४ बैशाख २०८१, मंगलबार | April 16, 2024

एमालेमा अध्यक्ष शक्तिशाली बनाउने प्रयास



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विधान संशोधन गर्दै अब शक्तिशाली अध्यक्षको सांगठनिक संरचनामा जाने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने बताए । उनले केन्द्रमा रहने १२ पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चयन गर्ने व्यवस्था विधानमा संशोधन गरिएको बताए ।

महाधिवेशनबाट सबै पदाधिकारी निर्वाचित हुँदा गुटबन्दी बढेको तथा अध्यक्षलाई पूरै कार्यकाल काम गर्न असजिलो भएको निष्कर्षसहित एमालेले विधान संशोधन गर्दै अध्यक्षलाई शक्तिशाली बनाउने संरचनामा जान लागेको हो ।

‘निश्चय पनि सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित भएपछि अध्यक्षलाई काम गर्न असजिलो भएको निष्कर्ष हाम्रो छ,’ ज्ञवालीले भने, ‘अब महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्य मात्रै निर्वाचित हुने र बाँकी पदाधिकारी निर्वाचित केन्द्रीय कमिटीले चयन गर्नेगरी विधान संशोधन प्रस्ताव गरेका छौं ।’

केन्द्रीय कमिटीको बैठक बस्नुअघि सोमबार नै बसेको स्थायी कमिटीले विधान संशोधन प्रस्ताव पारित गरेको हो । केन्द्रीय कमिटीले पारित गरेको विधान २७ र २८ भदौमा हुने विधान महाधिवेशनबाट पारित भएपछि १० औं महाधिवेशन सोहीअनुसार हुनेछ । यसबीचमा यस सम्बन्धमा व्यापक रूपमा छलफल गरिने ज्ञवालीले बताए ।

केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावअनुसार केन्द्रमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव हुनेछन् । उनीहरूमध्ये अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनेछन् भने अरू पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले चयन गर्ने व्यवस्था गरिएको छ ।

यसअघिको विधानअनुसार एक अध्यक्ष पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिवको व्यवस्था थियो । यी सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विधानमा व्यवस्था भएकोमा यसमा संशोधन गर्न खोजिएको छ ।

महाधिवेशनबाट कमिटी चयन गर्ने र त्यसले अध्यक्ष वा महासचिव चयन गर्दा कमिटीका सदस्यलाई अनुकूल बनाइराख्नुपर्ने, नभए बीचमै नेतृत्व परिर्वतन हुन सक्ने अस्थिरता देखिएको भन्दै एमालेले ८ औं महाधिवेशनबाट अध्यक्ष र पदाधिकारी सबै महाधिवेशनबाट चयन हुने व्यवस्था गरेको थियो ।

केन्द्रीय कमिटीको संख्या २ सय २५ सदस्यीय हुनेछ । यसअघि नवौं महाधिवेशनबाट पारित विधानअनुसार केन्द्रीय कमिटीको संख्या १ सय ५९ थियो । तर, विधानलाई संशोधन गर्दै यसमा पटकपटक गरी केन्द्रीय सदस्यको संख्या थप्दै २ सय ४१ सम्म पुर्याउने काम भएको थियो ।

यसैगरी, संशोधित विधानको प्रस्तावमा स्थायी कमिटी खारेज गर्ने, पोलिटब्युरो र केन्द्रीय कमिटी मात्र बनाउने उल्लेख छ । प्रदेश, जिल्ला र स्थायी तहका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहने व्यवस्था गरिएको छ । सबै कमिटीमा अध्यक्ष र सदस्यहरू अधिवेशनबाट चुनिनेछन् भने पदाधिकारी सम्बन्धित कमिटीले मनोनित गर्नेछ ।

केन्द्रीय महाधिवेशन पाँच वर्षमा, प्रदेश अधिवेशन चार वर्षमा, जिल्ला र पालिका अधिवेशन तीन वर्षमा र मातहतका कमिटीको अधिवेशन दुई वर्षमा गर्ने प्रस्ताव छ । यसैगरी, प्रदेश कमिटीलाई कार्यकारी बनाउने प्रस्ताव गरिएको छ ।

१७ साउनमा बसेको एमाले स्थायी कमिटी बैठकले २७ र २८ भदौमा विधान महाधिवेशन गर्ने निर्णय गर्दै पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन प्रस्ताव कार्यदल गठन गरिएको थियो ।

भदौमा हुने विधान महाधिवेशनले विधान पारित गरेपछि सोहीअनुसार पार्टीको १०औं महाधिवेशन हुनेछ । विस्तृत समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ६ : ४५ बजे

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित