१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न



जनकपुर । अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् ।

पन्ध्रदिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ ।

यस प्रकारको धार्मिक आस्थाका कारण नेपालका कुनाकाप्चा र भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सामेल हुन्छ । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दूधर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।

यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्थाअनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरका क्षेत्रमा पदयात्रा गरिन्छ । यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ ।

यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ । लाखौँ श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमामा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागिसमेत उत्सव आस्थाको केन्द्र रहेको छ ।

अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुने ब्रह्मचर्य जीवनपालन गर्नुपर्ने हुन्छ । वैष्णव, शैव र शाक्त सम्प्रदायको धार्मिक अनुष्ठानका रूपमा माध्यमिकी परिक्रमालाई लिइन्छ । यस अवधिमा साधुसन्तको अवस्था, सानिध्य ल्याउने, भगवत कृपाप्रतिको आस्था, अरूप्रति आश्रित जीवनका कथा, व्यथासमेत सुन्न र अवलोकन गर्न पाइन्छ । सो यात्रामा सामजिक उत्तरदायित्व बहनताको समृद्धि, आपसी सम्बन्ध प्रगाढताको सन्देश लुकेको पाइन्छ । यात्रा गरिरहँदा शारीरिक सङ्कुचन पर जान्छ, मानिस फूर्तिला, जोशिला र जाँगरिला बन्ने प्रेरणा पनि दिन्छ ।

इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उनले कचुरी पठका महन्त थिए । त्यसैबेला खेअि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो ।

परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ । यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिला विहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशीष लिने चलन छ ।

परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत विहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बाास बस्ने र अन्य दिन झैँ भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ ।

गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् ।

मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ ।

यहाँबाट ध्रुवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो ।

कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ ।

दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुने परम्परा रहेको छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १ : २८ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम