७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

बागमतीमा राष्ट्रिय सभा उपचुनाव : थापाको रि–इन्ट्री या देवकोटाको छलाङ ! मतभारको समीक्षा



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का दुई जना सांसदहरु दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि पदपूर्तिका लागि केही दिनभित्रै राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

बागमती प्रदेशबाट खुल्ला सदस्यमा निर्वाचित गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले थापाको सांसद पद खारेज गराएको थियो । यस्तै, लुम्बिनी प्रदेशबाट निर्वाचित चन्द्रबहादुर खड्का पनि एमालेमा प्रवेश गरेपछि उनको समेत पद खारेज भैसकेको छ ।

बागमती प्रदेशमा आगामी जेठ ६ गते उपनिर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा जेठ १७ गते उपनिर्वाचन हुनेगरी निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेको छ ।

नेकपा एमालेले गृहमन्त्री रामबहादुर थापालाई नै आफ्नो उम्मेदवार बनाउने घोषणा थापाको पद खारेज हुने वित्तिकै गरिसकेको थियो । माओवादी केन्द्र र नेपाली कांग्रेसलगायतका दलहरुले भने कसलाई उम्मेदवार बनाउने भन्ने कुनै निर्णय गरेका थिएनन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध विपक्षी गठबन्धन बनाउन प्रयास गरिरहेका माओवादी केन्द्र, कांग्रेस र एमालेकै बागी बनेका माधव झलनाथ समुहबीच बुधबार एकाएक चुनावी गठबन्धन बनेपछि भने राष्ट्रिय सभा उपनिर्वाचनमा कसले बाजी मार्ला भन्ने तुफानी बहस सुरु भएको छ ।

विपक्षी गठबन्धनले आश्चर्यजनक रुपमा माधव नेपाल निकट बाम वुद्धिजीवि संघीयता विज्ञ डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति गरेसँगै एमाले वृत्तभित्र भने खैलाबैला सुरु भएको छ । देवकोटा साझा उम्मेदवार बनेसँगै सहज जितको अपेक्षामा रहेको एमाले उम्मेदवार थापालाई पुनः राष्ट्रिय सभामा प्रवेशका लागि प्रतिकुल अवस्था सिर्जना भएको छ । त्यसैकारण एमाले थापालाई पुनः उम्मेदवार बनाउने या नबनाउने भन्ने अलमलमा परेको छ ।

डा. देवकोटालाई बागमतीमा साझा उम्मेदवार बनाउन सहमति गरेका विपक्षीहरुले लुम्बिनी प्रदेशमा भने यसअघि नै लुम्बिनी प्रदेशसभामा एमालेकै सांसदबाट हालै राजीनामा दिएर कांग्रेस प्रवेश गरेका दृघनारायण पाण्डेलाई साझा उम्मेदवार बनाउने घोषणा बुटवलबाट गरिसकेका छन् ।

 

दलीय मतभार
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता हुन्छन् । आफ्नो प्रदेशभित्र सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखले आफ्नो प्रदेशभित्रको निश्चित कल्स्टरका लागि उठेका उम्मेदवारलाई भोट हाल्न पाउँछन् । गोप्य मतदान भएपनि पहिल्यै तय भएको प्रदेशसभा र स्थानीय तहको अंकगणितले खासमा कसले जित्छ भन्ने छर्लङ्ग बनाएको हुन्छ । प्रदेशसभा र स्थानीय तहको मतभार फरक फरक रहेको हुन्छ । प्रदेशसभाका एक सांसद बराबर ४८ मतभार रहेको हुन्छ भने स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ रहेको हुन्छ ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । ११० सदस्यीय प्रदेशसभामा एमालेका मात्रै ५७ सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रका २३ सांसद छन् । नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ सांसद छन् । प्रदेशसभाको जम्मा मतभार ५२८० रहेको छ ।

यस्तै स्थानीय तहमा जम्मा २३८ जना मतदाता रहेका छन् । जसमध्ये एमालेका मात्रै १३३ जना छन् । कांग्रेसका ६७, माओवादीका ३३, राप्रपाका २, नेमकिपाका २ र जसपाका १ मतदाता रहेका छन् । स्थानीय तहको जम्मा मतभार ४२८४ रहेको छ ।

 

अंकगणित
सीधा अर्थमा हेर्दा, प्रदेशसभाको ५७ सदस्य र स्थानीय तहको १३३ जना सदस्यले दिने भोटको मतभारको आंकडा हेर्दा एमाले उम्मेदवार रामबहादुर थापाले सजिलै चुनाव जित्छन् । ५७ प्रदेशसभाको मतभार २७३६ हुन आउँछ । स्थानीय तहको १३३ सदस्यको मतभार २३९४ हुन आउँछ । अर्थात, एमालेको जम्मा मतभार ५१३० हुनआउँछ । एमालेलाई मजदुर किसान पार्टी र राप्रपाले सघाउन सक्छ । जसअुनसार प्रदेशसभा र स्थानीय तह दुवैमा रहेका ती साना पार्टीको मतभार समेत जोड्दा एमालेको पक्षमा थप २६४ मतभार बढ्न सक्छ ।
यस्तै विपक्षी दलहरुको मतभार (विवेकशील साझालाई छोड्दा) प्रदेशसभामा माओवादी, कांग्रेस र जसपाको २२०८ र स्थानीय तहमा १८१८ गरी ४०२६ हुन आउँछ ।

सीधा अर्थमा हेर्दा त एमाले उम्मेदवार थापाले ११०४ (राप्रपा र नेमकिपा छोड्दा) बढी मतभार प्राप्त गरी राष्ट्रिय सभामा रि–इन्ट्रि मार्न सक्छन् । तर, के एमालेले यति धेरै मतभार प्राप्त गर्न सम्भव छ ? अहँ ! छैन । किन ?

किनकी, एमालेभित्रको राजनीतिक विवाद र किचलोका कारण थापाले त्यति मत प्राप्त गर्न सक्दैनन् । त्यसैले एमालेले आफ्नो पक्षमा ठ्याक्कै कति मत आउँछ भन्ने यकिन गरेपछि मात्रै थापालाई उम्मेदवार बनाउने या नबनाउने निर्णय गर्ने भएको हो ।

विपक्षी दलहरुका साझा उम्मेदवार डा. देवकोटाले माओवादीको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडाबाट चुनाव लड्नेछन् । देवकोटा एमाले वरिष्ठ नेता माधव नेपाल निकट वाम बुद्धिजीवि हुन् । संघीयताको विज्ञ रहेका देवकोटालाई उम्मेदवार बनाउन नेपाल पक्षले नै अनुरोध गरेको थियो ।

नेपाल पक्षका आफ्नै उम्मेदवार भएका कारण बागमती प्रदेशमा नेपाल निकट प्रदेश सांसदहरु र स्थानीय तहमा रहेका प्रमुख उपप्रमुखहरुले देवकोटालाई मतदान गर्नेछन् । गोप्य मतादान भएका कारण कसले भोट हाले या हालेन भन्ने यकिन हुन एमालेभित्रै पनि गाह्रो पर्नेछ । यद्यपी, थोरै मतदाता भएको ठाउँमा कसको पक्षका हुन भन्ने त सहज अनुमान गर्न सकिन्छ तर सीधा आरोप लगाउन भने प्रमाण पुग्दैन । त्यसैले माधव नेपाल पक्षले सजिलै देवकोटाको पक्षमा मतदान गर्दा गठबन्धनका साझा उम्मेदवारलाई कांग्रेस माओवादी र जसपाले भोट नहाल्ने कुरै भएन ।

 

निर्णायक नेपाल समुह
अब, एमालेभित्र नेपाल पक्षको मतभारको समीक्षा गरौं । बागमती प्रदेशसभामा मुख्यमन्त्रीको मुख्य दावेदार नेपाल पक्षीय अष्टलक्ष्मी शाक्य थिइन । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चाहनामा दबाबमा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीमा डोरमणि पौडेललाई चयन गरेपछि २०७४ मै एमालेमा विवाद भएको थियो । पछि माओवादीसँग भएको एकतापछि आफुहरुलाई थप पेलानमा पारिएको नेपाल पक्षले गुनासो गर्दै आएको थियो ।

ओलीले पुषमा प्रतिनिधिसभाको विघटन गरेपछि माओवादी र नेपाल पक्षका सांसदहरु मिलेर नेकपाकै अवस्थामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव अघि नबढ्दै सर्वोच्चले नेकपा खारेज गरेर पूर्ववत एमाले र माओवादी केन्द्र बनाइदिएपछि सो प्रस्ताव एमालेका सांसदहरुले फिर्ता लिएका थिए । तर, फागुन २८ गतेपछि माधव नेपाल पक्षलाई ओलीले जुन ढंगले अपमान र तिरस्कार गर्दै आए, नेपाल पक्षले ओलीलाई सहजै सहयोग गर्ने सम्भावना त्यतिबेलैबाट सकिएको थियो ।

बागमती प्रदेशसभामा नेपाल पक्षका कम्तिमा २०–२२ सांसद रहेका छन् । यी २० सांसदको मतभार ९६० हुनआउँछ । यस्तै, स्थानीय तहमा पनि केही प्रमुखउपप्रमुख नेपाल निकट छन् भनिएको छ, तर तिनीहरु अहिलेसम्म खुलेका छैनन् । नेपाल पक्षका सांसदहरु घट्ने वित्तिकै एमालेसँग कम्तिमा ३५ देख ३७ सांसद मात्र बाँकी हुनआउँछन् । जसका कारण झण्डै १ हजार मतभार एमालेले गुमाउँछ । त्यसमा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई छोड्ने हो भने पनि एमालेको कुल मतभार ५१३० बाट घटेर ४२०० को आसपास झर्छ । जबकी, विपक्षी गठबन्धनको मतभार भने ४०२६ बाट बढेर झण्डै ५००० को आसपास पुग्छ । जसका कारण नेमकिपा र राप्रपाले भोट हाले पनि एमाले उम्मेदवार थापाले जित्न सक्ने अवस्था समाप्त हुन्छ । नेपाल निकट स्थानीय तहमा प्रमुख र उपप्रमुखले पनि देवकोटाको पक्षमा मतदान गर्ने भएकाले मतभार अझ बढ्ने पक्का छ । यस्तो हुँदा एमालेको मतभार झन घट्नेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : ५२ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२