७ आश्विन २०८३, बुधबार | September 23, 2026

मनोमानी भाडा असुल्न थालिएपछि सबै चार्टर्ड उडानमा रोक, कुटनीतिक उडान जारी रहने



काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । प्राधिकरणको सो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चार्टर्ड उडानलाई असर पु-याएको जनाइएको छ । निगमले बन्दाबन्दीको अवस्थामा दैनिकजसो चार्टर्ड उडान गर्दै आएको थियो ।

विपद्को अवस्थामा चार्टर्ड उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग मनोमानी भाडा असुल्न थालेपछि प्राधिकरणले आजैदेखि चार्टर्ड उडानमा रोक लगाएको हो । प्राधिकरणले शनिबार राति जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ । नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने सूचनामा भनिएको छ ।

निगमको पूर्वनिर्धारित चार्टर्ड उडानमा भने असर नपर्ने निगमले उल्लेख गरेको छ । निगमको यात्रु चार्टर्ड गरिएको वाइडबडी जहाज आइतबार बेलुका ९ बजे जापानको नारिता र सोमबार अष्ट्रेलियाको क्यानबेरामा चार्टर्ड उडान गर्ने तालिका रहेको छ । बन्दाबन्दीमा नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीमध्ये निगमले सर्वाधिक चार्टर्ड उडान गरेको छ । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

बन्दाबन्दीको समयमा चार्टर्ड उडानले पछिल्लो समय वित्तीय सङ्कट बेहोरिरहेको नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा पनि केही राहत मिलेको थियो । विपद्को उडान सारथी बनिरहेको नेपाल एयरलाइन्सले यात्रु चार्टर्ड र कार्गो चार्टर्ड उडान गर्दै आएको थियो । प्राधिकरणको निर्णयले अब कार्गो उडान मात्र गर्न पाउनेछ । व्यावसायिक चार्टर्ड उडान गर्न पाइँदैन । नेपाल एयरलाइन्सपछि कतार एयरले सबैभन्दा धेरै चार्टर्ड उडान गरेको थियो ।

निगमका एक उच्च अधिकारीका अनुसार प्राधिकरणको निर्णयले निगमलाई सबैभन्दा मार पुगेको बताउनुभयो । उहाँले “बन्दाबन्दीको अवधिमा चार्टर्ड उडानको अभिभारा बोकेको निगमलाई पछिल्लो प्राधिकरणको निर्णयले सबैभन्दा बढी असर गरेको छ, किनकि पछिल्लो समय उल्लेख्य सङ्ख्यामा हँुदै आएका चार्टर्ड उडान अब गर्न नपाइने भएको छ ।”

निगमले बन्दाबन्दीको अवधिमा नौ कार्गोसहित २३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान तथा आन्तरिकतर्फ ११ चार्टर्ड उडान गरेको जनाएको छ । निगमले अन्य मुलुकमा पनि चार्टर्ड उडानका लागि पहल गरिरहेको थियो । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले व्यावसायिक प्रकृतिका चार्टर्ड उडान प्रतिबन्ध गरिएको तर कूटनीतिक माध्यमबाट हुने चार्टर्ड उडान भने यथावत रहने जानकारी दिनुभयो ।

सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो । त्यस्तै चैत ११ देखि आन्तरिक उडान पनि स्थगन गरिएको थियो । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि देशभर बन्दाबन्दी गरेको छ । पछिल्लोपटक जेठ समान्तसम्म बन्दाबन्दीलाई निरन्तरता दिइएको छ । आगामी असार १६ सम्म हवाई उडान स्थगन गरिएको छ ।

सरकारसँग अनुमति नलिइ टिकट बिक्री गर्दै यात्रु चार्टर्ड हुन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले शनिबार प्राधिकरणलाई चार्टर्ड उडानमा कडाइ गर्न निर्देशन दिएको थियो । चैत १० देखि जेठ २४ सम्म ११० अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  २ : १८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई