८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रतिनिधिसभा विघटन : खर्चिलो बन्दैछ आन्दोलन र समर्थन



चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम खर्चिला बन्दै गएका छन् । ठूला सभा सम्मेलनमा कार्यकर्ता उतार्नका लागि ठूलो खर्च हुने गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्ष, ओली पक्ष र नेपाली कांग्रेसले जिल्ला, प्रदेश र केन्द्रस्तरका विरोध र समर्थनका कार्यक्रम गरिरहेका छन् । ती कार्यक्रममा टाढाटाढाबाट कार्यकर्ता ओसार्न, स्टेज तयार गर्न, झण्डा बनाउन, माइक, पानी, स्टेशनरी, खाना, प्रचारप्रसारलगायतमा ठूलो खर्च भैरहेको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारले बुधबार काठमाडौंमा भएको विरोधसभामा २०० वटा ठूला बस र ठूलै सङ्ख्याका साना गाडीमा कार्यकर्ता गएको बताएका छन्। यसअघि माघ ९ गते ८० वटा बस र पुस १४ गते ४९ वटा बस कार्यकर्ता बोकेर काठमाडौं गएको परियार बताउँछन् । यी कार्यक्रममा साना गाडी पनि ठूलो सङ्ख्यामा गएका थिए । एउटा बसले चितवनदेखि काठमाडौँसम्म जाँदा आउँदा २५ हजार हाराहारी भाडा लिने गर्दछन् । नेता कार्यकर्तालाई बाटोमा खाजा, खाना, पानी पनि ठूलै खर्च हुने गर्दछ । यस्तै झण्डा र ब्यानरमा पनि खर्च हुने गरेको छ । परियारले पार्टीभित्रकै नेता कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर खर्च जुटाउने गरेको बताए । उनका अनुसार कतिपय कार्यकर्ता आफैँले खर्चको व्यवस्थापन गर्ने गरेका छन् ।

नेकपा ओली पक्षले चितवन जिल्लामा माघ १७ गते प्रधानमन्त्री ओलीको उपस्थितिमा सभा आयोजना गर्यो । सो सभामा १०० हाराहारी बसले जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ता ओसारेका थिए । सोही पक्षले माघ २३ गते काठमाडौंमा चितवनबाटै ठूलो सङ्ख्यामा कार्यकर्ता लगेको थियो । भरतपुर महानगरपालिका–११ बाट मात्रै चार वटा बसमा कार्यकर्ता लगेको स्थानीय नेता ईश्वरी पण्डितले जानकारी दिए । जिल्लाका सात पालिकामा ९८ वटा वडा छन् । ती सबै वडाबाट धेरथोर कार्यकर्ता सभामा गएका थिए । पण्डितका अनुसार एउटा बसलाई २१ हजारका दरले आवतजावत भाडा बुझाइएको थियो । कार्यकर्ता कतिपयले आफ्नै खर्चमा खाजा खाना खाए पनि केहीलाई भने खाना खाजाको व्यवस्था गरिएको थियो । सो पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला पार्टी कार्यालय संयोजक पार्वती रावल जिल्लाबाट काठमाडौं कति सवारी गए भन्ने यकिन सङ्ख्या आइनसकेको बताउँछन् ।

यस्तै नेपाली कांग्रेस चितवनले यस बीचमा वडादेखि जिल्ला तहसम्मका विभिन्न विरोध कार्यक्रम गरेको छ । सभापति जीतनारायण श्रेष्ठका अनुसार मङ्सिर २९ गते जिल्ला तहको, पुस १३ गते क्षेत्रीयस्तरको, पुस २५ गते प्रदेशस्तरको, माघ ३ गते नगरस्तरको र माघ ८ गते वडास्तरको विरोध कार्यक्रम सम्पन्न भइसकेका छन् । फागुन ३ गतेको विरोधसभाको तयारीमा रहेको उनले जानकारी दिए । ती सबै कार्यक्रममा झण्डा, माइकिङ, अन्य प्रचारप्रसार, स्टेजलगायतमा निकै खर्च हुने गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार जिल्लास्तरमा एउटा कार्यक्रम गर्दा रु एक लाखदेखि दुई लाखसम्म खर्च हुने गरेको छ । यस्ता कार्यक्रममा वडास्तरबाट सहयोग जुटाएर कार्यकर्ता बसमा समेत ल्याउने गरिएको छ ।

खर्चको लेखाजोखा नहुने भए पनि निकै खर्चिलो हुने गरेको नेता बताउँछन् । सबै पक्षले निकट उद्योगी व्यवसायीसँग सहयोग जुटाउने गरेका छन् । बाहिर चन्दा नउठाइएको भए पनि आन्तरिकरूपमा खर्चको व्यवस्थापन भने गरिरहेका छन् । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ संस्थागतरूपमा चन्दा नमागेको बताउँछन् ।

उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले पार्टी निकट उद्योगी व्यवसायीसँग स्वेच्छिक चन्दा मागेको बताए । उनले भने, “म निकटको पार्टीले सहयोग गर्नुपर्यो भनेका छन्, मेरो भागमा कति पर्छ दिन्छु भनेको छु । सबैको यस्तै हो ।” हेर्दा सामान्य लाग्ने भए पनि यस्ता कार्यक्रममा लाखौँ रुपैयाँ खर्च भइरहेको छ । खर्च व्यवस्थापन गर्ने जिल्लाका नेतालाई धौधौ पर्ने गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ९ : १९ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको