काठमाडौं । माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आज संसदीय दलको नेता चयन गर्दैछ । संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ ।
बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकबाट पार्टी अध्यक्ष नेपाल दलको नेतामा चयन हुँदैछन् । यही बैठकले दलको प्रमुख सचेतक र सचेतक पनि चयन गर्ने बताइएको छ ।
केही दिनअघि मात्र नेकपा एमालेबाट विद्रोह गरी नयाँ पार्टी दर्ता गरेको नेकपा एकीकृतले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । सरकारमा सहभागी हुनुपूर्व संसदीय दलको नेता चयन गर्न लागेको हो ।
एकीकृत समाजवादीले निर्वाचन आयोगबाट यही भदौ ९ गते मान्यता पाएको हो । यस पार्टीका प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरी ३० जना सांसदहरु रहेका छन् । निर्वाचन आयोगले यो पार्टीमा आउन चाहेका एमालेका थप तीनजना सांसद सोमप्रसाद पाण्डे, शारदादेवि भट्ट र माया न्यौपानेको सनाखत नगरिदिएपछि सांसदको संख्या ३३ बाट ३० मा झरेको हो ।
प्रतिक्रिया