८ बैशाख २०८१, शनिबार | April 20, 2024

निर्णायक मोडमा नेकपा विवाद : अँगेनोमा घिऊ थपिएपछि बालुवाटारमा चिसो पानी खन्याईदै



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद गत मंगलबारदेखि नाटकीय रुपमा चर्किए पछि वार कि पारको अवस्थामा पुगेको छ ।

वैचारिक सिद्धान्त र संगठन निर्माणबाट स्खलित सबै नेताहरु सत्ता स्वार्थ, सत्ता प्राप्तिका लागि सिनोको लुछार्ईंमा सामेल भएपछि पार्टी कुन ढंगले संकटग्रस्त अवस्थामा पुग्दोरहेछ भन्ने यतिबेलाका घटनाक्रमले प्रष्ट पारेका छन् ।

एकातिर प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीमा देखिएको अहंकार, उनका हुक्के बैठकेहरुबाट गरिएको तथाकथित देवत्वकरण छ । अर्कोतिर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा रहेको शिघ्र सत्ता प्राप्तिको दाउपेच एवं अस्थिरता तथा उनका निश्चित क्षेत्रका द्वारपालहरुबाट गरिएको घेराबन्दी सलह किरासरी बाक्लिँदो छ । बन्द कोठामा थुनिएको जस्तै माधवकुमार नेपाल र उनका सहयोगीहरुमा रहेको कुण्ठाले के गरौं कसो गरौं भएको छ । कुल योग नेकपा पार्टी भताभुंग छ ।

पार्टी रहोस या नरहोस वाल मतलव छैन । नेताहरुलाई आफ्ना अहंकार, इगो र कुण्ठा पुरा गर्नुछ । यहीबेला सपेराले विन बजाएको छ । तालमा कम्मर मर्काईंदै छ । नेकपा नामधारी पार्टीको वास्तविक चरित्रको प्रहसन बालुवाटार, खुमलटार र झम्सिखेलबाट जारी छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिले उनी संकटमा परेको प्रष्टै बुझिन्छ । अब उनीमाथि बहुमतको डण्डा बर्सिने निश्चित भएको छ । स्थायी कमिटी बैठकमा प्रष्ट अल्पमतमा रहेका ओलीलाई बहुमतले निर्देशित गर्दैछ । पार्टीभित्र अनेक सहमति गर्ने र ती सहमतिलाई रद्दीको टोकरीमा फाल्दिने नीति यतिबेला ओली स्वयंलाई घातक बन्दैछ ।

मंगलबार अहसज बनेको नेकपा स्थायी कमिटी बैठक बुधबार औपचारिकतामा मात्रै सीमित भयो । बुधबार बिहानै गुट भेला र बैठक गरेर आफुलाई सहयोग गर्न ओलीले आग्रह गरे बालुवाटारबाट । प्रतिकारमा ओली इतर नेताहरु ललितपुरको झम्सिखेलस्थित अँगेनोमा आगो बाल्न थाले । अँगेनोमा ओलीलाई परास्त बस्र्खात के के गर्नुपर्ने हो सबै थरी गर्नेगरी आगो बालियो । आगोमा थप घिउ थपियो ।

बिहान ओलीको गुट बैठकको प्रतिकारमा साँझ प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी नेताहरुले बैठक गरेपछि अब नेकपाको सत्तास्वार्थको लडाईं निर्णायक मोडतर्फ प्रवेश गर्दैछ ।

ओलीको कार्यशैलीप्रति एकजुट भएर अघि बढ्ने निर्णय गर्दै अँगेनो बैठक सकिएपछि प्रचण्ड–नेपाल गुटका नेताहरु प्रफुल्ल भएर घर फर्किए ।

त्यसो त, ओली पनि प्रतिरक्षाको रणनीति बनाउन खप्पिस नेता हुन् । आफ्नो स्वार्थ रक्षाका लागि जे पनि गर्न तयार ओली र उनको समुहले अब कस्तो रणनीति बनाउँछ, त्यसैका आधारमा नेकपाको भविष्य देखिने छ । प्रचण्ड–नेपाल गुट ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट जसरी पनि हटाउने भिष्म प्रतिज्ञा गरिसकेको छ ।

बिहीबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलाइएको छ । बैठकमा बोल्न बाँकी सदस्यहरुमध्ये प्रचण्ड–नेपाल गुटका नेताहरुले ओलीको राजीनामा माग्नेछन् । ओली समर्थक केही नेताहरुले ओलीको जमेरै प्रतिरक्षा गर्नेछन् । केही नेताहरुले सहमतिका लागि दुवै पक्षलाई मिल्नका लागि सुझाव दिनेछन् । तर, सहमति गर्न प्रयत्न गर्नेहरुको स्वर कमजोर हुनेछ । किनकी, झम्सिखेलको अँगेनोले डढलो लगाउने निर्णय गरिसकेको छ । बालुवाटारको बालुवामा चिसो पानी खन्याइएको छ ।

ओलीले सहजै छोडेनने भने स्थायी कमिटीले बहुमतको डण्डा लगाउनेछ । तर, पाटीृ एकता गर्ने बेलामा बनाइएको नेकपाको अन्तरिम विधानका केही त्यान्द्रा समातेर ओलीले दुई अध्यक्षको सहमति बिना गरिएको निर्णय मान्न बाध्य नहुने बताउन सक्नेछन् । त्यतिबेला उनीमाथि केन्द्रीय कमिटीको डण्डा बर्साउन प्रचण्ड–नेपाल गुट तयार हुनेछ ।

अर्कोतर्फ, ओलीले आफ्नो अन्तिम फायर संसदीय दलबाट खोल्ने सम्भावना कायमै रहनेछ । संसदीय दलको नेतामा ओली नै छन् । संविधान अनुसार संसदीय दलको नेता नहटाई ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गर्न प्रचण्ड–नेपाल गुटलाई सम्भव हुनेछैन । त्यतिबेला उनीहरुको पक्षमा रहेका सांसदहरुले ओलीमाथि सीधै अविश्वासको प्रस्ताव समेत दर्ता गर्नसक्नेछन् । नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहजै समर्थन गर्नेछ । ओलीको पक्षमा विश्वासको मत हासिल गर्ने अवस्था क्षिण हुनेछ ।

यो अप्रिय घटनाका लागि हरियो बत्तिको संकेत धेरैतिरबाट बलिसकेको छ । र, यही संकेतलाई ओलीले आइतबार सार्वजनिक गरेर फायर खोले । तर, त्यसको ब्याकफायर उनी आफैलाई भयो । आवेगमा आएर कुन समयमा के बोल्नुपर्छ भन्ने होस छोड्दा ओली संकटमा परेका छन् ।

नेकपाका नेताहरु तमसा देखाउँदैछन् । पार्टी एकता अक्षुण राख्न चाहने नेता कार्यकर्ताहरुको बोल्ती बन्द गराइएको छ । जिल्ला जिल्लाबाट नेतृत्वलाई पार्टी एकतालाई जीवित राख्न खबरदारी सुरु भएको छ ।

तर, अहंकार, घमण्ड, इगो र कुण्ठाले नेपालको सबैभन्दा शक्तिशाली पार्टीको धार दुई वर्षमै खिया लागेको छ । नेकपाको सम्भावित दुर्घटना नेकपाको जीवनका लागि त कोरोना भाइरस भन्दा पनि खतरनाक छँदैछ, नेपालकै भविष्यका लागि समेत अभिषाप बन्ने निश्चित छ । ढोल ठटाइदिए आफ्नो तालमा सधैं नेपाल र नेपाली नाच्छन् भन्ने पल्तिरको छिमेकीको मुर्झाएको सपना पुरा हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहिबार  ८ : ३० बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा