२४ बैशाख २०८१, सोमबार | May 6, 2024

समयको उल्टो चक्र



अणु,अणु मिलेर परमाणु बने जस्तै, पुरुष,नारी मिलेर दम्पत्तिरुपी सिङ्गो जीवन हुँदै परिवार,समाज हुँदै राष्ट्र । साठीपछि एक भएर थपिने सेकेण्ड, मिनेट, घण्टा हुँदै दिन,रात,गते,महिना,बर्ष हुँदै संसार सागरमा अबिरल घुमिरहने समयको सुल्टो चक्र , सृष्टि–स्थिति, लय–प्रलय, प्रकृतिको विधि ।

कथाकार

उज्याली,–अँध्यारी,उकाली–ओराली,सुख–दुःख,शान्ति–अशान्ति,हाँसो–रोदन,,प्राप्ती–रिक्तता हुँदै समाप्ती मानिसको जीवन चक्र ।

नारी–पुरुष,जगत र जीवनको सृष्टि र स्थिति कर्ता । वैवाहिक सम्बन्ध–पराधीन र स्वाधीन, अर्थात जाने र ल्याउने मानव निर्मित सांस्कारिक प्रकृया । विवाह भएपछि नारी, पुरुषको घरमा प्रबेष हुने सांस्कारिक रीति । बलशाली मानिएको पुरुषले आपूmमा जीवन समर्पित नारीलाई जीवनको अभिन्न अङ्ग मानेर आजीवन साथीको रुपमा अङ्गिकार गर्ने, पारस्परिक प्रेम,श्रद्धा,आत्मिक समन्वयद्वारा आह्लादित, आनन्दमय जीवन व्यतीत गर्नुपर्ने सांस्कारिक पौरुष कर्तव्य ।
०००
मध्यम परिवारकी ठकुरीकी छोरी सुस्मृति सिंह पढाईमा मध्यम बाटोबाट उक्लिदै स्नातकोत्तरको छतमा खेल्दै थिई । उमेरले भर्खर बीसको सिंढी पार गरेकी उसलाई उसको बाबु बिष्णुबहादुर सिंहले स्वनिर्भरताको जगमा उभ्याउन शाखा अधिकृतको लोकसेवा परीक्षा दिन लगाए । शायद छोरीको क्षमता परीक्षण पनि थियो,उनको । दह्रो खुट्टा भएकी सुस्मृतिले शाखा अधिकृत परीक्षा सहजै उतिर्ण गरेर लोकसेवाबाट आफूलाई शाखा अधिकृत पद सुरक्षित बनाईछोडी । अर्थात सफल भई । अब बिष्णु सिंह दम्पत्तिलाई यही खुशियाली पश्चात छोरीलाई सांसारिक रीति अनुसार कन्यादानको हतारो भैरहेको थियो । तर उनलाई छोरीको सुखमय भविष्य भन्दा तल ओर्लेर जातको ढोङ्ग फुक्नु पनि थियो, उच्चस्तरको कुटुम्ब ठकुरी खानदान । त्यसैले छोरीको स्वबर छनोट आकांक्षामा सांस्कारिक दम्भको बादलले छेक्यो र अभिभावकको स्वेच्छा हाबी भएपछि सुस्मृतिको सपना, भविष्य र अधिकार गुन्द्रुक भयो ।

दैलेखी बाबु आमाको महत्वाकांक्षा छनोटमा प¥यो, काठमाण्डौंको कुलीन राणा राजखानदान पुत्र भनिने झण्डै चालीस बर्षे बिदुर डिल्लीशम्शेर राणा । ऊ शिक्षामा सामान्य भए पनि आडम्बरमा दह्रो थियो । नैतिक र विवेकतामा कमजोर भए पनि दमन,स्वेच्छाचारिता र उद्दण्डतामा साहसी थियो । काम,पौरखतामा कमजोर भए तापनि शासकीय हैकममा बलिष्ट थियो । घर दरबार भए पनि भित्रभित्र धमिरा लागिरहेको थियो ।

सुस्मृतिको विहे, उसको छनोटबाट फुत्किएर अभिमानी संस्कारको पोल्टामा परेपछि डिल्लीशम्शेर राणासंग सुनिश्चित भयो । निर्धारित तिथी मितिमा काठमाडौंकै तारे होटलमा श्रृङ्गारित भव्य मण्डपमा भव्य तयारीका साथ बैवाहिक कार्य सुसम्पन्न भयो ।

हरेक कार्यको परिक्रमा बायाँबाट दायाँ घुमेर हुने स्थिति विधि अनुसार उसको वैवाहिक औपचारिकता पनि लगन गाँठोमा कस्सिएर दुलाहाको अघिअघि दायाँ घुमेर भयो । यो सुल्टो चक्र थियो । तर परोक्षताको पर्दा पछाडि चियाउँदा त्यही दिनदेखि उसको जिन्दगी उल्टो चक्रमा घुमेको दृश्य समयले हेरिरहेको थियो । गिज्याइरहेको थियो,दैलेखी बिष्णुबहादुर सिंह ठकुरीको ढोङ्गलाई ।

“नौलो गाईलाई नौ पुला घाँस”भने जस्तै केही दिन एक दुई सप्ताहसम्म सुस्मृतिको

जिन्दगीमा शिशिरको रमाइलो तापिलो घाम लागेको अनुभूति भएको थियो । त्यसपछिका दिनहरुमा बादल लाग्न शुरुभयो,क्रमशः । ढाकिएको पर्दाभित्रको रहस्य खुल्दै आयो । डिल्लीशम्शेरकी पहिली पत्नी उसको दुष्कृत्याईँ उजागर भएपछि विहेको चार महिनामै उसले आत्महत्या गरेकी रहिछ । आफनो पतिले आफनै नजिककी बहिनी नाता पर्नेसंग रासलीला गर्ने गरेको पाशविक कृत्य गाउँभरि छताछुल्ल भएर पोखिएपछि । उसको खानदानमा यस्ता कृत्यहरु सामान्य भए पनि अरु समाज, वर्गको लागि घोर आपत्तिजनक थियो ।

विचरी स्वर्गीय कमला शाहीले उता जन्म घर छोड्दा माइतिले भनेका रहेछन् “इज्जतसाथ घर धानेर पतिको सेवामा रत भएस् छोरी, अन्यथा हाम्रो खानदानी इज्जतमा दाग लाग्नेछ”।

गाउँलेहरु सोझो आँखाले डिल्लीशम्सेरलाई नहेरे पनि बाङ्गो दृष्टिले परोक्षमा थुक्दै धारे हात लाउँदा रहेछन्, “थुइअ पापी”भनेर । त्यो दृश्य एकदिन कमलाले देखेर बुझ्दै जाँदा रहस्य उदाङ्गिएपछि कमलाको भावनामा नराम्रोसंग ठेस लागेछ । विहाघर छोडेमा माइतिको इज्जतको प्रश्न । नछोडौं त गाउँभरि गन्धाएको सिनो कति बोक्ने । दिमागी तन्तुमा हलचल मच्चिएपछि घर गरीखाने दर्बिलो अठोटबाट विचलित भएर मृत्युवरण रोजीछ ।
०००
त्यसपछि अभागी पत्नी हुन आएकी सुस्मृति, डिल्लीशम्शेरको घरमा भित्रिँदा पुरानो घटनामा गौँतले अभिषेक गरेर शुद्धशान्ति भैसकेको रहेछ । प्रारम्भ कालमा घरमा देखिएका एकादुई जना नोकरहरु, केही दिनको लागि भाडामा राखिएको रहेछ । उनीहरु पनि म्याद सकिएपछि बाहिरिए ।

उसको पति डिल्लीको मूख्य पेशा जुररर (जुवा,रक्सी,रण्डीवाजी र रवाफ) थियो, जहाँ उसको अधिकांश समय व्यतीत हुन्थ्यो । सुस्मृतिको विवाहको करीब डेढ महिनापछि सुगर,प्रेसर रोगी ससुरा झलकशम्सेर राणा औषधी सेवन गरेपनि रोगले उनको ऐयासीलाई जितेको कारण सोही व्यथाले उनको देहान्त भयो । उनी सेनाको अवकाश प्राप्त जर्नेल थिए,पेन्सनहोल्डर । राणाको छोरो भएकै आधारमा सेकेण्ड लेफ्टीनेन्टदेखि जर्नेल पदमा पुग्दासम्म तालिम आदिमा कुनै कष्ट सहन परेको थिएन रे । छोरालाई पनि सहायक सेनानी दर्जामा त्यहीँ भिडाइदिने चाहना राख्दा उसले एसएलसीको डाँडो कहिल्यै कटाउन नसकेकोले इच्छामा बिर्को लाउनु परेको थियो रे उनले ।

पुर्खाहरु सत्तामा छँदा झरुवा क्लासका राणाजीको नाताले भागमा पाएको सम्पत्ति ऐयासीको चरणबाट खिइदै स्खलित हुँदै गर्दा डिल्लीको पालामा आइपुग्दा आवरण बाँकी देखिने कोत्रिएको दरबार थिथो । त्यसैलाई पनि डिल्लीले ठाउँ ठाउँमा देखाएर जुवाको दाउ र रक्सीको भाउमा उधारो थाप्दा थाप्दा भित्रभित्र बच्चाले खाएर खोक्रिएको गङ्गटा जस्तो भएको थियो,उसको दरबार ।
पतिको भित्री बाहिरी रुप ज्ञात भए पनि माइतीको इज्जत र आफनो चरित्र शब्दलाई साक्षी राखेर सुस्मृतिले जिन्दगी लतारिरहेकी थिई, डिल्लीको स्तम्भ बनेर ।

ऊ प्रभातको उदयचलदेखि दश बजेसम्म कुशल गृहिणीको भूमिकामा कर्तव्य निर्वाह गर्थी भने दश बजेपश्चात कुशल अधिकृत कर्मचारीको भूमिकामा ।

डिल्लीशम्शेर बाहिरदेखि चर्दै आएर घरमा सजल भुजा ज्युनार भएर बेलुकी राती एघार बाह्र बजे सुतेर विहान आठ नौ बजे उठ्थ्यो । उठ्न वित्तिकै उसलाई बेड टीको सट्टा बेडड्रिङक्स चाहिन्थ्यो । पत्नी सुस्मृति भन्थी–“यो बेला बेड टीको समय हैन र राजा ?”

पति भन्थ्यो–“मेरो हुकुम । लोग्नेको हुकुम पालना गर्ने स्वास्नीको कर्तव्य । बढी कुरा गरेको मलाई मन पर्दैन ।” बुहारीको सुझाव उपयुक्त लागे तापनि आमा रानीसाहेव ललिता राज्यलक्ष्मीको सहिष्णुतामा डिल्लीको अराजकता चुलिरहेको थियो । कारण, तीन छोरी पछिको एक मात्र छोरो भएकोले उसलाई उसका स्वर्गीय बाबु झलक सम्शेरले एक वचन ठूलो स्वरमा न कहिल्यै आफूले बोले, न अरु कसैलाई बोल्न दिए ।

लोग्नेको रवाफसंग सुस्मृति जागिरे सिपाही जस्ती थिई,अनुशासनको डोरीले खुम्चिएको । रात्रीकालीन भोग बाहेक अन्य समय हाकिम र सिपाहीको जस्तो दूरी थियो,उनीहरुको ।

संस्कारलाई अगाँलो मार्दै लोग्नेलाई बहुव्यञ्जन भुजा ज्युनार गराएर, बचेको पूरामा थपथाप गरी खाना खाएर, भाँडा माझेर समयको पावन्दी र लोग्नेको अनुमतिमा बाँधिएकी ऊ हतार गर्दै स्कुटीमा अफिस जानु, अफिस टाइम सकिनवित्तिकै हतारै गरेर घर आउनु, महिना सकिएपछि तलब बुझेर ल्याउनु । अनि आगामी दिनको लागि चाहिने घरखर्च टार्नुका साथै लोग्नेले बोकाएको ऋणको खाल्टो पुर्नु पनि उसको नियति थियो ।

नित्य बिहान उठेर घरदेखि लुगासम्म, किचनदेखि चित्तसम्मको सफाई र आगन्तुकहरुको मन सफाई गरेर गृहिणीको दायित्व निवारण गर्नु उसको जीवनमा आइपरेको जिम्मेवारी थियो । बिहानको खाना पश्चात घरमा आमाछोरा मात्र हुन्थे । डिल्ली दुई घण्टा सुतेर द्यूत अड्डातिर हाजिर हुन जान्थ्यो । त्यसपछि रवाफिलो गन्ध छोड्दै सुरा र सुन्दरीको अखाडा धाउनु उसको दैनिकी थियो । स्वास्नीको कार्यालय छुट्टीको दिनमा कहिलेकाँही घरमै उसको द्यूत बैठक संचालन गरेर शाखा अधिकृत सुस्मृतिलाई पाहुनाहरुको विविध सेवा थोपथ्र्यो ।

लोग्नेलाई बेड ड्रिङ्क देखि बिहान बेलुकीको भुजासंग अलिकति हार्डड्रिङ्क र मासु अनिवार्यता थियो । अन्यथा उसको रौद्रता उम्लियो भने अनिष्ट पनि हुनसक्यो, विगतको गतिविधि झै । यी सबै गरी लोग्नेको अमनचयन र घर खर्च समेत गरी सुस्मृतिको शाखा अधिकृतको तलब महिनावारी नै हुन्थ्यो ।

यसरी समाजले भिराएको,सांस्कारिक बन्धन, नारी हुनाको अभिसाप सुस्मृतिको भोगाई थियो, पुरुष शोषणको पराकाष्ठा ।

कार्यालय समयमा अन्तरङ साथीसंंग विरह पोख्दै सुस्मृति भन्थी– मेरो जिन्दगी यसरी पहाडबाट रेल्लिदै रेल्लिदै कहाँ पुग्यो ? यो मैले सपनामा पनि दखेकी थिइन, कल्पनाको त कुरै छोडौं । मृत्युका छायाँले पनि बिथोल्न नसक्ने यस्तो अन्योन्याश्रित पति पत्नी सम्बन्धको महत्व नबुझ्ने यस्तो अभिमानी,स्वेच्छाचारी पाशविकसंग मेरो विवाह हुन पुगेछ, जात र खानदानको ढोङ्गमा मेरो भावना र अधिकार लिलाम भयो उर्मिला, यस्तै रहेछ जिन्दगी । यही “यस्तै रहेछ”मा मैले खुम्चिएर बस्नु परिरहेकोछ ।

“नारी पुरुष एक रथको दुई पांग्रा” भन्ने पूर्वीय दार्शनिकहरुको भनाईलाई अधिकांश सुसांस्कारिक,सभ्य समाजबाट पालना र व्यवहार भएका कुराहरु, बेलाबेलामा समाजमा छरिएका मार्मिक भावहरु मेरो वाह्य अनुभवमा मैले समेटेकी थिएँ । निश्चय नै पति–पत्नी दुबैको आत्मीय सहअस्तित्व,संहकर्म,बुद्धि,विवेकले रथ सन्तुलित रुपमा अगाडि बढ्ने हो,बढ्नु पर्ने हो । रथको सारथी आत्मा हो । यदी आत्मा डगमगाएर रथ असन्तुलित भएको खण्डमा दुर्घटना हुने कुरा अवश्यम्भावी हो । अझ पूर्वीय साहित्यहरुले ,“यत्र रमते नारी,पूज्येते तत्र देवता”भनेर नारीलाई सम्मान पनि गरिएको छ र सभ्य र सुसाँस्कारिक समाजबाट यसको अनुसरण पनि हुने गरेको छ । तर अहंकार र अभिमानले छोपेको अज्ञानी संस्कारबाट जन्मे,हुर्केको मानव रुपी कुनै कुनै मानव फल अतिशय तीतो र दुर्गन्धित हुँदा रहेछन् । अनि मानवताको उच्च अस्तित्व, स्वविवेक र स्वाधिकारलाई जातसंग भजाउन खोज्ने अभिमानी संस्कारको मातमा भुलेका ढोङ्गी मान्छेहरुबाट म पीडित भएँ । । अरुका लोग्नेले स्वास्नी पाल्छन, तर मैले लोग्ने पाल्नु परेकोछ, अझ अपजसै अपजसको मानसिक पीडा सहेर । समयले मेरो जिन्दगीलाई उल्टो चक्रबाट घुमायो ।

हेर उर्मिला बहिनी, कुनै जात र धनसम्पत्ति खानदान भन्दा माथि मानिसको नैतिकता,सदाचार, विवेक र स्वतन्त्रता प्रमुख हुन्छ । यी गुणहरु नभएको मानिस मात्र हैन,शिक्षा पनि भुत्ते हुन्छ । यो मेरो अध्ययन र अनुभवका गाथा भित्रको अंश हो ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : १४ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र