७ आश्विन २०८३, बुधबार | September 23, 2026

बेनीमा योग पूर्वाधारको अभाव



म्याग्दी । बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको हो । मन्दिर, विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिए । “भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ”, उनले भने, “योगाभ्यासलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको छ ।”

स्वास्थ्य र तनाव व्यवस्थापनका लागि ग्रामीण क्षेत्रमा समेत योग गर्नेहरुको आकर्षण बढेको छ । मानिसहरु भेला भएर सामूहिकरूपमा योगाभ्यास गर्ने स्थायी ठाउँ नभएको बेनीका योग प्रशिक्षक दुर्गा गौतमले जानकारी दिए । “स्थायी संरचना अभावमा नियमित योगाभ्यास गर्न पाएका छैनन”, उनले भने, “पूर्वाधार अभावका कारणले गर्दा बीच-बीचमा छाड्नुपर्ने अवस्था छ ।” केही दिनयता बेनीको जिल्ला समन्वय समितिको सभाहलमा बिहानको समयमा योग प्रशिक्षण सञ्चालन भइरहेको छ ।

छोटो अवधिका लागि सभाहल भाडामा लिएर योग प्रशिक्षण सञ्चालन गरिएको हो । योग प्रशिक्षणका लागि फराकिलो ठाउँ भएको सभाहल आवश्यक पर्छ । होटल र सरकारी कार्यालयको सभाहलमा अन्य कार्यक्रम पनि हुने भएकाले छुट्टै सभाहल आवश्यक परेको हो ।

बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी हरेक बिहानजसो विभिन्न ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने ठाउँको खोजीमा छन् । तनावको व्यवस्थापन, शारीरिक र मानसिक सन्तुलन, असल आहार, बिहार र विचारलाई आत्मसात गर्ने र सकारात्मक सोचको विकास भएको बेनीका योगसाधक परशुराम सुवेदीले बताए ।

व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फुर्तिका लागि योगाभ्यास गरेको बेनीकी गङ्गा खत्रीले जानकारी दिए । “सामूहिक योगाभ्यासलाई निरन्तरता दिन दीर्घकालीन पूर्वाधारको आवश्यकता देखिएको छ”, उनले भने । “दिनभर व्यवसायको कामले व्यस्त भए पनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु”, व्यवसायी राधिका सापकोटाले भने, “योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फुर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।”

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घसंस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् । बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिङ्गा तातोपानी, बेग, बगरफाँट, घोडेपानीलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । योगाभ्यासमा सहभागीहरूलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताए ।

योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविस्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकहरूका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकहरूको सङ्ख्या धेरै भएकाले सो पूर्वाधार साँधुरो भएको हो । बेनी नगरपालिका-८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि चार वर्षअघि नवीन आनन्द योग केन्द्रले छ आना जग्गा व्यवस्थापन गरेको थियो । बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न नसकेको केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए । बेनीको क्याम्पसचोकका नारायण र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई