१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

दशैंमा चलायमान जनकपुरधामको अर्थतन्त्र



जनकपुरधाम । हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकता सहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए ।

किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएकोछ । यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी देखिएको छ । दसैं र लगत्तै पर्ने तिहार र छठलाई केन्द्रीत गरेर विक्रेता तथा सेवाप्रदायकले विभिन्न ‘अफर’ सार्वजनिक गरिरहेका छन् ।

उपभोगमा आधारित अर्थतन्त्रमा कूल उपभोगको एक तिहाइ दसैंमा उपभोग हुने बताइएको छ । लामो बिदा र घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर मनोविनोद गर्ने, एकआपसमा खुसी साटासाट गर्ने र मान्यजनको आशीर्वाद लिने पर्वका रुपमा दसैंलाई लिइन्छ ।

अर्थविद् उज्ज्वल दाहालले घरयासी खर्चको एकतिहाइ खर्च दसैं सहित चाडपर्वमा हुने गरेको जानकारी दिए । उनले भने, “उद्योगी व्यवासायीले दसैं, तिहार र छठपर्वसंगै वस्तु र सेवाको व्यापारका लागि नयाँ नयाँ अफर सहित ग्राहकलाई लोभ्याउने भगीरथ प्रयत्न गर्दछन् । दसैंको व्यापारले वर्षभरीको व्यापारको चक्रलाई ठूलो भरणपोषण गर्छ । ”

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले पर्वका अवसरमा विक्री वितरण बढ्नु स्वाभावित भएको जानकारी दिन्छन् । उनका अनुसार “टिकाउवस्तु फर्निचर, इलेक्ट्रोनिक्स, ग्याजेट लगायत (ड्युरेबल्स) का खरिदकर्तालाई दसैंको अफर नै पर्खेर बस्ने बानी लागि सकेको छ । अहिले इन्टरनेट सेवाप्रदायक, ट्राभल एजेन्सी, दूरसञ्चार सेवाप्रदायक तथा होटल÷रेस्टुरेन्टले दसैं लक्षित प्याकेज बिक्री गर्न थालेका छन् । ”

दसैं मनाउन आ–आफ्नो गाउँघर आउनेको क्रम जारी छ । सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ । बजारमा पैसा चलायमान हुने भएकाले दसैंलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्व भएको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । दसैं तिहारलाई लक्षित गरी नयाँ सवारी साधन खरिदमा छुट तथा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने घोषणा यही बेला हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो । “पहिले पनि दसैंं अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले दसैंं विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेका नेपालीले यही अवसरमा लत्ताकपडा सहित सामानको किनमेल गर्ने गर्दछन् । कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ”, उनले भने ।

अन्य महिनाका तुलनामा दसैंमा करिब २५ देखि ३० प्रतिशत बढी रकम ‘रेमिट्यान्स’ भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । सोही तथ्याङ्क अनुसार औषतमा दसैं, तिहार तथा छठका अवसरमा करिब रु १०÷१५ अर्ब रेमिट्यान्स स्वदेश भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैंमा घर फर्किदा लिएर आउने रकम भने जोडिएको छैन ।

अर्थविद्का अनुसार दसैं अघिका दुई–तीन हप्ताका अवधिमा वर्षभरिको कूल राष्ट्रिय उपभोगको २० प्रतिशत जति उपभोग हुने गर्दछ । अर्थशास्त्री डा सुरेन्द्र लाभले भने, “दसैं, तिहार तथा छठ पर्वसम्म बजारमा करिब रु पाँच अर्बको कारोबार हुने गर्दछ । चाडपर्वको आर्थिक पाटो वास्तवमा नै बृहत् छ । ”

बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीको अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि पर्वका समयमा बजारमा चहलपलह तथा रौनक बढेको हुन्छ । -रासस

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १२ : ४७ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर