१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

‘रेमिट्यान्स दुरूपयोग’ले बढाउँदै सम्बन्धविच्छेद



बागलुङ । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ ।

पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला र पुरुष दुवैले सम्बन्धविच्छेद गर्ने क्रम बढेको अदालतले जनाएको छ ।

जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०७७/०७८ को सात महिनासम्म ११६ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए । कोरोना भयावहका कारण लामो समय अदालती सेवा बन्द हुँदा पनि यस वर्ष ११६ सम्बन्धविच्छेदका मुद्दा परेको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्धविच्छेदका १८६ मुद्दा दर्ता भएका थिए । यो आवमा गत वर्ष सरी आएकोे महिलाबाट दर्ता भएका ३२ र पुरुषबाट दर्ता भएका ४० गरी ७६ सम्बन्धविच्छेदका घटनामध्ये पुरुषद्वारा दर्ता गरिएका २२ र महिलाबाट दर्ता गरिएका १८ गरी ४० मुद्दा फछ्र्योट गरिएको छ । चालीस सम्बन्धविच्छेदका घटनामा अझै फैसला हुन बाँकी छ ।

यो आवको फागुन १८ गतेसम्म दर्ता भएका सम्बन्धविच्छेदका ११६ मुद्दामध्ये महिलाबाट ९४ मुद्दा दर्ता भएका छन् भने पुरुषबाट २२ मुद्दा दर्ता भएका छन् । तीमध्ये महिलाले दर्ता गरेका ६८ मुद्दामा मिलापत्र गरिएको छ भने पुरुषले दर्ता गरेका आठ मुद्दामा मिलापत्र गरिएको छ । चालीस मुद्दा फैसला हुन बाँकी रहेको स्रेस्तेदार भण्डारीको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो सामाजिक सञ्जालको प्रयोग, महिलामा हिंसा, अन्याय सहनु हुन्न भन्ने सोच, चेतना र जागरणको विकास भएकाले सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेले बताए। “युवा विवाह गरेर विदेश जान्छन्, श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ, उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन्, सामाजिक सञ्जालका कारण श्रीमान्श्रीमतीमा आशङ्का पैदा हुन्छ, चरित्रको आरोप लाग्छ”, उनले भने, “यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे, अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन्, यसमा चारित्रिक विषयका साथै रेमिट्यान्सको विषय मुख्य देखिन्छ, विदेशबाट पठाएको पैसा कहाँ गयो ? भनेर सोधखोज गर्दा धेरै जोडीमा विवाद बढेर सम्बन्धविच्छेदमा पुगेको पाएका छौँ ।” उनले विवाह भनेको आपसी बुझाइ र सहमतिसहितको सम्बन्ध भएकाले पुरुष र महिला दुवै जिम्मेवार बन्नुपर्ने बताए ।

यस्तै चालु आवको हालसम्म जिल्ला अदालत बागलुङमा ज्यान मुद्दासम्बन्धी आठ, बहुविवाह पाँच, जबर्जस्ती करणीसम्बन्धी १७, लागुऔषधसम्बन्धी पाँच, चोरीसम्बन्धी नौ, आत्महत्या दुरुत्साहनसम्बन्धी दुई, बाल यौन दुरुपयोगसम्बन्धी दुई, अपहरण गरी बन्धकसम्बन्धी दुई, पशुपक्षीको कसुर छ, बोक्सी आरोपसम्बन्धी एक, विवाह बदर एक, बालविवाह एक, सङ्गठित ठगी एक, हातहतियारसम्बन्धी १०, करारको यथावत परिपालन एक, झुठो विवरण पेश गरी नागरिकता लिएको एक र घरेलु हिंसासम्बन्धी आठ मुद्दा परेको जिल्ला अदालत बागलुङले जनाएको छ ।

यस्ताखाले मुद्दामा जिम्मेवारी सरी आएका ३०३ बाट १२४ फैसला भई १७९ मुद्दा फैसला हुन बाँकी रहेको छ । यो आवमा नयाँ दर्ता भएका २९० मुद्दाबाट ९७ फैसला भई १९४ बाँकी रहेको छ । अहिलेसम्म रहेका ५९३ मुद्दामा २२१ मुद्दा फैसला भएका छन् भने ३७२ मुद्दा बाँकी रहेका छन् । विसं २०७४ भदौ १ गतेदेखि मुलकी ऐन, २०२० विस्थापित भई नयाँ मुलुकी संहिता (देवानी, फौजदारी) लागू भएको थियो ।

पहिलो मुलुकी ऐन जारी भएको १६४ वर्षपछि नयाँ मुलुकी ऐन आएको हो । नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने, वैवाहिक बलात्कार मुद्दा लाग्ने भएका छन् । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ८ : ३८ बजे

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०