१५ बैशाख २०८१, शनिबार | April 27, 2024

लगातारको वर्षाले तरकारी किसान आजित



महोत्तरी । नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै आएको वर्षाले नियमित गोडमेल र उपचार नपाउँदा तरकारी बाली पहेँलिदै गएपछि किसानको चिन्ता बढेको हो ।

गत वैशाखमा त कैयौँ पटकको हावाहुरीसहितको वर्षाले लहरे तरकारीका बेला (लहरा) लतारेर सोतर बनाएको किसानको गुनासो छ । वर्षाको पानीले चुटेर फूल, चिचिला र फलसमेत चाउरिएर झर्न थालेपछि अपेक्षित तरकारी उत्पादन लिन नसकिने चिन्ताले यहाँका किसान पिरोलिएका हुन् । महोत्तरीको तरकारी पकेट क्षेत्र मानिने भेगमा पाँच दिनयता भने दिनहुँ नै पानी पर्दै आएको छ ।

लगातार पानी परिरहँदा गोडमेल र उपचार नपाउँदा तरकारी पहेँलिएको किसानको भनाइ छ । “लगातार पानी परिरहेको छ, गोड्न पाइएन”, जिल्लामै कहलिएका तरकारी उत्पादक किसान भङ्गाहा नगरपालिका-४ का सत्यनारायण यादव भन्छन, “गोडमेल नपाएपछि बारीभरि झार बढेको छ ।” बारीमा अहिले चिस्यान बढी हुँदा खनजोत गर्न नसकेर भदौरे तरकारी लगाउन नपाइएको किसान बताउँछन् । जेठभित्रै रोपी सक्नुपर्ने भदौरे तरकारीलाई अब ढिलो हुँदै गएको किसान बताउँछन् । “बारीमा पसी सक्नु छैन अहिले, पानीले माटो गालेको छ”, यादव भन्छन, “जेठ सकिनै लाग्यो, खै यसपालि भदौरे तरकारी रोप्न पाइने छाँट छैन ।”

लगातारको वर्षाले करेला, फर्सी, घिरौँला, झिमनी, लौका, बोडी, चिचिण्डा र परवलसहितका तरकारीका बेला (लहरा) पहैँलिएर सुकेका छन् । खासमा वैशाख अन्तिम साता र जेठका साता नै पिच्छे परेको पानीले हिउँदसम्म उत्पादन दिने लहरे र खोर्सानी, भाण्टासहितका तरकारी बाली पहेँल्याएर सुकाएको भङ्गाहा-४ कै अर्का तरकारी किसान सरोज महतो बताउछन ।

महोत्तरीका बर्दिवास नगरपालिकाको चेरु, माइस्थान, सोनापेटी, ढुङ्ग्रे, भब्सी, चेरु, टुटेश्वर, बरडाँडा र गणन्तासहितका बस्ती तरकारी बालीमा परबल खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । यी स्थानमा लगाइएको परबल अहिले गोडमेल गर्न नसक्दा पानीले गालेर लहरा पहेँलिएका, चिचिला र फल पनि कलिलैमा चाउरिएका र चुँडिएर झरेका चेरुका परबल किसान वाणिकराज काफ्ले बताउछन । कृषि क्षेत्रकै लामो सरकारी सेवाबाट खेतीमा फर्कनुभएका काफ्ले अवकासप्राप्त सहसचिव हुन ।

“भिरालो पाखो जग्गाको परवल त मौसममा सुधार आएर गोडमेल र उपचार गर्न पाए फर्कला कि ! तर, खेतका गरामा लगाइएको परवलको भने अब आस म¥यो”, काफ्लेले भने, “म आफैँ विज्ञ हुँ, गोडमेल र उपचारको कुरामा जानकार छु, तर, प्रकृतिका अघि बस् चल्दो रहेन छ , परवल लगाएको जग्गा चिस्यानले भासिने बनाएको छ, पसी सक्नु छैन, के को गोडमेल ! के को उपचार ?”

स्थायी सिँचाइको राम्रो प्रबन्ध नभएपछि थोरै सिँचाइबाट नै गर्न सकिने तरकारी खेतीलाई किसानले जीवन गुजाराको पेसा बनाएका छन् । जिल्लामा कूल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहरको सिँचाइ पुग्छ । बाँकी सबै जग्गा आकासे पानीकै भरमा गर्नुपर्ने भएको हुँदा कम सिँचाइले पुग्ने तरकारी खेती रोजेका किसानलाई अहिले लगातारको वर्षा नै पिरोलो बनेको छ । “खेत बारीमा भाण्टा, खोर्सानीका बोट र परवल, घिरौँला, झिमनी, रामतोरइ, करेला, फर्सी र लौकासहितका तरकारीका बेला पानीले गालेर सुक्दैछन्”, भङ्गाहा-४ पलारका तरकारी किसान सत्यनारायण चौधरी थारुले विरक्तिँदै भने, “बारीमा लरबर फल्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला…?” जिल्लामा विभिन्न मौसमका गरी वर्षभरिमा १० हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती हुँदै आएको छ ।

जिल्लाका बर्दिवास, भङ्गाहा, गौशाला, बलवा र मटिहानी नगरपालिका तरकारी बालीका उर्वर पकेटक्षेत्र मान्न्छिन् तर, पछिल्ला केही वर्षयता मौसमले साथ नदिँदा खेतीबाट अपेक्षित आम्दानी गर्न नसकेको किसानको भनाइ छ । बालीले मागेका बेला पानी नपाएर र नचाहिँदा मुसलधार पानी परेर उत्पादन हात लाग्न नसकेको किसान बताउँछन् । घर नजिकै बग्ने नदीनाला सिँचाइका लागि वरदान हुनपर्नेमा राज्यको उदासिनताले ती बर्सेनि घरखेत बगाउने अभिशाप बनेका बर्दिबास-९ पशुपतिनगरका ६५ वर्षीय किसान महेन्द्र महतो बताउछन । “खै हाम्रो त कर्मै खोटो पो हो कि क्याहो…?” महतोले भने । आफूहरुको यो मर्का तीनै तहका सरकारले बुझी दिनपर्ने किसान बताउँछन् ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत वर्ष नै किसानलाई राहत दिने बताए पनि ग्रामीण बस्तीका किसानले यो फाइदा लिन सकेका छैनन् । कुलो नहर नपुग्ने जग्गामा सिँचाइका वैकल्पिक उपायको अबलम्वन, कृषि बजारको वैज्ञानिक व्यवस्थापन र आधुनिक खेती प्रणालीका लागि किसानलाई बिउबिजन, मल र उपकरण (कृषि ज्यावल) सहज र सुलभ मूल्यमा पाउने व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ । जिल्लाका ग्रामीण बस्तीका किसान सरकारले दिने सुविधा बिना भेदभाव घरघरै पुग्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग