४ चैत्र २०८२, बुधबार | March 18, 2026

भोजपुरमा तीतेपातीको व्यावसायिक खेती शुरु



भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको शुरुआत गरिएको छ ।

थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदुयोग गर्ने लक्ष्यका साथ यसको खेती शुरुआत गरिएको हो ।

अरुण गाउँपालिका-४ चरम्वी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेती शुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको शुरुआत गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर करिब दुई रोपनी क्षेत्रफलमा करिब आठ हजार तीतेपातीको खेती शुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक झिलबहादुर राईले जानकारी दिए ।

तीतेपातीलाई प्रत्येक १५ देखि २० दिनमा सङ्कलन गर्न सकिने कृषक राईले बताए । कच्चा पदार्थको रूपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा बिक्री हुने उनको भनाइ छ । कृषक राईले भने, ‘हामीले गत भदौ महिनाबाट व्यावसायिक खेती शुरु गरेका छौँ, हामीले आठ हजार बिरुवा लगाएका छौँ, कच्चा पदार्थ प्रतिकेजी रु ५० देखि ६० सम्ममा बिक्री हुन्छ ।’

डिभिजन वन कार्यालय भोजपुरले जिल्लामा यसको विस्तारका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बाँदरलगायत अन्य वन्यजन्तुको कारण स्थानीय बसाइँ सर्दा धेरै जमिन बाँझिदै गएकाले तीतेपाती खेतीलाई विस्तार गर्न सके स्थानीयवासीको आर्थिक विकासमा टेवा पुग्ने कार्यालयको भनाइ छ ।

यसको सम्भावनाको विषयमा थप अध्ययन, अनुसन्धान गर्ने र राम्रो हुने देखिएमा पकेट क्षेत्र बनाएर वैकल्पिक खेतीको रूपमा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए । प्रमुख घिमिरेले भने, ‘दुई युवाले तीतेपातीको व्यावसायिक खेती थाल्नुभएको रहेछ, आज हामीले यसको अनुगमन गरेका छौँ, अब यसको उत्पादन तथा बजारीकरण हेरेपश्चात अन्य ठाउँमा पनि पकेट क्षेत्र बनाएर विस्तार गर्ने हाम्रो योजना छ, जसले बाँझो जमिनलाई आयमूलक बनाउन सहयोग पुग्ने छ ।’

बाँदरलगायत अन्य समस्याका कारण धेरै जमिन खेर गएको अवस्थामा तीतेपाती वैकल्पिक खेती हुनसक्नेमा स्थानीयवासी आशावादी देखिएका छन् । जिल्लामा पहिलोपटक खेती शुरु भएकाले आफू पनि यसको खेतीमा लाग्ने तयारीमा रहेको स्थानीय इन्द्रबहादुर कार्कीले बताए ।

कार्कीले भने, ‘तितेपातीको खेती भइरहेको ठाउँमा गएर मैले पनि अनुगमन गरेँ, यसको लगाउने तरिका तथा अन्य प्राविधिक ज्ञानको विषयमा पनि जानकारी लिएँ, वन कार्यालयले पनि चासो लिएकाले मैले पनि खेती विस्तार गर्ने तयारी गरेको छु, वास्तवमा यसले बाँझो जमिनलाई प्रयोगमा ल्याउने देखियो, एकदम उपयोगी पनि लाग्यो ।’

धेरै मानिसहरु अन्यत्र जाँदा खेतीयोग्य जमिन बाँझिदै गएकाले यसको विस्तारमा सहयोग गर्ने वडा कार्यालयले जनाएको छ । तीतेपाती खेतीलाई राम्रो ढङ्गले आयआर्जनमा जोड्न सके बाँझो जमिनसमेत प्रयोगमा आउने कार्यालयको भनाइ छ । नमूनाको रूपमा खेती शुरु भएकाले यसको उत्पादन तथा बजारलाई हेरेर अन्य कृषकलाई समेत प्रोत्साहन गर्ने वडाध्यक्ष प्रेमकुमार राईले बताए ।

उनले भने, ‘विज्ञहरुको कुरा सुन्दा तीतेपाती खेतीको राम्रो सम्भावना देखियो, धेरै लगानी पनि नचाहिने, खेर गइरहेका जमिनलाई प्रयोगमा ल्याउन सकिने भएकाले आगामी दिनमा यसको विस्तारमा कार्यालयको तर्फबाट पनि योजनावद्धरूपमा काम गछौँ ।’

तीतेपातीलाई बाँदरले समेत क्षति नगर्ने तथा आम्दानी लिन सकिने भएपछि वैकल्पिक खेतीको रुपमा विस्तार गर्न सके यसले स्थानीयवासीसँगै राज्यलाई समेत टेवा पुग्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् । रासस

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ४३ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको