भाषासँगै संस्कृति भुल्दै मोफसलका नेवारहरु

शरण कर्माचार्य
२० कार्तिक २०७८, शनिबार
                 

नेपालगञ्ज । झण्डै दुई सय वर्षदेखि लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्जमा बस्दै आएका नेवार समुदाय नेपालभाषा (नेवार भाषा) बोल्न नजानेपछि उनीहरूको संस्कृति नै खतरामा पर्न थालेको छ । नेपालगञ्ज र बुटवलमामा नेवारको ३० हजार बढी घरधुरी भएपनि अधिकांश नेवारको नयाँ पुस्ता आफ्नो भाषा बोल्न जान्दैनन् । बुटवलमा पुरानो पुस्ताका नेवाहरुले नेवारी भाषा बोल्ने गरेपनि नेपालगन्जमा भने नेवारी भाषा बोल्नेको संख्या निकै कम छ । भाषा नबुझेका कारण नेवार समुदायका मुख्य मुख्य जात्रा, पूजा, विवाह, व्रतवन्ध, सूर्यदर्शन जस्ता संस्कार सङ्कटमा पर्न थालेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाको कुल जनसङ्ख्यामा छ प्रतिशत स्थान ओगटेको नेवार समुदायलाई नेवार भाषा बोल्न आउँदैन भन्दा धेरैलाई विश्वास लाग्दैन तर नेपालगञ्जको वास्तविकता यस्तै छ । उनीहरूलाई नेवार भाषा त बोल्न आउँदैन नै, शुद्ध नेपाली भाषा बोल्नमा समेत उनीहरूलाई समस्या छ । नेपाली भाषामा हिन्दी र अवधी शब्द मिसाई बोल्दा उक्त समुदायको भाषा अलि बेग्लै खालको हुने गरेको छ । उप–महानगर बन्नु अघिसम्म नेपालगञ्जमा ७२ हजार पाँच सय जनसङ्ख्या रहेकोमा चार हजार दुई सय नेवार रहेको नेपालगञ्ज नगरपालिकाको अभिलेखमा उल्लेख छ ।

समुदाय र राजनीतिमा निकै चर्चित व्यक्तित्व नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठलाई नेवार भाषा बोल्न आउँदैन । उनका बाजे प्यूठानबाट नेपालगञ्ज सरका थिए । बाजे र बुबाले नेवार भाषा बोल्ने गरेपनि साथीभाइ सबै मधेशी समुदायका भएपछि आफूलाई नेवार भाषा बोल्ने वातावरण नै नभएको बताउँदै उनी भन्छन्, “घरमा आउने पाहुनाहरू नेवार भाषामा बोल्छन् आफूले नेपालीमा फर्काउँछु ।” विशेषगरी प्यूठानबाट आउने नातेदारसँग कुरा गर्दागर्दै उनी नेवार भाषा बुझ्नेसम्म भएका छन् ।

समुदायका कार्यक्रमहरूमा अतिथि बनेर जाँदा उनलाई निकै असहज अनुभव हुने गर्दछ । “नेवारको कार्यक्रममा नेपाली भाषामा भाषण गर्नुपर्दा नराम्रो त लाग्छ तर बेलैमा सिकिएन, अब के गर्ने ?” कृष्णमानको वाध्यता छ ।

नेपालगञ्जका पुराना पत्रकार हेमन्त कर्माचार्यलाई पनि नेवार भाषा बोल्न आउँदैन । तीन पुस्तादेखि नेपालगञ्जमा बस्दै आएका हेमन्तको पुख्र्यौली घर पाटन हो । बाजे नोकरीको सिलसिलामा नेपालगञ्ज आएपछि उनको परिवार नेपालगञ्जमै बस्न थालेको हो । बुवाको पालासम्म अलि अलि नेवार भाषा बोलिएपनि अहिले आफूहरूलाई बोल्न नआउने बताउँछन् वरिष्ठ पत्रकार कर्माचार्य ।

“अभिभावकले सिकाउने प्रयास नगर्नुभएकाले भाषा जानिएन” – हेमन्तको भनाइ हो यो ।
सामान्यतया आफ्नो भाषा जान्न आमाले उक्त भाषा जान्नु आवश्यक हुन्छ तर प्रायः घरमा जन्म दिने आमालाई पनि आफ्नो भाषा नआएपछि परिवारमा भाषा सङ्कट पर्ने गरेको छ । पत्रकार कर्माचार्यकी आमालाई नेवार भाषा बोल्न नआएकै कारण उनले नेवार भाषा सिक्न सकेनन् ।
नेपालगञ्जमा बसोबास गर्दै आएका धेरैजसो नेवार जागिरको सिलसिलामा आएर यतै घरजम गरेर बसेका हुन् । सस्तोमा जग्गा पाइनुका साथै जीवनयापन पनि सस्तै भएका कारण नेपालगञ्जलाई कर्मथलो बनाउन थालेका नेवारले आफ्नो मूल भाषा र संस्कृति भने भुल्न थालेका छन् ।

नेपालगन्जको तुलनामा नेवार समुदायको ठुलो बस्ती भएको शहर हो बुटवल । बुटवल उपमहानगरको तथ्यांक अनुसार मगर र क्षेत्री पछि जनसंख्या ओगटेको नेवार समुदायको २५ हजार उपस्थिती रहेको छ । उपमहानगरको ६ दशमलव १० प्रतिशत जनसंख्या नेवारहरुको भएको तथ्याँकले देखाएको छ । बुटवलको पहिलो पुस्ताका अधिकाँस नेवारहरुले नेवारी भाषा बोल्ने गरेपनि दोस्रो पुस्तामा भने भाषाको समस्या देखिएको छ । सानै उमेरमा मण्टेश्वरी र बोर्डिङ स्कुलमा पढाउन राखिदिने गरिएपछि नयाँ पुस्तामा बुटवलमा पनि नेवारी भाषा समस्यामा पर्न थालेको देखिएको छ ।

बुटवलको अगुवा नेवारी संस्था नेवाः पुचका अध्यक्ष काजीमान श्रेष्ठ आफै नेवारी भाषा बुझे पनि बोल्न सक्दैनन् । नेवार बोल्ने बुटवलका धेरै नेवारहरुको अगुवा श्रेष्ठलाई भाषा नबोल्ने भएकै कारण जातीय कार्यक्रममा समस्या हुने गरेको छ । स्याङ्जाबाट बुटवल सराई गरेका उनी सानै देखि खस र अन्य जातका साथीहरुसँग हिँड्ने डुल्ने गरेका कारण भाषको ज्ञान हुन सकेन । ‘सानै उमेरबाट संघ संगठनमा हिँडियो, संघ संस्थामा नेवार भन्दा अरु जातका साथीहरु बढी भेटिने गरेकाले नेवारी बोल्ने अभ्यास नै भएन’ श्रेष्ठले भने । श्रेष्ठको घर परिवारमा पनि छोराछोरीहरुलाई नेवारी बोल्न आउँदैन ।

बिहानैदेखि बालबालिकाको उठबस गैरनेवार समुदायसँग हुने भएकाले उनीहरूले नेवार भाषा सिक्न नसकेको श्रेष्ठ बताउँछन् । अरुलाई भाषा संस्कृति भुल्नु हुँदैन भन्दै हिँड्ने श्रेष्ठ आफैले आफ्ना छोराछोरीलाई किन नसिकाउनुभएको भन्ने प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, “सानो उमेरमै स्कुल पठाउँदा स्कुलमा नेवार भाषा बोल्नेको सङ्गत भएन, त्यसैले उनीहरूले नेवार भाषा जानेनन् ।”
त्यसो त बुटवलमा नेवार भाषा र संस्कृति संवद्र्धन गर्न भन्दै दर्जन बढी संस्थाहरू खुलेका छन्् तर ती संस्थामा नेतृत्व गर्ने अगुवाहरू स्वयं भाषा र संस्कृतिमा दखल नराख्ने परेपछि समस्या आएको स्थानीय नेवारहरूको भनाइ छ ।

नेपालमा भेक अनुसारको नेवारी भाषा छुट्टा छुट्टै लवज भएका कारण समस्या परेको हो । काठमाडौमा बोलीने नेवारी भाषा र अन्य जिल्लाहरुमा बोलिने नेवारी भाषा फरक फरक रहेको र एक स्थानको भाषा बोल्ने समुदायले अर्को स्थानमा बोल्ने नेवारी भाषालाई होच्याउने गरेकाले भाषा विस्तारै कम हुँदै गएको…..

बुटवल उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठ आफुले नेवारी भाषा बोल्न जाने पनि छोरा छोरीले भने बोल्न जान्दैनन् । घरमा सबै परिवार चलन चल्तीमा नेवारी भाषा नबोल्ने भएका कारण छोरा छोरीले नेवारी बोल्न नजानेको उनको भनाई छ । ‘भाषामा मुख्य भूमिका आमाको हुन्छ, आमाले नेवारी नबोलेपछि बच्चाहरु नबोल्नु स्वाभाविक हुन्छ ।’ उनले भने । श्रेष्ठको अनुभवमा नेपालमा भेक अनुसारको नेवारी भाषा छुट्टा छुट्टै लवज भएका कारण समस्या परेको हो । काठमाडौमा बोलीने नेवारी भाषा र अन्य जिल्लाहरुमा बोलिने नेवारी भाषा फरक फरक रहेको र एक स्थानको भाषा बोल्ने समुदायले अर्को स्थानमा बोल्ने नेवारी भाषालाई होच्याउने गरेकाले भाषा विस्तारै कम हुँदै गएको अनिलले बताए ।

बुटवलमै नेवाः सेवा समिति गठन गरेर समुदायमा काम गरेका समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले आफुले नेवारी भाषा बोल्न जाने पनि छोरा छोरीलाई सिकाउन सकेनन् । उनका छोरा छोरी र बिबाह गरेर आएकी बुहारीले पनि नेवारी बोल्न जान्दैनन् । आफै नेवारको अगुवाई गर्ने तर घरमा नेवारी बोल्न नआउने अवस्था देखिएपछि यतिबेला श्रेष्ठ दम्पत्ती नातीलाई भने नेवारी बोल्न सिकाउने तयारीमा छन् । घरमा सानो नातीसँग अनिवार्य नेवारीमा बोल्ने र बोलाउने गरेको श्रेष्ठले बताए ।

उनले नेतृत्व गरको संस्थाले बुटवलमा एकआध पटक भाषा प्रशिक्षक ल्याएर भाषा प्रशिक्षण चलाएपनि त्यसलाई निरन्तरता दिन सकेनन् । भाषा संस्कृति जोगाउन खुलेका संस्थाहरुको कमजोरीका कारण पनि नयाँ पुस्तामा भाषामा समस्या देखिएको श्रेष्ठले बताए ।

भाषा बोल्न नजान्नुमा अर्को कारण हो, अन्तरजातीय बिबाह । नेवारहरुले नेवार बाहेकका अन्य जाती समुदायमा बैबाहिक सम्बन्ध राख्दा जन्मदिने आमाले भाषा नबुझ्ने र नबोल्ने गरेकाले पनि भाषामा समस्या पर्दै आएको छ । बुटवलमा क्रियाशिल पत्रकार स्वस्तिक श्रेष्ठका बुवाले र आफुले पनि अन्तरजातीय बिबाह गरे । आमा नेवारी नबोल्ने भएपछि त्यसको स्वाभाविक प्रभाव उनीमा पर्यो । उनले पनि ब्राम्हण कुलबाट बिबाह गरे, त्यसैको प्रभाव उनको छोरामा परेको छ । यद्देपी स्वस्तिकको घरमा पुजाआजा, चाडपर्व नेवारी परम्परा अनुसार नै मनाउने गरिएको उनी बताउँछन् । ‘म्ह पुजा, दशैमा कुछि भ्वय, किजा पुजा सबै नेवारी परम्परा अनुसार नै गरिन्छ,’ उनले भने, -‘भाषामा भने समस्या छ ।’

बुटवलमा नेवाः समाज विकास परिषद, नेवाः सेवा समाज, नेवाः समाज अर्घाखाँची, हुमिन नेवाः पुच, भिँ द्यो नेवाः पुचः गणेश नेवाः पुच, तिलोत्तमा नेवाः मैजु खल जस्ता दर्जन बढी संस्थाहरु छन् । ती संस्थाहरुले गाईजात्रा, ईही, क्यता पुजा जस्ता परम्परागत पुजा गर्ने गरेपनि भाषा सिकाउने तर्फ संबेदनशिलता देखाउन नसकेको बुटवलमा नेवारहरुको गुनासो छ ।

भाषाको अभ्यासमा आएको कमीसँगै बुटवलका नेवार समुदायलाई सांस्कृतिक अभ्यासमा पनि समस्या देखिन थालेको छ । नेवार गुभाजु (नेवार पुजारी) नहुंँदा पारम्परिक कर्मकाण्ड प्रायः लोप हुने अवस्थामा पुगेका छन् । पितृकार्य, इही (बेलविवाह), बाराः तयेगु (गुफा राख्ने), कय्ता पुजा (व्रतवन्ध) जस्ता नेवार समुदायका महत्वपूर्ण कर्मकाण्ड समेत गैरनेवार व्राम्हणबाट गराउँदा नेवार संस्कार नै सङ्कटग्रस्त बनेको छ । नेवार समुदायको बेलविवाह, गुफा तथा व्रतवन्ध जस्ता संस्कार गराउनुपर्दा नेवार भाषा नजान्ने व्राम्हणलाई पनि समस्या हुने गरेको छ ।

“भाषा पनि आउँदैन, चलन पनि थाहा छैन तर बोलाएपछि जानै प¥यो, गएपछि व्राम्हणकै विधिमा पूजा गराउने गरेको छु ”, बषौं देखि यजमानी गरिरहेका तिलोत्तमाका एक ब्राम्हणले बताए । नेवारी संस्थाहरुले वर्षमा एक पटक गर्ने गरेको ईही, क्येटा पुजाका लागि पनि काठमाडौं उपत्यकाबाट गुभाजु बोलाउने गरिएको छ ।

भाषासँग संस्कृतिको गहिरो सम्बन्ध हुन्छ । भाषाको ज्ञान घट्दै गएका कारण बुटवलका नेवार समुदायले प्रायः नेवार संस्कृति, परम्परा र मेला जात्रा भुल्दै गएका छन् । भाषाको ज्ञान नभएकै कारण बुटवलमा नेवारी परम्परा अनुसारको सबै जात्रा र पूजाआजा लोप भइसकेका छन् ।

‘कुनै बेला थियो पुरानो बुटवलमा मधेसी, मुसलमान, क्षेत्री बाहुन सबैले नेवारी बोल्थे, नेवारी बुझ्थे तर समय बित्दै जाँदा त्यही बुटवलका नेवारहरु हिन्दी , खस(पर्वते), अङ्ग्रेजी बोल्न सक्ने भए, नेवारी भने भुल्दै गए ।’

दश हजारभन्दा बढी नेवारको बसोबास भएपनि नेपालगञ्जमा न ‘हाकु पटासी’ (नेवार समुदायमा प्रचलित सारी) देख्न पाइन्छ न त लाखे नाच । झण्डै एक दशक पहिलेसम्म पाल्पा, स्याङ्जा, बागलुङ, प्यूठान र पोखराबाट बसाइँ सरेर आएका नेवार समुदायले लाखे नाच, हनुमान नाच, नाग नाच जस्ता नेवार संस्कृतिको निर्वाह गर्ने गरेको भएपनि हिजो आज नेवार संस्कृतिका कुनै गतिविधि भएको पाइँदैन । यता पुरानो बुटवल (बटौली) मा बसोबास गर्ने नेवारहरुले (सापारु) गाईजात्रा, घण्टाकर्ण, गणेश जात्रा जस्ता केही परम्परा जोगाएपनि ठुलो संख्यामा रहेका आधुनिक बुटवलमा भने नेवारी परम्परा विस्तारै लोप हुने दिशामा अगाडि बढेको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ का वार्ड अध्यक्ष महेन्द्र लिगल भाषा नबोल्नुमा नेवारहरुकै कमजोरी देख्छन् । अन्य जातीको भाषा बोल्न बढी काआँक्षा राख्ने नेवारहरु आफ्नै भाषा भने छाड्दै गएको उनको ठहर छ । ‘कुनै बेला थियो पुरानो बुटवलमा मधेसी, मुसलमान, क्षेत्री बाहुन सबैले नेवारी बोल्थे, नेवारी बुझ्थे तर समय बित्दै जाँदा त्यही बुटवलका नेवारहरु हिन्दी , खस(पर्वते), अङ्ग्रेजी बोल्न सक्ने भए, नेवारी भने भुल्दै गए ।’ लिगलले स्मरण गरे ।
समुदायमा इच्छाशक्तिको अभाव, समाजमा नेवार भाषा बोल्नै पर्ने बाध्यता नहुनु र अन्तरजातीय विवाह पनि भाषा छाड्नुको अर्को कारण हो भन्न सकिन्छ । “निरन्तर अभ्यास हुन नसक्दा भाषा सङ्कटमा परेको हो ।” वडा अध्यक्ष लिगलले भने ।

भाषासँगै सङ्कटमा परेको संस्कृति जोगाउन नेवार संस्थाहरूको सक्रियताले मात्र पुग्दैन । यसका लागि स्वयं समुदायमा भाषा सिक्ने, संस्कृति जगेर्ना गर्ने र आफ्नो पहिचान खोज्ने जागरुकता हुनु आवश्यक छ । यसका लागि थरका लागि मात्र नभएर भावनात्मक रूपमा नै आफू नेवार भएकोमा गर्व गर्न सक्नुपर्दछ ।

स्थानीय अगुवाहरुको सक्रियता बिना काठमाडौंलेमात्र दुरदराजमा भाषा संस्कृतिको उत्थान गर्न नसक्ने तर्क छ संस्कृतिबिद तथा नेवार अगुवा मल्ल के सुन्दरको । स्थानीयरुपमा माग भई आए धिमेबाजा , लाखे नाच जस्ता संस्कृतिको कला प्रशिक्षक सहित भाषा प्रशिक्षक पठाउने गरिएको मल्लको दाबी छ । ईच्छा भई आएकाले भारतको सिक्कीम सम्म भाषा प्रशिक्षक पठाएको स्मरण गर्नुहुन्छ नेवार अगुवा मल्ल के सुन्दर ।

मल्लका अनुसार नेवा दयः दबुले स्थानीयबासीको माग अनुसार प्रशिक्षक सहित बाजा गाजा समेत किनीदिने गरेको छ ।

नेवार समुदाय परम्परा र संस्कृतिमा अत्यन्त धनी जातिमा गनिन्छ । जन्मँदाको न्वारानदेखि मृत्यू हुँदाको पितृकार्यमा समेत नेवार समुदायको आफ्नै भाषामा विधि विधान छन् । ती विधिविधान यतिबेला भाषा नजानेकै कारण लोपोन्मुख अवस्थामा पुगेका छन् । त्यसैले ठूलो सङ्ख्यामा नेपालगञ्ज, बुटवल जस्ता शहरमा नेवार सभ्यता र संस्कृति बचाउन नेवार संस्थाहरूसँगै राज्यले पनि आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

अन्यथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले एउटा कार्यक्रममा सुनाएको उखान टुक्काले साकार रुप ग्रहण गर्ने छद्धड । उहाँले भन्नुभएको थियो, “मां अबुँ थाय् त्वःतल, मचाखाचाँ भाय् त्वःतल ।” अर्थात् बाबु आमाले जन्मस्थान छोडे, बच्चाबच्चीले भाषा छोडे । न्हु दयाः ११४२ (नयाँ वर्ष ११४२ ) को अवसरमा नेवार समुदायलाई बेलैमा चेतना भया ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*