औंठा छाप दुरुपयोग गरी ठगी, करोडौंका मालिक सहनीको सडकमा बास

विशाल बस्नेत
२२ जेष्ठ २०७९, आईतवार
                 

महोत्तरी । रौतहट गरुडा नगरपालिका-१ का राजा सहनी गत मंगलबार परिवारसहित बर्दिबास आइपुगे । राष्ट्रिय अनुसन्धान प्रयोगशालाको एउटा निर्णयकै कारण सहनीको न आफ्नो जग्गा जमिन छ न त बस्ने बास । भएको डेढ बिघा जग्गा र घरघडेरीसमेत अदालतले रोक्का गरेपछि सहनीको आश्रय अचेल सडकमा हुने गरेको छ ।

यही विषयमा गुनासो गर्न सहनी दुई छोरीसहित बर्दिबासस्थित मधेस प्रदेशको कार्यालय राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आइपुगेका हुन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले सक्कली र नक्कली औठा छापमा फरक छुट्याउन नसक्दा १२ पुस ०७८ मा रौतहट जिल्ला अदालतले सहनीको विपक्षमा केशर पाण्डेको इजलासले फैसला गरेको थियो ।

 

भएको के थियो ?

राजा सहनीका दिपलाल सहनी सहोदर काका हुन् । दिपलालका छोरा रामचन्द्र सहनी नै पीडित राजा सहनीका लागि अभिसाप बनेका छन् । रामचन्द्रका एक छोरा र एक छोरी छन् । छोरी ललितादेवी र छोरा त्रिलोकचन्द्र सहनीनै अहिले राजा सहनीका दुःखका मुख्य कारक बनेका छ्न् ।

राजा सहनीका दुई छोरीलाई अंश दिने र सम्पत्ति केही नपाइने चिन्ताले रामचन्द्रले जालझेल गरेर सम्पत्ति आफ्नो बनाउन लागिपरेको राजा सहनीको आरोप छ । रामचन्द्रकै सेटिङमा छोरी ललिता देवीको नामबाट राजाविरुद्ध ०७० सालमा तीन लाख रुपैयाँ लिएको र पैसा नदिएको आरोपमा रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

राजाले उनीहरूले बनाएको तमसुकको प्रतिलिपि देखाउँदै भने, ‘यो तमसुकको विषयमा मलाई थाहै थिएन अनि मैले औठा छाप पनि गरेको थिइन ।’

रौतहट जिल्ला अदालतले राजा सहनीकै औंठा छाप भएको प्रमाणित गर्न नसकेपछि अदालतले राजाकै पक्षमा फैसला सुनायो । रामचन्द्र सहनीको तीन लाख पाउने अभिलासा अदालतले बन्द त गरिदियो तर रामचन्द्रको जालझेलले निरन्तरता पाइनै रह्यो । ‘योबीचमा पनि रामचन्द्रले धम्काउन र सम्पत्ति आफ्नो नाममा गरिदिन पटकपटक फोन गरेर मलाई दुःख दिइनै रहे,’ पीडित सहनीले भने ।

राजा सहनीले अस्वीकार गरेपछि रामचन्द्र अर्को जाल झेलमा लागे । लेखनदासको माध्यमबाट सहनीको नमुना औठा छाप लिएका रामचन्द्रले भारतको पटना गएर नक्कली औठा छाप बनाएर ल्याएको सहनीका छिमेकी देवेन्द्र साहले बताए ।

भारतको पटना पुगेर राजाको औठा छापको रबर स्टाय्म्प बनाएपछि रामचन्द्रले ६ जेठ ०७० मा दोस्रोपल्ट छोरा त्रिलोकचन्द्र सहनीको नामबाट ३७ लाखको नक्कली कागज बनाएर अदालतमा मुद्दा दायर गरेको पीडितको भनाइ छ ।

अघिल्लो मुद्दाको लागि दिएको नमूना औठा छापलाई दुरुपयोग गरे ‘रबर स्ट्याम्प’ बनाएर किर्ते कागज गर्दागर्दै पनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले औठा छापको विषयमा स्पष्ट रिपोर्ट दिन नसक्दा जिल्ला अदालत रौतहटले पीडक त्रिलोकचन्द्रकै पक्षमा फैसला सुनाएको सहनीको दाबी छ।

जिल्ला अदालतको फैसलाबाट आफू थप पीडित भएको बताउँदै सहनी पक्षले अहिले पुनरावेदन अदालतमा मुद्दा दिएका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला समेतलाई प्रतिवादी बनाएर दिएको उक्त मुद्दासँगै राजा सहनी दिनरात नेता, पत्रकार र सरकारी कार्यालय न्यायको लागि गुहार मागिरहेका छन् । रामचन्द्रले राजा सहनीलाई मात्र होइन गाउँका अन्य मानिसलाई पनि ठगी गरेको पाइएको छ । स्थानीय वैधनाथ साहलाई पनि ३० लाखको कागज बनाएर ठगीको प्रयास गरेको पीडितहरूको भनाइ छ ।

 

राष्ट्रिय विधि विज्ञान प्रयोगशालानै गलत सावित हुँदै

राजा सहनीको औठा छापको विषयमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दिएको प्रतिवेदनमा आशंका उत्पन्न भएको छ । पीडित भनिएका राजा सहनीकै छाप हो वा रबर स्ट्याम्प बनाइएको भन्ने समबन्धमा प्रयोगशालाका मुकुल प्रधान, उदयजंग राणा र विश्वराज पौडेलको प्रतिवेदनअनुसार रबर स्ट्याम्पको परीक्षण गर्ने नेपालमा प्रविधि नभएको प्रष्ट छ ।

राजा सहनीकै विषयमा अध्यन गरिरहेका मुकुल प्रधान वरिष्ठ वैज्ञानिक अधिकृत मधेस प्रदेशका प्रमुख हुन् भने प्रहरी नायब उपरीक्षक उदयजंगबहादुर राणा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट र विश्वराज पौडेल रेखा तथा लेखा विशेषज्ञ धपासीबाट हुन् ।

न्याय दिने समबन्धमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कर्मचारीहरूले प्रतिवेदनमा देखाएको गैरजिम्मेवार निष्कर्षले पीडित सहनी अहिले सडकमा पुगेका छन् । नेपालमा परीक्षण गर्ने प्रविधि नभएको, दक्ष जनशक्ति नभएको उल्लेख गर्दै प्रतिवेदन निकालेपछि औँठा छापलाई रबर स्ट्याम्प बनाएर ठगी गर्नेहरूको मनोबल थप बढेको छ ।

‘कहिले मिल्छ भन्ने कहिले मिल्दैन भन्दै दुई प्रकारको रिपोर्ट दिनुले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामाथि नै हामीलाई आपत्ति छ,’ पीडित राजा सहनीले भने । पर्याप्त किताब र तालिम भएमा मात्र रबर स्ट्याम्प र औंठा छापबीच फरक छुट्याउन सकिने प्रतिवेदनमा उल्लेख गर्नुले सरकारी निकायको भरोसामाथि गम्भीर आशंका उत्पन्न भएको छ ।

अहिले पीडितहरू पुनरावेदन अदालतबाट न्याय खोजिरहेका छन् । यदि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रबर स्ट्याम्प र सक्कली औठा छापको विषयमा एकिन गरे आफुहरूले न्याय पाउने पीडितहरूको भनाइ छ ।

१८ माघ ०७७ मा पीडितले नमुना संकलन गरी अनुसन्धानको लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट तीन सदस्यसमेत गठन भएको देखिएको छ । अनुसन्धान समितिमा समेत तीनैजना वरिष्ठ वैज्ञानिक अधिकृत मुकुल प्रधानको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक उदयजंगबहादुर राणा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट र विश्वराज पौडेल रेखा तथा लेखा विशेषज्ञ धपासीबाट छन् ।

सहनीकै विषयमाथि अध्ययन गरिरहेका भनिएका मुकुल प्रधानसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । विधि विज्ञान प्रयोगशालाका कर्मचारीहरूले भने सहनीको केश नयाँ भएको र यसको विषयमा केन्द्रबाट समेत अनुसन्धान भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*