७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

विस्थापित हुँदै जङ्गल सफारीका हात्ती



चितवन । जङ्गल सफारीका लागि परिचित चितवनमा पर्यटक घुमाउनका लागि राखिएका निजी हात्ती विस्थापित हुन थालेका छन् ।

कोरोना सङ्क्रमणका कारण काम नपाएपछि हात्ती धनीले भाडाका हात्ती फिर्ता र बिक्रीसमेत गर्न थालेको जनाइएको छ । हात्ती सञ्चालन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारीमा दुई वर्ष अघिसम्म ६७ हात्ती रहेकामा हाल यो सङ्ख्या घटेर ३५ मा झरेको छ ।

संस्थाका पूर्वअध्यक्षसमेत रहेका क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराई हात्ती पाल्न मुस्किल भएको बताउँछन् । सरकारी तवरबाट कुनै किसिमको सहयोग नभएपछि हात्ती विस्थापित हुन थालेको उनको भनाइ छ ।

दैनिक दुई क्विन्टलभन्दा बढी खाद्यान्न आवश्यक पर्ने हात्ती पाल्न मासिक रु एक लाखभन्दा बढी खर्च हुने व्यवसायी बताउँछन् । भारतबाट भाडामा ल्याएकामध्ये तीनवटा हात्ती मात्र यहाँ बाँकी रहेको बताइएको छ । व्यवसायीले यकिन तथ्याङ्क नदिए पनि सौराहामा रहेका हात्ती एउटाको रु ८० लाखदेखि एक करोडसम्ममा बिक्री हुने गरेको छ ।

ती हात्ती भारतको गुजरातमा लैजाने गरेको बताइएको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको व्यापारसम्बन्धी महासन्धि (साइटिस)ले हात्तीलाई अनुसूची १ मा राखेको छ । व्यापारका कारणले अझै खतरामा पर्ने हुँदा अनुसूची १ मा परेका जीव जनावरलाई व्यापार वा ओसारपसार गर्न पाइँदैन । त्यसैकारण यहाँका व्यवसायीले हात्ती बिक्री गरेको स्वीकार गर्दैनन् ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारीका अनुसार पर्यटक नआउँदा हात्ती पाल्न कठिन भएको हो । पाल्नै नसकेर हात्ती जिल्लाबाट विस्थापित भएको उनको भनाइ छ । भारत सरकारले निजी क्षेत्रलाई हात्ती पाल्न अनुमति दिएर सहयोग गरेको भए पनि नेपालमा सहयोग नपाउँदा हात्ती विस्थापित भएको उनले बताए । उनले भने, “बिमा र चरिचरनमा सरकारले सहयोग गरे हात्ती विस्थापित हुँदैन ।”

कुहिएर खेर जाने घाँससमेत सरकारले नदिँदा हात्ती पाल्न मुस्किल भएको तिवारीले गुनासो गरे । पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा प्रयोग हुने हात्ती पर्यटकलाई चढाएर ठूलो मात्रामा राजस्वसमेत सङ्कलन भएको व्यवसायी बताउँछन् । तिवारीका अनुसार हात्ती पाल्न मुस्किल भएपछि विस्थापित हुनबाट रोक्न सहयोग पु¥याउन वनमन्त्री, सचिव, निकुञ्ज विभागका महानिर्देशकलगायतका उच्च अधिकारीसँग हारगुहार गरिएको भए पनि सुनुवाइ भएको छैन ।

सौराहामा युनाइटेड हात्तीमा आबद्धबाहेक सपना भिलेजका आठ र ओम रिजालका आठ वटा हात्ती सञ्चालनमा रहेका छन् । विस्थापित भएका हात्ती बूढा र अशक्त खालका भए पनि बाँकी रहेका हात्ती वयस्क र टाठा भएकाले सफारी र खेलकूदमा कुनै समस्या नहुने व्यवसायी बताउँछन् । पशु अधिकारकर्मीले उठाएका सवाललाई मनन गर्दै सौराहामा हात्तीलाई हेरेर रमाउनका लागि हात्ती सेन्चुरी बनाउने तयारी गरिएको छ । सरकारी निकायबाट जग्गा प्राप्त भएमा निजी क्षेत्र काम गर्न तयार रहेको तिवारीले जानकारी दिए ।

क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे हात्ती व्यवस्थापनका विषयमा दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउँछन् । युरोपका मुलुकबाट आउने पर्यटक हात्ती चढ्न नै चाहँदैनन् । नेपाली, भारतीय र चीनका पर्यटक मात्रै हात्ती सफारी भनेपछि हुरुक्क हुने गर्दछन् । तत्कालका लागि निकुञ्ज आडमा निजी हात्तीका लागि चरनको व्यवस्था भए व्यवसायीलाई धेरै राहत हुने र हात्ती विस्थापन कम हुने घिमिरेको बुझाइ छ ।

हात्ती सफारी निकुञ्ज घुम्न आउने पर्यटकका लागि मुख्य गतिविधि हो । यहाँ आउने अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु हेर्न जान्छन् । हात्तीमा नै चढेर बाघ, गैँडा, मृग, हरिण, बँदेलजस्ता जनावारसँगै चराचुरुङ्गी हेरेर रमाउने गरेको घिमिरेको भनाइ छ । गत वर्ष कोरोना सङ्क्रमणका बेला केही समय राप्ती किनारमा हात्तीका लागि निकुञ्जले घाँस काट्न दिएको भए पनि पछि रोक लगाएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले व्यवसायीले चरनका लागि माग गरेको भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट कुनै निर्णय भइनसकेको बताए । रासस

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ९ : २७ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने