१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कुर्था-जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा, प्रधानमन्त्री ओली र मोदीले उद्घाटन गर्ने



काठमाडौं । सरकारले कुर्था-जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरुपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, “त्यसमा रेल चालक, स्टेसन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।”

भारतसँगको सम्झौताको विषय आजको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । आज नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उनले बताए ।

कम्पनीसँग खरिद गर्ने सामग्री र जनशक्तिका विषमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उनले भने, “यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।” नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने तयारी छ । उनले भने, “प्रशासनसँग कुराकानी भइसकेको छ ।”

रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ । उनी भौतिकरुपमा वा भर्चुअल उपस्थित हुने भन्ने टुङ्गो नभएको भट्टराईले बताए । उनले भने, “दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।”

भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर खरिद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उनले भने, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”

सेवा सुरु गर्न आजको मन्त्रिपरिषद्को बैठकले सहज बनाइदिने अपेक्षा गरिएको छ । कम्पनीले अहिले नेपाली कामदारलाई एक साताको तालीम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनकाअनुसार रेलको महत्व बुझाएर कुनकुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ । तत्काल काम सुरु गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । उनले भने, “अबको दुईदेखि तीन हप्ताभित्र नियमित सञ्चालनको काम सकिन्छ ।”

रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ । उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा एक हजार २ सयदेखि एक हजार ३ सय जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो ।

अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १ : १८ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति