१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आठ घण्टा लाइन बस्दा पनि कृषकले मल पाएनन्



दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरका सीता थापा मल आउने थाहा पाएपछि शुक्रबार बिहानै सार्वजनिक सवारी नचलेकाले हिँडेर दमौली आइन् ।

बिहान आठ बजेदेखि नै मल लिन लाइनमा बसेकी उनले दिउँसो ४ः३० बजे हुँदासम्म पनि मल पाउन सकिनन् । “मल पाइने आशमा दिनभर लाइनमा बस्यौँ, तर पाइएन,” उनले भनिन्, “मल सकिएको पनि होइन, मल छ तर भोलि आउनु भन्छन् ।” मल हुँदाहुँदै पनि ४ः३० बजे नै डिपो बन्द गरेर मल विक्री वितरण रोकेको उनले गुनासो गरिन्। उनले कसैले ३५/४० किलोसम्म मल पाएपनि कसैले भने रित्तो हात फर्कनुपरेको बताइन् ।

कलेस्तीकी पूजा कुमाल बिहान ९ः३० बजेदेखि मल लिन लाइनमा बसिन्। दिनभर लाइनमा बस्दा पनि उनले मल पाइनन्। “गाडी चलेको छैन, बिहानभर हिँडेरै दमौली आएर लाइनमा बसियो, तर बेलुका भएपछि भोलि आउनु भनेर पठाए,” कुमालले भनिन्, “भोलि पनि आएर पाउने निश्चित छैन ।”

केबल १० किलो मलका लागि दिनभर लाइनमा बस्नुपरेपनि नपाएको उनको गुनासो छ । “कोरोनाको जोखिममा भीडभाड गरेर लाइनमा बस्न कसलाई बाध्यता छ र,” कुमालले भनिन्, “धानमा मल हाल्न नपाएर धान कुहिन लागिसक्यो, तर मल खोज्दाखोज्दै हैरान भइयो ।”

उनलाई कोरोना भन्दा धान कुहिएला की भन्ने चिन्ता छ । “अलि अलि खेती गरेको धान मल हाल्न नपाएर कुहियो भने के खाने ?,” उनले प्रश्न गरिन् ।

कलेस्तीकै जौमाया कुमालले दिनभर भोकभोकै लाइनमा बसेपनि मल नपाएपछि रित्तै हात घर फर्कनुपरेको बताइन् । चिनेका मान्छेलाई जतिबेला पनि मल दिएको तर आफूहरुले भने नपाएको उनको गुनासो छ । साँगेका विवि राईले चाहिएको बेला मल नपाएपछि कृषि पेशाप्रति नै आकर्षण घट्न सक्ने बताए ।

“भन्नलाई कृषिप्रधान देश भनिन्छ तर चाहिएको बेला मल पाइँदैन, एक रोपनी क्षेत्रफलमा धान खेती गरेको छु । धेरै चोटी प्रयास गरे तर मल पाउन सकिन,” उनले भने । दमौलीस्थित नविन उपभोक्ता सहकारी मार्फत् मल बिक्री गर्ने दुई डिपोमा एक ट्रक मल आएको थियो । डिपोमा मल हुँदाहुँदै कृषकलाई वितरण नगरेपछि मलका लागि लाइनमा बसेका कृषकले शुक्रबार साँझ नै प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई भेटेर मल उपलब्ध गराइदिन माग गरे ।

प्रमुख जिल्ला अधिकारी आचार्यले साल्ट ट्रेडिङमार्फत् आएको मल बाँकी भएको भए कृषकलाई बिक्री गर्न सम्बन्धित डिपोलाई अनुरोध गरिएको जानकारी दिए । उनले भने, “सहजीकरण गर्न प्रहरीलाई निर्देशन दिएको छु ।” प्रमुख जिल्ला अधिकारी आचार्यको आश्वासनपछि पुनः डिपोमा पुगेका कृषकले मल पाएनन् ।

त्यसबीचमा डिपोका प्रतिनिधिहरु डिपो बन्द गरेर हिँडिसकेका थिए । नविन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष र प्रतिनिधिलाई सम्पर्क गर्न खोजेपनि फोन उठेन । रासस

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ७ : ४३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र