८ बैशाख २०८१, शनिबार | April 20, 2024

अस्ताए आधुनिक चाउचाउ उद्योगका पिता



पोखरा । दक्षिण एसियामै पहिलोपल्ट नेपालमा आधुनिक चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गर्ने पोखराका प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी मोफसलबाट राष्ट्रियस्तरको छवि बनाउन सफल उद्योगी मात्र नभइ राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित नाम हो ।

केसीको सोमबार साँझ ६५ वर्षका उमेरमा निधनसँगै यहाँका व्यवसायी एवं राजनीतिककर्मीलगायतले चिन्ता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी ‘सीताराम’ एक कर्मठ र मेहनती तथा कुनै पनि अवसर आफ्नो हातबाट फुत्कन नदिने निकै चलाख दिमागको व्यक्ति रहेको बताउँछन् । “उनी निकै मेहनती थिए, कुनै पनि अवसरलाई आफ्नो हातबाट गुम्न दिँदैनथे । नयाँ कामप्रति संग्लग्न हुन उनको रुचि थियो, उनले पोखरामा आधुनिक चाउचाउ उद्योग सञ्चालन गरेर व्यवसायमा पनि आफूलाई सफल सावित गरे”, उनले भने । केसी एकै समयमा धेरै कुरा सोच्न सक्ने क्षमताका रुपमा आफूले पाएको उनको अनुभव छ । केसी तत्कालीन समयमा प्रधानपञ्च उत्तम पुनका गलत क्रियाकलापविरुद्ध अभियान सुरु गरेर राजनीतिमा आएको मुल्मी बताउँछन् ।

“केसीले उत्तम पुनविरुद्ध अभियान थाले, प्रधानपञ्चमा उम्मेदवारी प्रस्तुत गरेर जिते, त्यसपछि उनको राजनीतिमा प्रवेश भयो”, उनले भने । मुल्मीका अनुसार केसीले तत्कालीन समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पनि भई सक्रिय रहेर राजनीतिक छवि बनाएका थिए । सशस्त्र द्वन्द्वको समय २०५६/५७ मा पनि अनेक धम्कीपूर्ण चेतावनी उनले खप्नुपरेको थियो ।

विविध कठिनाइसँग जुध्दै उनी आक्रामक रुपमा राप्रपाको राजनीतिमा सक्रिय रहेका थिए । केसी पहिलो संविधानसभाको सदस्य बने र पछिल्लो कालखण्डमा राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बनेर प्रतिनिधिसभा सदस्य बनेका थिए ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराई केसीलाई एक सफल व्यवसायी, राजनीतिज्ञ एक अग्रज समाजसेवीका रुपमा आफूले चिनेको बताउँछिन् । भट्टराईले आफू निर्वाचित भएपछि उनले आफूलाई बधाई दिएको स्मरण गर्दै भनिन्, “पोखराको एक सफल र अग्रज व्यक्तित्व सूर्यबहादुर केसी दाजुलाई भेट्ने र उहाँका व्यावसायिक एवं राजनीतिक अनुभव सुन्ने इच्छा थियो तर त्यो अवसर नआउँदै उहाँको निधनको खबरले स्तब्ध बनायो ।” भट्टराईले कोरोनाका कारण पनि उनलाई भेट्ने अवसर गुमाएको बताइन् ।

केसीले रवीन्द्र अधिकारीलाई बेलाबेला फोन गर्ने र आफ्ना राजनीतिक अनुभव सुनाउने तथा राजनीतिमा अघि बढ्न प्रेरणा र हौसला प्रदान गर्ने गरेको स्मरण गरिन् । उनले पछिल्लो पटक महिला समितिको आयोजनामा आप्रावासी श्रमिक व्यवस्थापनका विषयमा भएको भर्चुअल कार्यक्रमा उनलाई देखेको र उनको स्वास्थ्यलाभ गरेको पनि बताइन् ।

राप्रपा कास्कीका अध्यक्ष डा महेन्द्रबहादुर कार्कीले केसीलाई प्रतिष्ठित उद्योगपति, समाजसेवी र अत्यन्त मिलनसार स्वभावका असल व्यक्तित्वका रुपमा आफूले लिने गरेको बताए । उनले भने, “राष्ट्रिय उद्योगपतिका रुपमा स्थापित केसी कास्कीको एक गहना हुनुहुन्थ्यो, पार्टीको स्थापनाकालदेखि उहाँकै मार्गनिर्देशनमा धेरै काम गरेको र अनुभव मसँग छ, उहाँ बहुआयामिक व्यक्तित्व हुनुहुथ्यो ।” कार्कीका अनुसार केसीमा विचार र आस्थाले कुनै एक पार्टीको जिम्मेवारीमा भए पनि महिल, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैको हितमा सोच्ने र सहयोगका लागि तत्पर हुने सामाजिक भावनाको एक विशेष गुण थियो । केसीका तीन छोरा प्रकाश, किरण र रोशन केसी छन् । परिवारका अनुसार उनको केही वर्षअघि दिल्लीमा मिर्गौलाको उपचार गरिएको थियो भने मधुमेह र उच्च रक्तचापको रोग थियो ।

पोखरामा उद्योगको स्थापना

सूर्यबहादुर आफ्ना पिता कीर्तिबहादुरबाट व्यवसाय क्षेत्रमा प्रभावित भएका थिए । उनका पिताले स्याङ्जा र पोखराका बाटाको निर्माणको जिम्मा लिएका थिए । पोखराको फेवातालको बाँध निर्माणदेखि लिएर सडक र भवनको काम पनि उनले गरेका थिए । यसैको प्रभाव र अनुभव केसीले बटुल्दै गएका थिए ।

केसीले पोखरामा आधुनिक चाउचाउ उद्योग खोल्नका लागि साझेदारीसमेत गरेका थिए । गण्डकी नुडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरेका व्यवसायी फणीन्द्रमान श्रेष्ठ र कृष्ण आचार्यको समूहसँगको साझेदारीमा विसं २०३९ असारमा रारा चाउचाउ उत्पादन सुरु गरिएको थियो । गण्डकी नुडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत उत्पादन हुन थालेको थियो ।

विसं २०३० मा केसी कन्स्ट्रक्सन नामकरण गरेर निर्माण व्यवसायको यात्रालाई गति प्रदान गरे । केसीले यससँगै जलविद्युत्, निर्माण व्यवसाय, हाउजिङ, बैंक र हस्पिटालिटी क्षेत्रलाई पनि स्थापित गराउन सफल भए ।

केसी समूहअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ, नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । केसी ग्रुपको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा पनि लगानी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाबाहेक केसी ग्रुपअन्तर्गतका कम्पनी र उद्योगमा करिब एक हजारभन्दा बढीले रोजगारी पाएका छन् । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : ३६ बजे

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर