१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोशीटप्पुबाट चितवन ल्याएको अर्ना : न फस्टायो, न मोटायो



चितवन । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन ल्याइएका अर्ना न फस्टाउन सकेका छन् न त मोटाउन नै । चितवन राष्ट्रिय निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर बनाएर अर्ना राखिएका छन् ।

विसं २०७३ मा आरक्षबाट १२ वटा र जावलाखेल चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएका थिए । त्यतिबेला तीन भाले र १२ पोथी ल्याइएका हुन् । त्यही वर्ष आएको बाढी अर्ना राखिएको क्षेत्रमा पसेपछि केहीलाई बगाएको थियो भने बचेका अर्ना बिरामी परेका थिए । त्यसै वर्ष १५ मध्ये छ वटा मरेका थिए । चिडियाखानाका सबै र कोशी टप्पुबाट ल्याइएका तीन वटा मरेका थिए । चार वटा बच्चा थपिएर हाल सो क्षेत्रमा १३ वटा अर्ना रहेका छन् । तीमध्ये सात वटा माउ पोथी र दुई वटा भाले माउ रहेका छन् । पछि जन्मिएका बच्चामध्ये तीन वटा भाले र एउटा पोथी छ ।

चार वर्ष बितिसक्दा सातवटा पोथीबाट चार वटा बच्चामात्र जन्मिएका छन् । तत्कालीन समयमा पाँच भालेसहित २५ अर्ना ल्याउने भनिएको भए पनि ल्याउन सकिएको छैन । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार कोशीका जस्ता मोटा हुन नसके पनि स्वस्थ रहेका छन् । खुल्ला नछाडिएकाले पनि मोटा हुन नसकेको हुनसक्ने उहाँको भनाइ छ । भर्खरका उमेरका भएको र वातावरण फरक पर्नु अर्को कारण हुनसक्ने श्रेष्ठ बताउनुहुन्छ । नियमित दाना दिइएको, औषधोपचार भइरहेको भन्दै उहाँले राखिएको क्षेत्रफल बढेपछि केही फरक आउन सक्ने बताउनुभयो । उहाँले ती अर्ना कोशी टप्पुका जस्ता नभएर घरमा पालेका भैँसीजस्ता देखिएको जानकारी दिनुभयो । अहिले पनि केही अर्ना ब्याउने भएकाले विस्तारै सङ्ख्या बढ्दै जाने उहाँको भनाइ छ ।

निकुञ्जको पूर्वी क्षेत्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत गोपाल घिमिरेले खुला ठाउँमा बथानमा कुद्ने, चर्ने र कोशी नदीमा खेल्ने अर्ना यहाँ खुल्ला खोरमा रहेकै कारण त्यहाँको जस्तो मोटा हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर पनि त्यस्तो दुब्ला छैनन् ।” बसिरहेको ठाउँ फरक हुँदा पनि मोटाउन नसकेको उहाँको भनाइ छ । ती अर्नामा बाढीका कारण रोग देखिएपछि बचाउनै कठिन भएको थियो । थप अर्ना ल्याउन भने नसकिएको उहाँको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हाल भइरहेको खोरलाई करिब १५ हेक्टर थप गरी पानी र घाँसको प्रबन्ध गर्न लागिएको छ । यसअघि अर्ना राख्नका लागि ३० हेक्टरमा तारबार गरी व्यवस्थापन गरिएको छ । घोल थुनेर पानी ल्याउने तयारी गरिएको छ । यी जनावरलाई पानीमा खेल्नुपर्ने भएकाले थोरै पानीले नपुग्ने भन्दै उहाँले पानी र घाँसको प्रशस्त व्यवस्था गर्ने तयारीमा आफूहरु लागेको बताउनुभयो । खुला परिवेशमा खेलेको, खाएकोजस्तो थुनेको ठाउँमा सम्भव नहुने उहाँको भनाइ छ ।

कम्तीमा ५० वटा बनाएर बथानमा छोड्न सकेमा बच्न सक्ने उहाँले बताउनुभयो । कोशी टप्पुमा बाघ नभएको तर यहाँ बाघ भएकाले बच्नका लागि राम्रो बथान जरुरी रहेको रुपाखेती बताउनुहुन्छ । अहिले भएको ठाउँ उपयुक्त भए पनि सर्वयुक्त नभएको भन्दै राम्रो बनाउन आफूहरु लागि परेको बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १२ : १६ बजे

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय