१० श्रावण २०८३, आइतबार | July 27, 2026

आजदेखी ‘जितिया पर्व’ सुरु



महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरू भएको छ ।

व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी भोलि (बिहीबार) बिहान चार बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि (शुक्रबार) बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका पवित्र सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै (आज) बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेल सहितका पदार्थ चढाउनु पर्छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।

त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरू ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ तर यसपल्ट ओंगठन खाने साइत छैन । यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले खानुपर्ने सबै खानेकुरा खाइसक्नुपर्छ र भोलि बिहान केहि खाँदैनन ।

प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ । त्यसपछि सुरू हुन्छ कठिन उपवासको क्रम । आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको जलेश्वरका पण्डित कालिकान्त झा बताउँछन् । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ ।

यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव रायले भने, ‘यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।’ पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एकपटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरू भएको पौराणिक कथन छ । रासस

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : ३१ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले