२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय



बुटवल । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको छ ।

यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल-अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो ।

जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका हुन ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए ।

प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन ।

शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गरे ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाए । उनले स्थानीय जनप्रतिनिधि, टोलविकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै निर्माण कम्पनीको प्रतिबद्धताको सराहना गरे ।

वडा नं. १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्ने प्रतिबद्धताले आफुहरुलाई खुशी लागेको बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ५ : १६ बजे

एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे