काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा आत्मालोचना गरे पार्टी एकता हुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओलीले अहिलेसम्म गरेका गल्ती कमजोरी स्वीकार गरेर आत्मालोचना गरे मात्र साँचो अर्थमा पार्टी एकता हुने बताएका हुन् ।
नेपालले ओली सच्चिन तयार नभएसम्म उनीसँग मिसिलन जानु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताए । नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे ।
बैठकमा नेपालले भनेका छन्, ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन ।’ ‘म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ’ नेपालले भने, ‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न ।
केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई अल्मल्याउने उद्देश्यबाट आउने नेपालले दाबी गरेका छन् । आफुहरु र ओली पक्षकै केही नेताहरुबाट साँचो अर्थमा एकताको प्रयास भैरहे पनि अध्यक्ष ओलीका एकलौटी र एकलकाँटे कुराले समस्या पारिरहेको उनले बताएका छन् । ओली विश्वास गर्न लायक पात्र नरहेको भन्दै नेपालले ओलीका व्यवहार र अभिव्यक्तिकै कारण पार्टी एकताको सम्भावना कमजोर रहेको बताएका छन् । नेपालले ओलीले जस्तो बोले पनि आफू पक्षधर नेताहरुलाई उनले संयमित भएर अभिव्यक्ति दिन आग्रह समेत गरेका छन् ।
बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलका नेपाल पक्षीय नेता भीम रावलले कार्यदलमा भएको १० बुँदे सहमतिबारे जानकारी गराएका थिए ।
आजको बैठकमा बलाराम बाँस्कोटा, विजय पौडेल झपट रावल, रामकुमारी झाँक्री, ठाकुर गैरे, चूडामणि जंगली, भानुभक्त जोशी, नागेन्द्र चौधरी लगायतका केन्द्री य सदस्यहरुले आफ्नो धारणा राखेका छन् । बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ ।
केन्द्रीय कमिटी बैठक बस्नुअघि नेपाल पक्षीय स्थायी कमिटी बैठक बसेको थियो । आजको बैठकमा नेताहरु सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका थिए ।



















प्रतिक्रिया