५ बैशाख २०८१, बुधबार | April 18, 2024

बाढीमा बगेर तीनजना बेपत्ता, तीनजनाको सकुशल उद्धार



सुदूरपश्चिम । गएरातिदेखि परिरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् ।

भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए । बाढीमा फसेका स्थानीय ४० वर्षीय बलबहादुर चौधरी, २८ वर्षीय बिक्की शाही र ३२ वर्षीय हेमन्त शाहीलाई प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

बेपत्ताको खोजी कार्य भइरहेको विष्टले बताए । वर्षासँगै स्थानीय काँडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकाका वडा नं २, ३, ५ र ८ का गरी ४५० घर डुबानमा पर्दा एक हजार ९७७ जना विस्थापित भएका छन् । डुबानका कारण घरभित्रको धनमाल भिजेर नष्ट भएको छ । विस्थापितलाई नजिकको सुरक्षित ठाउँमा राख्ने कार्य भइरहेको छ ।

‘मोटर बोड’सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बिहानैदेखि उद्धार गरिरहेको छ । कुलरिया खोला र पथरैया नदीको बाढीका कारण जानकी गाउँपालिकाको वडा नं १, २, ४, ५, ७ र ८ नराम्रोसँग प्रभावित भएकामा वडा नं ३ र ७ का झण्डै १०० परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । कतिपय कच्ची घरसमेत भत्किएर क्षति पुगेको भए पनि यसको यकीन विवरण आउन बाँकी छ ।

‘डुबानका कारण धेरै परिवारको घरभित्रको अन्न भिजाएको र भाँडाकुँडा बगाएर क्षति पुर्‍याएको छ’, अध्यक्ष चौधरीले भने, ‘विस्थापितलाई नजिकको विद्यालय र सेल्टर हाउस (डुबानबाट जोगिन बनाइएको घर) मा राखिएको छ ।’

यस्तै पथरैया र काँडा नदीमा आएको बाढीका कारण जोशीपुर गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का झण्डै दुई हजार ५०० घरपरिवार डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले बताए । घरमा पानी पसेपछि धेरै परिवारको धनमाल भिजेर क्षति पुगेको चौधरीले बताए ।

गाउँपालिकाको पुरानो भवनमा समेत पानी पसेपछि भवनमा राखिएको १९बोरा चामलसमेत नष्ट भएको जनाइएको छ । टीकापुर नगरपालिकाको ३, ७, ८ र ९ वडासमेत डुबानका कारण प्रभावित भएका छन् । सो क्षेत्रमा प्रभावित भएका परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरिरहेको छ ।

यसैबीच कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव आज मध्याह्नमा खतरा नजिक पुगेकामा अपराह्नपछि केही घटेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली) का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव १० दशमलव १० मिटर पुगेकामा अपराह्न घटेर १० दशमलव तीन मिटरमा आइपुगेको बताए ।

यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । कर्णाली नदीमा पानीको बहाव खतरा नजिक पुगेपछि बर्दिया र कैलाली जिल्लाको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन बिहान सूचना दिइएको थियो । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न खोलामा पनि बहाव बढेको छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमवाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जिल्लाको दक्षिणी सीमावर्ती गाउँ डुबान र कटानको जोखिममा पर्ने गरेका छन् ।

वर्षासँगै उत्तरबाट दक्षिणतर्फ बग्ने खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा समेत पानीको बहाव बढेको छ । अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिका कतिपय बस्ती र सडक जलमग्न हुँदा आवागमनमा असहज बनेको छ । वर्षाका कारण कैलाली जिल्लाको दक्षिणी क्षेत्रका अधिकांश भूभाग जलमग्न भएका छन् । रासस

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : १७ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर