५ चैत्र २०८२, बिहिबार | March 19, 2026

म्याग्दीको एउटै गाउँपालिकामा २१६ पहिरो



म्याग्दी । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिरोका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् ।

उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा छन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपिआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

कुइनेमङ्गले-८ चौरखानी, चिमखोला-७ मालाङ, पाखापानी-६ रायखोर र दग्नाम-४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ ।

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए ।

गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए। उनले भने, ‘बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।’

यसैगरी ५२ घर रहेको रघुगङ्गा-८ चौरखानीमा ३० परिवारको बसोबास छ । पहिरोकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा बसाइँ सरेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन् ।

दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले बताए ।

यस्तै रघुगङ्गा-३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर-पिप्ले-भगवती-बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए ।

वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए ।

दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन् ।

यसैगरी रघुगङ्गा गाउँपालिका-३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् ।

गलेश्वर-भगवती-बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन् ।

चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : २१ बजे

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौं । गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा

‘लालीबजार’ मा फरक भूमिकामा छु : अभिनेत्री खड्का

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक विषयवस्तुमा आधारित रहेर तयार

समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई