२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

भीरमौरीको मह बेचेर म्याग्दीको एक गाउमा ४० लाख आम्दानी



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा यो वर्ष भीरमौरीको मह विक्रीबाट रु ४० लाख भित्राएका छन् ।

कुइनेमङ्गलेका ३९ वटा साना–ठूला भीर पहरामा भीरमौरी पाइन्छ । ठूलो भीरमा एक सय घार, रुम भन्ने ठाउँमा ६०, जिर्जा भीरमा ५०, पन्थेडम्बार भीरमा ४० घार काटेर मह निकालेको मह ब्यापारी समेत रहेका स्थानीय चित्र छन्त्यालले बताए ।

ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरी खर्चिनुपर्ने उनले बताए । झण्डै १५ सयदेखि २५ सय मिटरको उचाइका पहाडमा यो वर्ष करिब दुई हजार लिटर मह निकालिएको उनको भनाइ छ । बजारमा भीरमह प्रतिलिटर रु दुई हजारमा विक्री भइरहेको उनले बताए ।

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथीबाट तल भुईंसम्म डोरी झुन्डाउँछन् भने भीरको तलपट्टी रहेका अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्छन् । मह निकाल्ने स्थानीय भाषामा भिरौटेलाई व्यापारीले दैनिक रु तीन हजार, मह तान्ने टाउकेलाई रु एक हजार आठ सय र मह छान्ने सिपालुलाई रु एक हजार पाँच सयसम्म ज्याला दिनुपर्ने छन्त्यालको भनाइ छ ।

अन्तर्राष्ट्रियस्तरमा भीरमहको माग उच्च छ । एक सिजनमा ज्याला, राजस्व र अन्य व्यवस्थापन गरी करिब रु २५ लाखभन्दा बढी खर्च हुन्छ भने मह विक्रि गरेर रु ४० लाखको हाराहारीमा आम्दानी भएको मह व्यापारीको भनाइ छ । ठूलो भीरमा १० र सानोमा ६ जनाको जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनीहरुले बताएका छन् ।

बस्तीबाट धेरै टाढा विश्वकै सातौं अग्लो धौलागिरी हिमालको फेद आसपासका क्षेत्रमा पछिल्लो समय भीरमौरीको बथान बढ्दै गएकाले उत्पादनमा वृद्धि भएको बताइएको छ । भरीमौरीको संरक्षणमा समेत विशेष ध्यान दिने गरेको पुराना भीरमह शिकारी रिबहादुर विकले बताए ।

वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा वेशी र शरदमा लेकमा पुगेर भीरमह निकाल्ने गरिन्छ । भीर मह काढ्दा परङमार्फत गएका शिकारीले गोलामा धुवाँ झोस्ने भएकाले थोरै गल्ती भएमा ज्यान पनि जान सक्ने हुन्छ ।

अनुमति लिएर भीर मह निकाल्नेहरुबाट वडा कार्यालयले राजस्व सङ्कलन गरी गाउँपालिकामा पठाउने गरेको वडाध्यक्ष गमन छन्त्यालले बताए । आकाशमा उड्ने चरो समेत बस्न नसक्ने ठाउँमा युवाहरु डोरीको सहायताले पुग्ने गरेको दृश्यले विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने उनको भनाइ छ ।

कुईनेमङ्गले वाहेक गूर्जा, लुलाङ, चिमखोला, दग्नाम, उत्तरी क्षेत्रमा दाना, शिख, हिस्तानको दोसल्लेलगायत स्थानमा भीर मह पाइन्छ । गुलियो र स्वादिलो हुने भीर मह विशेषगरी यौनवद्र्धक, शक्ति र हाडजोर्नीका रोगीका लागि अचुक औषधि मानिन्छ । रासस

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : १८ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज