१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

राजस्व संकलनको लक्ष्य भेट्न कठिन



काठमाडौं । पछिल्लो समय विभिन्न शीर्षकमा संकलन हुने करका दर र राजस्व उठाउने सेवालाई प्रभावकारी बनाएको दाबी गर्दै आएको सरकारलाई यस वर्ष राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने भएको छ ।

आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको बितेका ११ महिनाको अवधिमा जेठ मसान्तसम्मको तथ्यांकअनुसार राजस्व संकलनको लक्ष्य भेट्न मुस्किल पर्ने अवस्था देखिएको हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार हाल वैदेशिक मुद्रा सञ्चिती, पुँजीगत खर्च, हरेक वस्तुको आयात नियन्त्रणमा असफलता लगायत अधिकांश सूचकमा देस आर्थिक रूपले कमजोर बन्दै गएको अवस्थामा सरकारले चालू आवमा राजस्व संकलनको लक्ष्यसमेत भेटाउन नसक्ने अवस्था देखिएको छ । विभागले यस अवधीमा सबै शीर्षकमा गरी जम्मा ८८ दशमलव ४ प्रतिशत मात्र राजस्व संकलन भएको जनाएको छ ।

विभागको तथ्यांक विवरणअनुुसार चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ४ खर्ब १० अर्ब ४५ करोड ३६ लाख ३५ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । सरकारले यो अवधिमा ४ खर्ब ६६ अर्ब १९ करोड ९१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

चालू आवको अन्तिम महिना ३ असारको दिन शुक्रबारसम्ममा सरकारले आपूmले निर्धारण गरेको सो लक्ष्यभन्दा निकै कम मात्र राजस्व संकलन गरेको देखिएको छ ।

सरकारले चालू आवको जेठ मसान्तसम्ममा आयकर तर्फबाट २ खर्ब २ अर्ब १ करोड ८ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा अहिले जम्मा १ खर्ब ८२ अर्ब २४ करोड ४३ लाख ३९ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यको ९० प्रतिशत मात्र राजस्व संकलनको अवस्था हो ।

यसैगरी, विभागले घरबहाल कर शीर्षकबाट लक्ष्यको ६५ दशमलव ७८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले घरबहाल करबाट ३ अर्ब ६९ करोड ३३ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर अहिले जम्मा २ अर्ब ४२ करोड ९३ लाख २१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको पाइएको विभागको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, सरकारले आफ्नो राष्ट्रिय ढुकुटीमा रहेको रकमको ब्याजबाट सो अवधिमा ३३ अर्ब ३१ करोड ३९ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, यस अवधिमा जम्मा २३ अर्ब ३७ करोड १७ लाख १६ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यअनुसार ७० दशमलव १६ प्रतिशत मात्र राजस्व संकलन भएको देखिएको छ ।

त्यस्तै, विभागले सरकारले मूल्यअभिवृद्धिकर (भ्याट) शीर्षक तर्फबाट लक्ष्यको ८३ दशमलव शून्य ४ प्रतिशत मात्र राजस्व संकलन गरेको जनाएको छ । यस अवधिमा विभागले भ्याटतर्फबाट १ खर्ब २१ अर्ब ३१ करोड ३९ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिले जम्मा १ खर्ब ७४ करोड ८ लाख १ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै राजस्व उढ्ने मुख्य स्रोतका रूपमा रहेको अन्तःशुल्क शीर्षकतर्फबाट यस अवधिमा सरकारले १ खर्ब १ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, अहिले जम्मा ९४ अर्ब ८० करोड २८ लाख ७६ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ । यो लक्ष्यअनुसार ९३ दशमलव २६ प्रतिशत मात्र भएको विभागले जनाएको छ ।

यो समीक्षा अवधिमा स्वास्थ्य सेवा शीर्षक तर्फबाट उठाइने करको लक्ष्यभन्दा झन्डै दोब्बर राजस्व संकलन भएको विभागले जनाएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकतर्फबाट ३ अर्ब २५ करोड ३२ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । अहिले सो लक्ष्यभन्दा निकै धेरै ५ अर्ब ८१ करोड ४७ लाख १४ हजार रुपैयाँ राजस्व स्वास्थ्य सेवा शीर्षकबाट संकलन गरेको छ । यो लक्ष्यभन्दा १७८ दशमलव ७३ प्रतिशतले बढी हो ।

यसैगरी, गत जेठ मसान्तसम्म शिक्षा सेवा कर शीर्षकबाट पनि लक्ष्यभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ । विभागले यस अवधिमा ९५ करोड ४४ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा अहिले १ अर्ब ४ करोड ९८ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको जनाएको छ । यो लक्ष्यअनुसार ११० प्रतिशत बढी भएको विभागले जनाएको छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : २५ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु