२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सहमहामन्त्री थप्ने देउवा-पौडेलको रणनीति



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पार्टीको १४ औं महाधिवेशनमा आ-आफ्नो टिम व्यवस्थापन गर्न सहमहामन्त्री पद थप गर्ने रणनीतिमा पुगेका छन् ।

महाधिवेशन अझै निश्चित हुन नसके पनि दुवै नेता निकटहरूको व्यवस्थापनसहित नेतृत्व प्रतिस्पर्धा सहज बनाउन तीन सहमहामन्त्री थप गर्ने पक्षमा देखिएका हुन् ।

दुवै समूहका दोस्रो तहका नेताहरूले सभापतिमै प्रतिस्पर्धा गर्ने जनाउँदै तयारी गरिरहेका बेला सहमहामन्त्रीको पद थप गरेर निकट नेताहरूलाई आफ्नै समूहमा व्यवस्थापन गर्ने रणनीति देउवा र पौडेलले लिएको स्रोतको दाबी छ ।

सहमहामन्त्री थप गर्दा पद नपाएर अर्को समूहमा जानसक्ने नेताहरूलाई रोक्न सकिने दुवै नेताहरूको बुझाइ छ । यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणासहित तयारीमा जुटेका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कमजोर हुने बुझाइमा देउवा र पौडेल रहेको एक नेताले बताए ।

सहमहामन्त्रीका आकांक्षी नेताहरूको व्यवस्थापन गर्न नसके निधि, सिटौलासहितका समूहबाट महामन्त्रीको प्रत्यासी बन्नसक्ने बुझाइ देउवा र पौडेलको छ । यस्तो हुन नदिन सहमहामन्त्रीको संख्या बढाउने पक्षमा देउवा र पौडेल रहेका छन् ।

देउवा सहमहामन्त्रीको पद बढाएर महामन्त्रीको उम्मेदवारी घोषणा गरेका विश्वप्रकाश शर्मासहितका नेतालाई आफ्नै समूहमा समेट्ने पक्षमा छन् । शर्मासहितका संस्थापन पक्षका अन्य नेतालाई समेट्न नसक्दा उनीहरू निधि समूहमा जानसक्ने बुझाइमा देउवा रहेको निकट स्रोतको दाबी छ ।

कम्तीमा तीन सहमहामन्त्री थप हुँदा बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, सुनिलबहादुर थापा, विश्वप्रकाश शर्मासहितका नेतालाई महामन्त्री र सहमहामन्त्रीमा राखेर टिम निर्माण गर्न सकिने देउवासहित उनी निकट नेताहरूको बुझाइ छ । यसबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका निधि थप कमजोर हुने उनीहरूको विश्लेषण छ । संस्थापन पक्षका गोपालमान श्रेष्ठले पनि सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

त्यस्तै, संस्थापन इतर समूहबाट आधा दर्जन नेताले सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका छन् । तर, संस्थापन इतर पक्षबाट सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइराला एकअर्कालाई मान्न तयार नहुने र अन्तिममा यो समूहबाट आफू सभापतिको उम्मेदवार बन्ने विश्लेषणमा नेता पौडेल छन् ।

१३ औं महाधिवेशनमा तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन पक्षबाट विद्रोह गरेपछि सभापति हुन नसकेका पौडेल यसपटक उनलाई साथ दिएका नेताहरूलाई आफ्नो समूहमा तान्ने रणनीतिमा छन् ।

त्यतिबेला सिटौला समूहबाट महामन्त्रीको प्रत्यासी बनेका गगन थापा अहिले आफ्नो पक्षमा आएको बुझाइमा पौडेल छन् । सहमहामन्त्री पद थपेर सिटौलालाई साथ दिइरहेका प्रदीप पौडेलसहितलाई आफ्नो समूहमा समेट्ने रणनीतिमा नेता पौडेल छन् ।

महामन्त्रीको प्रत्यासी बन्ने घोषणा गरेका प्रदीप पौडेललाई आफ्नो समूहमा ल्याएर सहमहामन्त्रीमा मनाउने पक्षमा नेता पौडेल छन् । सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका प्रकाशमान र शेखरलाई उपसभापतिमा मनाउने पौडेलको तयारी छ ।

मीनेन्द्र रिजाललाई महामन्त्रीमा अघि सार्ने पौडेलको चाहना छ। थापालाई पनि महामन्त्री बनाउन पौडेलमाथि दबाब परेको जानकारी दिँदै स्रोतले भन्यो, ‘अन्य सिनियर नेताको व्यवस्थापनलाई पनि ध्यानमा राखेर थापालाई सहमहामन्त्री वा महामन्त्रीमा समेटेर टिम बनाउनुपर्छ भन्नेछ ।’

अहिलेसम्म संस्थापन इतर पक्षबाटै सभापतिको प्रत्यासी बन्ने घोषणा गरेका शशांक, प्रकाशमान, शेखरसहितका नेताले आफ्नो दाबी छाडेका छैनन् । उनीहरू पनि उपसभापति, संसदीय दलको नेतासहित आगामी प्रधानमन्त्रीकारूपमा प्रस्ताव गरेर एकअर्कालाई मनाउने रणनीतिमा छन् ।

कांग्रेसमा हाल सभापति, दुईरदुई उपसभापति र महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ । कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने विधानको व्यवस्था भए पनि आठ सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा चुनिन्छन् । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ४२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२