, यस्तो हैन रहेछ । कुनै समय चिनिया कम्युनिष्ट पार्टीका नेता माओ त्सेतुङले अमेरिकीहरुलाई लक्षित गर्दै भनेका थिए, ‘साम्राज्यवादीहरु कागजी बाघ हुन् ।’ दोस्रो विश्वयुद्ध पछि विश्वभर आफ्नो पकड बढाउँदै लगेको अमेरिकी विदेश नीति विरुद्ध चीनको विदेश नीति प्रतिबिम्बित गर्ने लाक्षणिक अभिव्यक्ति थियो त्यो । माओको त्यो अभिव्यक्ति नेपालका केही ‘कम्युनिष्ट’का लागि पनि ‘देव वाक्य’ नै छ आजसम्म पनि । तर, अमेरिकाको आजको हालत हेर्दा साँच्चै नै माओ बोलीमा दम रैछ भन्न सकिने अवस्था देखिएको छ ।

बंकरको बास
विदेश नीतिका सन्दर्भमा गरिएको विश्लेषण आज अमेरिककाको आन्तरिक समाज व्यवस्था धरासायी बन्दा साँच्चि नै कागजी बाघ जस्तै देखिएको छ । यो टिप्पणी गर्नका लागि अमेरिकाभित्र भएको तत्कालको घटनाक्रमलाई केलाउँदा मात्र पुग्छ ।

यतिबेला संसारकै सबैभन्दा शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प बंकरमा लुक्नुपर्ने बाध्यता सिर्जना भयो । रुस, चीन, उत्तर कोरिया या इरानबाट आणविक बम बर्सिएर होइन, आफ्नै जनताको धैर्यताको बाँध विस्फोट भएपछि ह्वाइट हाउस बंकर खोल्न बाध्य बन्यो । संसारकै सबैभन्दा सुरक्षित राष्ट्रपति निवास ह्वाइट हाउसले आफ्ना राष्ट्रपतिको परिवार जोगाउन एकाध घण्टा नै सही बंकर खोल्नुपर्ने अवस्था आएपछि विश्लेषण गर्नैपर्ने भयो, ‘के साँच्चै अमेरिका कागजी बाघ नै बनेको हो र ?’

गोरा पुृलिस अफिसरले एक अस्वेत युवालाई बर्बरतापूर्वक घाँटी अँठ्याएर हत्या गरेपछि अमेरिकामा गत सातादेखि निरन्तर प्रदर्शन भैरहेको छ । अमेरिकाकी प्रर्दशन बुधबारको दिनसम्म आइपुग्दा यूरोप प्रवेश गरेको छ । अमेरिकाभित्र भएको रंगभेदी कृत्य विरुद्ध फ्रान्समा आगो बलेको छ, बेलायतमा प्रदर्शन भएको छ, नेदरल्याण्डमा ऐक्यवद्धता जनाइएको छ । फ्रान्सको राजधानी पेरिस र लियोनमा फ्लोइडको मृत्युलाई लिएर ठूला प्रदर्शन भएका छन् ।

यो घटनाले देखाएको छ, अमेरिकी समाज कतिसम्म हिंस्रक र बर्बर रहेछ भन्ने पनि पुष्टि गरेको छ । हुन त गोरा र कालाबीचको विभेद सयौं वर्षदेखिकै विभेद हो । मार्टिन लुथर किङ्गले रंगभेद विरोधी आन्दोलनमा जीवन समर्पित गरे ।

सभ्य समाज भनेर विश्वलाई मानवअधिकारको पाठ पढाउने, अर्काको देशमा हुने आन्तरिक विरोध र प्रदर्शनमाथि राजनीति गर्दै उक्साउने काम गर्ने अमेरिकी विदेश नीति यतिबेला देशभित्रको प्रदर्शन र हिंसाको प्रतिरक्षा गर्न अक्षम देखिएको छ ।

रमाइलो मान्दै चीन
गतवर्ष हङ्कङ्मा भएको प्रदर्शनलाई प्रजातन्त्रका लागि भएको शताब्दीकै ऐतिहासिक आन्दोलन भनेर टिप्पणी गर्ने सीआईएका पूर्व निर्देशक एवं विदेशमन्त्री माइक पोम्पियो र संसदका सभामुख न्यान्सी पेलोसीको बोल्ती अहिले बन्द छ । किनकी, यसपाला उनीहरुकै देश जलेको छ, जलाइएको छ । र, देश जलाउन ट्रम्प, पोम्पियो र पेलोसीहरुकै नीति जिम्मेवार छ ।

अर्काको देशको आन्तरिक मामिलामा रमाइलो मान्ने र त्यसैलाई विदेश नीतिको अंग बनाउने अमेरिकाले यसपाला पनि हङ्कङ मामिलामा चीन विरुद्ध नयाँ कानुनको जाल फ्याँक्दै गर्दा आफ्नै मुलुक जल्न सुरु गरिसकेको थियो । यसैलाई आधार मानेर यतिबेला चिनिया विदेश मन्त्रालयका ‘वल्फवारियर डिप्लोम्याट’ र उनीहरुद्वारा निर्देशित चिनिया संचारमाध्यमहरु रमाइलो मान्दै उत्साहपूर्वक प्रतिक्रिया दिइरहेका छन् । अमेरिकी प्रजातन्त्र र मानवअधिकारले नागरिक नागरिकबीच खनेको विभेदको महासागर प्रशान्त महासागर पारीको चीनका लागि मसला बनेको छ ।

एक साताअघि प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत पुरुष जोर्ज फ्लोइडले न्याय पाउन अमेरिकामा त्यति सजिलो छैन, किनकी रंगभेद विरोधी अभियन्ता मार्टिन लुथर किंग जस्तो नेतृत्व छैन अहिले । फ्लोइडको परिवारले शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेपनि मानिसहरु मान्न तयार देखिँदैनन् अहिले ।

सेना परिचालन
फ्लोइडको गृहनगर ह्युसटनमा मात्रै भएको -याली र स्मृतिसभामा करिब ६० हजार मानिसहरू सहभागी भएको अनुमान गरिएको छ । फ्लोइडका परिवारका सदस्यहरू पनि उक्त स्मृति सभामा सहभागी भएका छन् । तर, ४० भन्दा बढी राज्य र न्यूयोर्क वासिङ्गनसहित कैयौं ठूला शहरहरुमा दिन रात प्रदर्शन जारी छ । प्रदर्शन नेतृत्वविहीन बन्दा लुटपाटका घटनामा समेत वृद्धि भएको छ । ४० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको छ ।

अमेरिकामा हिंसात्मक प्रदर्शन अन्त्य गर्न राष्ट्रपति ट्रम्प सेना परिचालनको मुडमा पुगेका छन् । तर पनि प्रदर्शनकारीहरू कर्फ्यू तोडेर प्रदर्शनमा सहभागी हुनेक्रम जारी छ । अमेरिकाका महान्यायाधिवक्ताले वासिङ्टनमा सुरक्षा व्यवस्थाका लागि राति थप सुरक्षाकर्मीहरूलाई खटाएको बताएका छन् । रक्षामन्त्री मार्क इस्परले सैनिक ल्याउन स्वीकृति दिएका छन् । सुरक्षाका लागि १६ सय सेनालाई विभिन्न सैनिक आधार केन्द्रहरूमा विमानमार्फत ल्याइएको छ । रक्षा मन्त्रालयले सेना उच्च सर्तकतामा रहेको बताएका छन् ।

फ्लोइडको घटनालाई सन् २०१६ मा फ्रान्समा प्रहरी हिरासतमै ज्यान गुमाएका एक २४ वर्षीय युवाको घटनासँग जोडेर हेरिएको छ । सन् २०१६ मा भएको २४ वर्षीय याडम ट्राअरेको मृत्युपछि पेरिसमा कयौँ दिन हिंसात्मक प्रदर्शनहरू भएका थिए । त्यहाँ पनि प्रहरीमाथि दमन गरेको आरोप लगाइएको थियो ।

ट्रम्पको भविष्य
कोरोना भाइरसले थिलोथिलो बनाएको छ अमेरिकालाई । अमेरिकी इतिहासमै झण्डै चार करोड मानिस बेरोजगार बनेका छन् । ट्रम्पसँग प्रशासनसँग दोष अरुलाई थुपार्नेबाहेक अन्य कुनै नीति छैन । कोरोना फैलाएको र रोक्न नसकेको नाममा चीन र विश्व स्वास्थ्य संगठनलाई दोषारोपण गरेका ट्रम्पले यतिबेला अमेरिकी आन्तरिक अस्तव्यस्ततालाई वामपन्थीहरुले उचालेको आरोप लगाएका छन् । एशियन–अमेरिकन र अफ्रिकन–अमेरिकनलाई आफ्नो नठान्ने ट्रम्प प्रवृत्तिकै उपज हो, यतिबेलाको अमेरिकी हिंसा । तर, कोरोना भाइरसको उपचारमा समेत विभेद गरेको अमेरिकी रंगभेदी गोरा सोचले त निहत्था जर्ज फ्योडहरु मारिनुमै विजयीभाव देख्दछ ।

केही महिनाभित्रै राष्ट्रपतीय निर्वाचन हुँदैछ । दोस्रो पटक राष्ट्रपति बन्ने निश्चिन्त दाबी गर्ने ट्रम्पका लागि पछिल्ला दिन कठिन बन्दै गएका छन् । डेमोक्रयाट उम्मेदवार जोन बायडनका लागि ट्रम्पको अक्षमता मौका बन्दै गएको छ । रंगभेदले थिचिएको अमेरिकी गोरा दिमागले वास्तविकताको बत्ति बाल्यो भने ट्रम्पले अर्को पटक ह्वाइट हाउसको बंकर प्राप्त नगर्न सक्छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १ : ५७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर