१३ माघ २०८२, मंगलबार | January 28, 2026

सलाम अन्तिम सलामकर्ता



काठमाडौं । कोरोना भाइरस संक्रमणबाट हुने मृत्युदर अत्यधिक बढेको छ । पछिल्लो २४ घण्टामा मंगलवार २२५ जनाले ज्यान गुमाएका छन् ।

सोमवार यो संख्या १३९ थियो । संक्रमितको शव व्यवस्थापनमा नेपाली सैनिकहरू खटिएका छन् । जसले शवको व्यवस्थापन मात्रै होइन, अन्तिम सलामी समेत अर्पण गर्छन् ।

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा आइपुग्ने आफन्तले अन्तिम अवस्थामा पनि सोध्छन्, ‘एकपटक मृतकको अनुहार हेर्न मिल्दैन ?’ त्यस बेला शव व्यवस्थापनमा खटिएका सैनिक भावविह्वल हुन्छन् । मन भक्कानिन्छ तर सहनै पर्छ । रोगै यस्तो ! सुरक्षित रूपमा पोको पारिएको शव खोल्न मिल्दैन ।

सानोतिनो गल्ती र असावधानीले पनि आफैं संक्रमित हुने जोखिम रहन्छ । आफ्नै ज्यान जोखिममा राखेर ज्यादै चुनौतीपूर्ण काम गर्दै आएका छन्, नेपाली सैनिकले । नेपाली सेनाले सबै निकायको सहयोग र सहकार्यमा कोभिड-१९ शव व्यवस्थापन कार्यविधिअनुसार काम गर्दै आएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘नेपाल सरकारले सेनालाई दिएको एउटा महत्त्वपूर्ण जिम्मेवारी हो । यो जिम्मेवारीलाई सबै निकायको सहयोग र सहकार्यमा सेनाले पूर्णरूपमा पूरा गर्दै आएको छ,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘धार्मिक, सांस्कृतिक तथा परम्परागत मूल्यमान्यतालाई आदर र सम्मान गर्दै काम गरिरहेका छौं ।’

मोरङमा सीमित साधनस्रोतका कारण दिनभर पानीसमेत नपिई सैनिक जवान यो काममा खटिएका छन् । तर कपितय शव घाट पुर्‍याइसक्दा कुनै बेला चितासमेत तयार हुँदैन । मृतकबाट संक्रमण फैलन नदिन जतिसक्दो चाँडो शव व्यवस्थापन गर्नुपर्ने हुन्छ । पर्सामा पनि पीपीई सेट र शव पोको पार्ने झोलाको अभाव हुन थालेको छ । यद्यपि पूर्ण सावधानीका कारण कोही जनशक्ति संक्रमणमा परेका छैनन् ।

चितवनमा खटिएका सैन्य अधिकारी भन्छन्, ‘हामी देशको खम्बा भएर बसेका छौं । खम्बा नै पछि हट्यो भने के काम लाग्यो र ? सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो ।’

कोरोनाको डरभन्दा पनि राज्यले दिएको जिम्मेवारीलाई ठूलो मानेको बाँकेमा खटिएका सैनिकको भनाइ छ । ‘हामीले गर्नै पर्छ । सेनाले नगरे कसले गर्छ ? हामीबाहेक अरू कोही पनि छैन भनेर दिएको काम स्वास्थ्य मापदण्ड पालना गर्दै पूरा गरेका हौं,’ ती सैनिकले भने ।

काली दल एयरपोर्टका उपसेनानी उज्ज्वलवरसिंह थापा कोरोनाको पहिलो लहरमा कमान्डरका रूपमा शव व्यवस्थापनमा खटिएका थिए । थापा अहिले पनि त्यही भूमिका निर्वाह गरिरहेका छन् । उनी २०-२५ पटक यो काममा खटिएका छन् ।

पहिलो पटक शव व्यवस्थापनमा खटिँदा डर लागेको अनुभव थापाले सुनाए । ‘पहिलो पटक यो काममा खटिँदा मनमा डर थियो । आफू पनि संक्रमित हुने त होइन भन्ने द्विविधा पनि थियो,’ उनले भने, ‘अझ आफन्तको शोक देख्न आफूलाई पनि नरमाइलो लाग्थ्यो । काम गर्दै जाँदा बानी पर्दै गयो । अहिले सामान्य लाग्छ ।’

शव व्यवस्थापनमा खटिँदै गर्दा आफंै संक्रमित हुन्छु कि भन्ने जुन डर उनमा थियो, त्यो वास्तविकतामा परिणत भयो । उनी ड्युटीकै क्रममा संक्रमित हुन पुगे । उनी शव व्यवस्थापनका साथै स्वास्थ्य सामग्री भण्डारण तथा वितरणमा खटिएका थिए । ड्युटी गर्दागर्दै उनलाई सास फेर्न गाह्रो भयो । हातखुट्टा लल्याकलुलुक भए । त्यसमाथि लगातार पखाला लागिरह्यो । स्वास्थ्य समस्या हुँदाहुँदै उनले केही दिन ड्युटी गरिरहे । तर उनलाई रोगले झनझन च्याप्दै लग्यो । कोरोना संक्रमणको शंका लागेर उनले पीसीआर परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो ।

‘आफैं संक्रमित भएँ भनेर शुरूमा त विश्वास नै लागेन । रिपोर्ट आएपछि आइसोलेसनमा बसें । करीब २ हप्तापछि कोरोनालाई जित्न सफल भएँ,’ उनले भने । उनको अनुभवमा अस्पतालभन्दा होम आइसोलेसनमा मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न अप्ठ्यारो र चुनौतीपूर्ण छ । ‘अस्पतालमा शवलाई डाक्टरहरूले कोभिड ब्यागमा राखिदिनुभएको हुन्छ । तर घरमा भने शव त्यत्तिकै हुन्छ । घरबाट शव लैजाँदा विशेष सावधानी अपनाउनुका साथै परिवार र आफन्तजनलाई पनि सान्त्वना दिनुपर्ने हुन्छ,’ उनले भने ।

उनले शव व्यवस्थापनका क्रममा केही असहज परिस्थितिको पनि सामना गरेका छन् । शव व्यवस्थापन टोली नपुगिकन डाक्टरले मृत्यु प्रमाणपत्रमा सही नगरिदिने, शुल्क नतिरिकन अस्पतालले शव लैजान नदिने र पशुपति (आर्यघाट) मा आफन्त समयमा नआइदिने समस्या रहेको उनको भनाइ छ ।

काली दलकै हुद्दा नरेन्द्र तिवारी पनि अघिल्लो वर्षदेखि नै शव व्यवस्थापनमा खटिएका थिए । तिवारी ३ पटक यो काममा खटिए । तिवारीले यसलाई आफ्नो जिम्मेवारीसँगै धर्म पनि मानेका छन् । ‘यो काम पहिलो त आफ्नो जिम्मेवारी हो । त्यससँगै धर्म पनि हो,’ उनले भने, ‘त्यही सम्झिएर अहिलेसम्म काम गर्दै आएको छु ।’ उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ४४ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य