१ असार २०८३, सोमबार | June 15, 2026

बजेटमा छुट : थपिँदै नेपालमा नै गाडी उत्पादन गर्ने उद्योग



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा दिएको छुट तथा विशेष व्यवस्थाका कारण स्वदेशमा नै ‘एसेम्बलिङ’ उद्योग स्थापना हुन थालेका छन् । सरकारले बजेटमा नै त्यस्ता उद्योग सञ्चालन गर्नेलाई भन्सार तथा अन्त:शुल्कमा छुट दिएको छ । पछिल्लो समय ठूला व्यावसायिक घरानाको ध्यान एसेम्बलिङ उद्योगमा बढेको छ ।

गत आर्थिक वर्षको बजेटमार्फत सरकारले नेपालमा नै ‘एसेम्बलिङ’ उद्योग सञ्चालन गर्ने उद्योगलाई आवश्यक पर्ने ‘पार्टस्’ तथा आवश्यक उपकरण आयातमा भन्सार तथा अन्तशुल्कमा छुटको घोषणा गरेको थियो । बजेटमार्फत नै छुट पाउने भएपछि पछिल्लो समय उद्योग विभागमा सवारी एसेम्बलिङ गर्ने उद्योग दर्तामा वृद्धि भएको हो । पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आवको बजेटमा भएको विशेष व्यवस्थाका कारण सिमेन्ट र रडकोसमेत निर्यात हुन थालेको छ ।

उद्योग विभागको तथ्याङ्कअनुसार पछिल्लो समय ‘एसेम्बलिङ’ गर्ने उद्योगको सङ्ख्यामा वृद्धि हुन थालेको हो । तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा दुई पाङ्ग्रेदेखि चारपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी छ वटा उद्योग दर्ता भएका छन् । यसअघि पनि उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुने गरे तापनि उद्योग दर्तामै सीमित भएका थिए ।

हाल नेपालमा दुई कम्पनीले मात्र दुईपाङ्ग्रे सवारी साधन उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् । तथ्याङ्कमा धेरै उद्योग दर्ता भए तापनि हाल नेपालमा गोल्छा समूहको बजाज र शङ्कर समूहको टिभिएसले मात्र मोटरसाइकल उत्पादन गरिरहेका छन् ।

गत आव २०७८/७९ मा विभागमा सवारी एसेम्बलिङका लागि सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी बनाउन सिजी अटोमोटिभ इन्डस्ट्रिज प्राली, यमाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लु अटो प्राली, विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्राली, दुईपाङ्ग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी साधन उत्पादन गर्नेगरी दुगड अटो क्लिनिक र दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका हुन् ।

सुजुकीका कार तथा मोटरसाइकल र तीनपाङ्ग्रे सवारी एसेम्बल गर्न चौधरी समूहअन्तर्गतको सिजी होल्डिङले बाराको परवानीपुरमा रु एक अर्ब ३१ करोड ६९ लाखको लगानीमा उद्योग दर्ता गरेको छ । उक्त कम्पनीले वार्षिक १० हजार दुईपाङ्ग्रे, तीन हजार तीनपाङ्ग्रे र १० हजार चारपाङ्ग्रे सवारी उत्पादनको लक्ष्य राख्दै उद्योग दर्ता गरेको हो ।

यस्तै यमाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लु अटो प्रालीले गत असोजमा उद्योग विभागमा दर्ता भएको छ । एमएडब्लु इन्टरप्राइजेजले यमाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि रु एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने जनाइएको छ ।

इ–बोल्ट मोबिलिटी प्राली नामक उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा रु २४ करोड ३० लाख लगानी गर्ने स्वीकृत भएको छ । इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएको छ ।

यस्तैगरी दुईपाङ्ग्रे सवारीसाधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्राली दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीनपाङ्ग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो ।

वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र पाँच हजार तीनपाङ्ग्रे अटोरिक्सा उत्पादन गर्नेगरी रु ४६ करोड ४५ लाख ९२ हजारकोे लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो ।

एलपी ग्यास तथा पेट्रोलियम व्यवसायीका रुपमा चिनिएका व्यवसायी शिवप्रसाद घिमिरेले दुईपाङ्ग्रेदेखि छ पाङ्ग्रेसम्मका विद्युतीय र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने गाडी एसेम्बल गर्नका लागि एसजी अटोक्राफ्ट नामक उद्योग दर्ता भएका छन् ।

रु तीन अर्ब बढी लगानीमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा स्थापना हुने उक्त उद्योगले वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपाङ्ग्रे १२ सय थान, विद्युतीय कार–जीप ६०० र इ–बस १२० युनिट उत्पादन गर्नेछ ।

इन्टरनल कम्बसन इञ्जिन (आइसिइ) मोटरसाइकल तथा स्कुटर १० हजार ५०० युनिट, आइसिइ तीनपाङ्ग्रे रिक्सा १५ सय युनिट, आइसिइ फोर ह्विलर्स (कार, एसयुभी, जीप) ६०० युनिट र आइसिइ सिक्स ह्विलर्स गाडी ७५० युनिट उत्पादन गर्नेछ ।

दुगड अटो क्लिनिक प्रालीले दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन उत्पादन गर्नेगरी उद्योग दर्ता गरेको छ । रु ३० करोडको लगानी रहने उक्त उद्योगले वार्षिकरुपमा २४ हजार दुईपाङ्ग्रे र चार हजार वटा तीनपाङ्ग्रे सवारी उत्पादन गर्नेगरी उद्योग दर्ता भएको हो ।

बजेटमार्फत नै सरकारले सवारी एसेम्बलिङ उद्योगमा छुटको घोषणा गरेपछि नयाँ उद्योग दर्ताको सङ्ख्यामा वृद्धि भएको उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । उनले विभिन्न ठूला व्यावसायिक घरानाले नेपालमा नै सवारी एसेम्बलिङ गर्नेगरी उद्योग दर्ता गर्न थालेको बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धुव्रबहादुर थापा सरकारले छुटको घोषणा गरेसँगै व्यवसायीको आकर्षण थपिएको बताए । उनकाअनुसार सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न नेपालमा नै सवारी उत्पादन गर्ने उद्योगलाई छुट दिँदा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

उनले सरकारको अस्थिर नीतिका कारण नेपालमा नै एसेम्बल उद्योग दर्ता गर्न व्यवसायी इच्छुक भएर उद्योग दर्ता गरे तापनि तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नभएको बताए ।

“नेपालमा नै सवारी एसेम्बलिङ उद्योग दर्ता गर्न ठूलो रकम आवश्यक पर्छ, सरकारको अस्थिर नीतिका कारण व्यवसायी उत्साहित छैनन्, दुईपाङ्ग्रेभन्दा चारपाङ्ग्रेमा धेरै पुँजी खर्च हुन्छ, सरकारले नीतिगतरुपमा नै व्यवस्था नगर्दासम्म ठूला लगानीकर्ता आउने अवस्था देखिएको छैन”, उनले भने, “नीति बन्नुपर्छ अनि मात्र लगानी गर्न व्यवसायी उत्साहित हुन्छन्, सरकारले अहिले ल्याएको बजेटकै आधारमा लगानी गर्न व्यवसायी तयार छैनन् ।” रासस

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ३७ बजे

कमदाको अन्तिम समयको गोलमा जापानले नेदरल्यान्ड्ससँग बराबरी खेल्यो

काठमाडौं । खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने

काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न दुवै

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु